काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि बिहीबार हुँदैछ । साझ ५ः३० बजे खेल सुरु हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल भन्दा भारत निकै बलियो भए पनि इतिहासलाई नहेरी भविष्यका लागि खेल्ने बताए ।
भारतविरुद्धको खेलका लागि नेपाली टोली तयारी अवस्थामा रहेको जानकारी दिदै प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए ।
उनले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभए पनि त्यसले खासै असर नपर्ने जानकारी दिए । भविष्यलाई ध्यानमा राखेर तयारीसमेत गरिरहेको र दुवै खेलमा जित हासिल गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ ।