काठमाडौँ। संसारको अवस्था सामान्य भएको भए उनी यतिबेला नेपालका हिमाल हेर्न र आरोहण गर्न आउने विदेशी पर्यटकहरुको समूहलाई सगरमाथातिर लग्ने कि अन्नपूर्णतिर लग्ने कि, मकालु हिमालको दर्शन गराउने कि, मनास्लु देखाएर लार्के पास गराउने भनेर विचार विमर्श गरिरहेका हुन्थे होला ।
तर विगत दुई वर्षदेखि संसारको परिस्थिति नै फरक र असामान्य छ । मानिसहरुको नांगो आँखाले नदेखिने कोरोना नामको भाइरसले नै संसारमा अहिले यात्रा गरिरहेको छ । यसलाई घुमाउने पनि कोही चाहिँदैन । ऊ आफै संसार घुमिरहेको छ । यसको घुमाइले गर्दा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्रता पूर्वक घुम्न पाएका छैनन् । यही भाइरसको घुमाइले गर्दा नेपालमा पनि हिमाल हेर्न कोही आउन पाएका छैनन् ।
नेपालको हिमाल हेर्न कोही विदेशी पर्यटक नआउँदा उनी जस्तै पर्यटन पेशा र व्यवसायमा रहेका दशौँ हजार पर्यटनकर्मीहरुले आफ्नो रोजगारी गुमाएको अवस्था रहेको छ । यति भन्न सकिन्छ कि कोरोना कहरमा परेर सबैभन्दा बढी हानी नोक्सानी पर्यटन र शिक्षा क्षेत्रमा नै परिरहेको छ । उनी अर्थात पूर्व खोटाङ बाकाचोलका चन्द्र पुरी ।
चन्द्र पुरी विगत ८–९ वर्षदेखि नेपालमा घुम्न आउने विदेशी पर्यटकको सेवामा लागेर आफ्नो जीवन गुजारा गरिरहेका थिए । तर अकस्मात आएको कोरोना भाइरस महामारीले गर्दा उनको पेशा गुम्यो । फर्किएर कहिले आउने हो थाहा छैन । जीवन गुजारा भइरहेको पेशा हराउँदा पुरी के गर्ने र कसो गर्ने भन्ने दोसाँधमा पुगे । तर उनले जीवन चलाउने एउटा अवधारणा निकाले ।
काठमाडौँमा जमिन भाडामा लिएर भएपनि कृषि व्यवसाय गर्ने । कृषि त कृषि के कृषि ? कस्तो खालको कृषि गर्ने भन्ने प्रश्नमा सोचमग्न हुँदा उनलाई पशुपालन गर्ने आइडिया फुर्यो । नेपाली उखान छ नी ‘यसै ऋण उसै ऋण, बुढो भैंसी किन’ । यो उखानले भनेजस्तो उनले भैंसी चाहीँ किनेनन् बरु उनले किने गाई ।
गाई पालेर केही आर्थिक जोहो गर्न र परिवारको जीवन गुजारा गर्न सकिन्छ कि भनेर घोत्लिँदै गर्दा उनका दाईले उनलाई सहयोग गर्ने वचन दिए । पहिल्यैदेखि गाई पालेर दुध उत्पादन गरि जीवन चलाइरहेका उनका दाजूले आर्थिक सहयोग गरेर उनलाई गाई फार्म बनाउन सहयोग गरे । चन्द्र पुरीले काठमाडौँको गोकर्णमा दुई रोपनीभन्दा बढी जग्गा भाडामा लिए ।
गाई पाल्नलाई चाहिने सम्पूर्ण पूर्वाधार र संरचना उनले निर्माण गरे । कोरोनाले महामारी फैलाएर देश बन्दाबन्दीमा गएको पहिलो तीन महिनामै चन्द्रले गाई पाल्न चाहिने संरचना खडा गरे । सुरुमा दुईवटा गाई एकलाख पचास हजारमा किनेर फार्ममा हाले । अब उनको गाईलाई सेवा गर्ने दिनचर्या सुरु भयो । तीन महिनामा फेरि दुईवटा अरु गाई थपे । चारवटा गाई भए उनको गोठमा ।
गाईको दुध बेच्न उनले स्थान खोजे । साँझ बिहान उनको गाई गोठमै दुध लिन दुग्ध व्यवसायीहरु आउन थाले । फेरि उनले थप दुईवटा गाई गोठमा थपे । यसरी अहिले उनको ‘चन्द्र कृषि फार्म’ गोकर्णमा जम्मा ६ वटा जर्सी गाई रहेका छन् । सबैले बिहान बेलुका गरेर दिनमा दुई पटक दुध दिने गर्छन् । एउटा संयोग भनौं कृष्ण जन्मअष्टमीको दिन उनको एउटा गाई व्याएको छ । ६ वटा दुहुन गाईबाट चन्द्र कृषि फार्ममा आजभोलि दैनिक ८० लिटर दुध उत्पादन हुने गर्छ ।
यस रिपोर्टको सुरुमा भनेजस्तो अवस्था सामान्य भएको भए उनले पर्यटकको सेवाको लागि अहिले आफूलाई तयार गरिरहेका हुन्थे । पर्यटकलाई हिमालमा यात्रा गराउने सरकारी प्रमाणपत्रधारी पथप्रदर्शक उनी अहिले गाई फार्म संचालक भएका छन् । ६ वटा गाई र गोठमा भएका दुईवटा बाच्छाको सेवामा आफूलाई हाजिर गराउनु अहिले उनी आफ्नो परम कर्तव्य देख्छन् ।
गाईसँगै उठ्नु र गाईसँगै सुत्नु उनको यो समयको दैनिकी भएको छ । उनको अहिलेको चासो र चिन्ता भनेको कतिबेला गाईलाई खोले खुवाउने, कतिबेला पानी पिलाउने, कतिबेला घाँस दिने रहेको छ । पर्यटक गाइड उनी उतिबेला आफ्नो साथमा आएको पर्यटकले आफू जाने बाटो बिराउँछ कि वा उच्च हिमाली भेगमा लेक लागेर बिरामी हुन्छ कि भनेर चनाखो हुने आजभोलि उनी आफ्नो कृषि फार्ममा भएका गाईहरु बिरामी पर्छन कि वा गाईहरुको सेवा नगरे अथवा सेवा नपुगे यिनीहरुले दुध घटाउछन् कि भनेर सजक हुने गर्छन् ।
‘जे कुरा पनि समयले सिकाउँदो रहेछु,चन्द्र पुरी भन्छन्, ‘नेपाल घुम्न आउने विदेशी र नेपालमा पालिने विदेशी गाईलाई गरिने सेवा उस्तै उस्तै हुँदो रहेछ । हाम्रो देशको हिमालमा घुम्न आउने विदेशीलाई पनि लेक लागेर बिरामी हुन्छन् कि भनेर धेरै स्याहार गर्नुपर्छ अनि यिनी विदेशबाट ल्याएका गाईलाई पनि बच्चाहरुलाई जस्तै स्याहार गर्नुपर्छ ।’
अहिले आएर गाई गोठबाट मासिक झण्डै ७० हजार बचत हुने गरेको बताउने संचालक चन्द्रले यो काममा सुरुमा ऋण गरेर १० लाख लगानी गरेको जानकारी दिए । उनको परिवारका आमा, भाई उनकी जीवन संगिनीले सो गोठलाई स्याहार सुसार र रेखदेख गरिरहेका छनभने बारीमा उनीहरुले अरु बेमौसमी तरकारीको समेत खेती गरिरहेका छन् ।
भाडामा लिएको सो जग्गामा निकट भविष्यमा हाँस र लोकल कुखुरा समेत पाल्ने योजना बनाएका चन्द्रबाट सिक्ने भनेको जीवनको एउटा पाटोमा संकट आउदा खुलेको सम्भावित अर्को पाटोलाई देखेर सम्भावनालाई अवसरमा रुपान्तरण गरेको खण्डमा मानिसको जीवनले दु:ख धेरै झेल्नु पर्दैन भन्ने नै हो जस्तो लाग्छ । जहाँ गएर जे गरेपनि पौरखी चन्द्र पुरीलाई सफलता मिलोस् शुभकामना ।
हेरौं उनको गाई फार्मका थप केही तस्बिरहरु ⇓