• मंसिर १७ २०८१, सोमबार

जब बुद्धले तीन महिना अघि नै शरीर त्याग्ने घोषणा गरे….

भाद्र १५ २०७८, मंगलवार

मान्य आनन्दले बुद्धको नजिकै बसेर नम्रतापूर्वक भने,‘यतिका समयदेखि म तपाईंसँगै रहिरहेको छु । मैले कहिल्यै पनि तपाईंलाई यति धेरै रुग्न देखेको थिइनँ ।

हजुरलाई रूग्नावस्थामा देखेर म चेतनाशून्य बनेको छु । न स्पष्टरुपले सोच्न सकिरहेको छु, न आफ्नो कर्तव्यको पालना नै गर्न सकिरहेको छु । अन्य मानिस तपाईं बच्नुहुन्न भन्ने सम्झन्छन् । तर मैले मनमनै बोधिसत्वले अहिले मलाई अन्तिम देशना दिनुभएकै छैन, त्यसैले निश्चय नै यहाँ निर्वाणको अवस्थामा प्रवेश गर्न सक्नुहुन्न भन्ने सोचें । यस विचारले मलाई निशाराबाट फर्कायो ।’

बुद्धले भने–‘आनन्द ! तिमी या संघले मबाट के अपेक्षा गरेका छौ ? मैले सद्धर्म मार्गको पूर्ण एवम गहन शिक्षा प्रदान गरिदिइसकेको छु । तिमीलाई मैले भिक्षुहरुबाट केही लुकाएर राखेको छु जस्तो लाग्छ । आनन्द ! सद्र्धम शिक्षा नै साँचो शरण हो । प्रत्येक व्यक्तिले यी देशनालाई नै आफ्नो मार्गदर्शक सम्झनुपर्छ ।

यी शिक्षालाई जीवनमा अपनाऊ । ‘अप्प दीयो भव’ प्रत्येक व्यक्ति आफ्नो दिपक स्वयम् बनोस् । बुद्ध धर्म र संघ सबैको हृदयमा बसेको छ । सम्बोधि प्राप्तिको सक्षमता नै बुद्ध हो । सद्धर्म शिक्षा नै धर्म हो । लोक समुदायको समर्थन नै संघ हो । यस प्रकार कसैले पनि तिम्रो हृदयमा भएको बुद्ध, धर्म र संघलाई विलग गर्न सक्दैन । धर्ति–आकाश चाहे उलट–पुलट किन नहुन त्रिरत्न प्रत्यकको अन्तसम्म यतावत रहने छ । यो नै साँचो शरण हो । मार्गदर्शक हो । जब भिक्षु जगरुकताको अवस्थामा रहन्छ र आफ्नो शरीर, भावना चित्त, तथा चित्तका विषयको धारणा गरेर ध्यान गर्छ । ऊ स्वयममा एक दीप बन्छ । ऊ सबै भन्दा साँचो शरणमा हुन्छ । कुनै पनि व्यक्ति, महान गुरु समेत, तिम्रो हृदयमा बसेका त्रिरत्नभन्दा अधिक स्थायी शरण हुन सक्दैन ।’

वर्षा प्रवासको समाप्तिपछि बुद्धको स्वास्थ्यमा पर्याप्त सुघार आयो । एकदिन श्रमणेर चन्द, जो मान्य सारिपुत्रको सेवामा थिए, आनन्दलाई खोज्दै आए । उनले सारिपुत्रको निधन भएको खबर सुनाए । सारिपुत्रको चीवर । भिक्षापात्र र अस्थिकलश आनन्दलाई दिए । मुख छोपेर रुन थाले । मान्य आनन्द पनि रोए । चन्दले बताए अनुसार सारिपुत्रले अन्तिम क्षणसम्म आफ्नी आमाको सेवा गरे ।

आमाको शव संस्कारपछि सारिपुत्रले आफ्ना सम्बन्धि र गाउँलेलाई बोलाएर धर्मशिक्षा दिए । उनीहरुलाई त्रिरत्नको उच्चारण गराए । साधना गर्ने पद्धति बताए । त्यसपछि उनी पद्यासनमा बसे । बसेकै अवस्थामा निर्वाण प्राप्त भए । शरीर त्याग्नुपूर्व उनले चन्दसँग ‘मेरो चीवर भिक्षापात्र र अस्थीकलश बुद्धलाई सुम्पिदिनू’ भनेर आफ्नो चाहना बताएका थिए । उनी बुद्धले चन्द्रलाई आफ्नो सेवामा राखून् भन्ने पनि चाहन्थे । मान्य सारिपुत्र बुद्धभन्दा पहिल्यै शरीर त्याग्न चाहन्थे । आनन्दले आँशु पुछे ।

चन्दसँगै उनी बुद्धलाई भेट्न गए । बुद्धले शान्त भावले आफ्नो श्रेष्ठत्तम शिष्यको चिवर, भिक्षापात्र र अस्थी कलश हेरिरहे । एक शब्द पनि नबोलिकन उनले चन्दको शिरमा स्नेही हात पुर्याए । मान्य आनन्दले आफूलाई रोक्न सकेनन् र भने–‘प्रभु ! बन्धु सारिपुत्रको निधनको समाचार सुनेर म स्तब्ध भएको छु, मलाई केही पनि सुझिरहेको छैन । म अन्त्यन्तै दुःखी छु ।’

आनन्दतर्फ हेरेर बुद्धले प्रश्न गरे,–के तिम्रा बन्धुले तिम्रो शिल ध्यान साधना प्रज्ञा र मुक्तिलाई पनि निधनको समयमा साथमा लिएर गए ? आनन्दले उत्तर दिए,‘मेरो विषादको कारण यो होइन । जब बन्धु सारिपुत्र जीवित हुनुहुन्थ्यो, उहाँको देशनालाई हृदयङगम गरेर तदनुरुप म जीवन व्यतित गर्ने गर्थे । उहाँ हामी सबैलाई शिक्षा दिनुहुन्थ्यो । मार्गदर्शन गर्नुहुन्थ्यो । प्रेरणा दिने गर्नुहुन्थ्यो । अब बन्धु सारिपुत्र र मौद्गल्यायन रहनुभएन । उहाँहरु बिना संघ खालिजस्तो लाग्छ । के यो दुःखको विषय होइन ?

बुद्धले आनन्दलाई सम्झए,‘कैयौं पटक मैले जसले जन्म लिन्छ ऊ मर्छ भनेर स्मरण गराएको छु । के मिल्छ त्यसबाट बिछोड हुन्छ । सबै धर्म अनित्य छन् हामीले तिनको साथमा बाँधिनु हुँदैन । तिमीले जन्म–मरण वद्र्धन र विसर्जन भन्दा पर जानु छ । सारिपुत्र एउटा ठूलो शाखा थिए । जसले पुरै वृक्षलाई पोषण दिइरहेका थिए । त्यो शाखाले अहिले पनि सम्बोधि प्राप्त गन भिक्षुको मार्गदर्शन गरिरहेको छ ।

यदि तिमीले आँखा खोलेर हेर्यौ भने सारिपुत्रलाई आफू, तथागत र भिक्षु समुदायमा विद्यमान पाउनेछौ । जसलाई उनले सद्धर्मको शिक्षा दिएका थिए । उनीहरुमा उपस्थित पौने छौ । श्रमणेर चन्द र उनको साथमा यात्रा गर्ने हरेक व्यक्तिमा सारिपुत्रको दर्शन गर्न सक्छौ । आँखा खोल्यौ भने सारिपुत्र सर्वत्र देखिनेछन् ।
सारिपुत्र हामीसँग छैनन् भन्ने नसम्झ उनी यहीँ छन् । सधैँ रहनेछन् । आनन्द ।

सारिपुत्र बोधिसत्व थिए । उनले आफ्नो ज्ञान र प्रेमबाट अन्य मानिसहरुलाई सम्बोधिको तट देखाए । आउने पिंढीले उनलाई महान प्रज्ञा सम्पन्न बोधिसत्वको रुपमा स्मरण गर्नेछन् । आनन्द सारिपुत्रको समान अनेक भिक्षुले महान बोधिसत्वको अवस्था प्राप्त गरिसकेका छन् । भिक्षु पूर्णा भिक्षुणी यशोधरा र उपासक महान करुणा सम्पन्न अनाथपिण्डिक बोधिसत्व थिए । तथागत मुद्गल्यायन सहास र उर्जाका बोधिसत्व थिए । मान्य महकश्यप सादा जीवनको बोधिसत्व हुन् । मान्य अनिरुद्ध प्रयास र परिश्रम गर्नेहरुको बोधिसत्व हुन् । यदि भावी पिंढी आत्ममुक्ति मार्गमा साधनारत रहृयो भने यस संसारमा बोधिसत्व अवतरित भइरहनेछन् ।’

आनन्द बुद्ध घर्म र संघमा निष्ठा राख्नु लोकमा निष्ठा राख्नु जस्तै हुनेछ । भविष्यमा सारिपुत्र, मौद्गल्यायन, पूर्णा अनिरुद्ध, यशोधरा र अनाथपिण्डिक समान अन्य महान बोधिसत्वको उदय हुनसक्छ । अतः बन्धु सारिपुत्रको निधनमाथि शोक नगर ।
त्यही दिन दिउँसो गङ्गा तटमा बुद्धले सार्वजनिक रूपमा सारिपुत्रको निधनको घोषणा गरे । भिक्षुहरुलाई भरपुर प्रयास गरेर सारिपुत्र समान बन्ने प्रेरणा दिए । बुद्धले भने,‘भिक्षुहरु तपाईंहरु स्वयम् आफ्नो शरणमा जानुहोस् स्वयम् नै प्रज्ञादिप बन्नुहोस् । कोही अरुमाथि निर्भर नरहनुहोु् । यसले गर्दा तपाईंहरु शोक र निराशको भुमरीमा डुब्नुहुने छैन । तपाईंहरु सद्धर्मको शरण ग्रहण गर्नुहोस् धर्मलाई एउटा दिप मान्नुहोस् ।’

एकदिन बुद्ध तथा आनन्दले वैशालीमा भिक्षाटन गरे । समिपस्थ जंगलमा बसेर भोजन गरे । त्यसपछि विश्राम गर्न चापला मन्दिर गए । बाटोमा बुद्धले अनेक स्थानमा रोकिएर प्राकृतिक दृश्य निहार्दै भने,‘आनन्द । वैशाली एकदमै सुन्दर छ । यहाँका सबै मन्दिर सुन्दर छन् । जुन मन्दिरमा हामी गइरहेका छौँ, त्यो पनि एकदमै सुन्दर छ ।

बुद्धको विश्रामको व्यवस्था गरेर आनन्द चलित ध्यान गर्न बाहिर निस्किए त्यही समय भूईंचालोले जोड्दार झट्का दियो । आनन्दको चित्त र शरीर काँप्यो । उनी हत्तपत्त मन्दिरमा आए । उनले बुद्धलाई शान्त अवस्थामा बसेका देखे । भर्खरै भूईंचालो आएको कुरा आनन्दले बुद्धलाई सुनाए । बुद्धले भने,‘आनन्द तथागतले निश्चय गरेको छ । तीन महिनाम्म मैले शरीर त्याग गरिदिने छु ।’

मान्य आनन्दलाई लग्यो मानौं उनका हात खुट्टा जाम भए, उनले बुद्धसमक्ष प्रणत भएर भने,‘प्रभु यति छिट्टै नजानुहोस् । कृपया आफ्ना शिष्यमथी दया गर्नुहोस् ।’

बुद्धले कुनै उत्तर दिएनन् । आनन्दले आफ्नो प्रार्थना तीन पटक दोहोर्याए । त्यसपछि बुद्धले भने,‘आनन्द, यदि तिमीलाई तथागतमाथि निष्ठा छ भन्ने तिमीले मेरो निर्णय उपयुक्त समयामा हुन्छ । भन्ने कुरा बुझन सक्छौ । मैले म तीन महिनापछि शरीर त्याग गर्छु भनिसकें आनन्द, यस क्षेत्रका सबै भिक्षुलाई महावनको कटागर धर्म कक्षमा एकत्र गर ।’

सात दिनपछि डेढ हजार भिक्षु–भिक्षुणी कुटागार धर्मकक्षमा जम्मा गए । मञ्चमा बसेर बुद्धले संघलाई हेरे र देशना आरम्भ गरे,‘भिक्षुगण, अहिलेसम्म तथागतले जुन देशना गरेको छ, त्यसअनुसार तपाईंहरुले बुझेर अध्ययन गर्दै त्यसलाई पख्नुहोस् । साधना अभ्यास गर्नुहोस् । त्यसको परीक्षण गर्नुहोस् । जसले गर्दा तपाईंहरु ती देशना भावी पिँढीलाई सुम्पन सक्नुहोस् । सद्धर्म मार्ग अनुरूप जीवनयापन र साधना अभ्यास गरेर समस्त प्राणीलाई शान्ति, आनन्द र हर्ष प्रदान गर्नुहोस् ।

तथागतको शिक्षाको सार सचेतनताका चार चरण, चार सदप्रयास, आत्मशक्तिका चार आधार, पाँच स्कन्ध, पाँच शक्ति, सम्बोधिका सात सोपन र अष्टाङ्गिक मार्ग हुन् । जसलाई साधना र अनुभूतिपछि अरुसम्म पुर्याउनुपर्छ । भिक्षु एवम भिक्षुणीहरु । सबै धर्म अनित्य छन् । तिनीहरु जन्मन्छन् र मर्छन् । तीनको विकास एवम् विलय हुन्छ । आत्ममुक्तिका लागि घोर साधना गर्नुहोस् । तथागतले तीन महिनापछि शरीर त्यागिदिने छ ।

सबै डेढ हजार शिष्यले बुद्धदेशना शान्तिपूर्वक सुने । बुद्धको दर्शन र उनको श्रीमुखबाट देशना सुन्ने यो अन्तिम अवसर हो भन्ने उनीहरुले बुझे । बुद्धले शरीर त्यागिदिने छन् भन्ने सुनेर सबैको मन भारी भयो । भोलिपल्ट बुद्ध वैशालीमा भिक्षाटन गर्न गए । वनमा आएर भोजन गरे । त्यसपछि उनी र अनेक भिक्षु वैशालीबाट निस्किए । बुद्धले फर्किएर वैशालीलाई हेर्दै आनन्दसँग भने,‘आनन्द, वैशाली धेरै सुन्दर छ । तथागतले यस नगरलाई अन्तिम पटक हेरिरहेको छ ।’

त्यसदिन दिउँसो बुद्धले भण्डाग्राममा शील, ध्यान–साधना । प्रज्ञा र मुक्तिको विषयमा देशना गरे । केयौं दिनसम्म त्यहाँ विश्राम गरेर उनी मट्टीग्राम, अम्बग्राम र जम्बूग्राम गए । त्यहाँ पनि उनले सबै भिक्षुसमक्ष देशना गरे । त्यहाँबाट उनी भोगनगर गए र आनन्द मन्दिरमा बसे । त्यस क्षेत्रका अनेक भिक्षु उनको स्वागत गर्न आए ।

बुद्धले भिक्षुहरुलाई सबै देशनाको अनुभूति गरेर हेर्नका लागि भने,‘जो कसैले धर्म शिक्षा देओस र त्यो शिक्षा प्रत्यक्ष अधिकारी विद्धानबाट प्राप्त नै किन नहोस्, त्यसलाई तथागतको देशनासमान प्रमाणिक मान्ने हतार नगर्नुहोस् । उनीहरुले भनेका कुराको सुत्र र शीलसँग तुलना गर्नुहोस् । यदि उनीहरुको कथन सुत्र र शीलसँग मेल खाएन भने त्यसलाई त्यागिदिनुहोस् । यदि उनीहरुको कथन सुत्र र शीलअनुरूप भयो भने त्यसलाई स्वीकार गर्नुहोस् र त्यस दिशामा साधना गर्नुहोस् ।

अब बुद्ध पावा पुगे । त्यहाँ एका लोहारका छोरा चुन्दको आम्रवनमा रोकिए । चुन्दले बुद्ध र उनीसँग रहेका तीन सय शिष्यलाई आफ्नो निवासमा भोजनको लागि आमन्त्रित गरे । चन्दकी पत्नी तथा मित्रहरुले भिक्षुहरुलाई भोजन गराए । चन्द स्वयमले बुद्धका लागि विशेषरुपबाट तयार गरिएको भोजन पस्किए । जसमा चन्दन वृक्षको काष्ठफूलबाट बनेक भोजन पनि थियो ।

सुरुमा बुद्धले भोजन गरे । भोजनपछि उनले चुन्दसँग भने,‘चुन्द । यस काष्ठफूलबाट तयार गरिएको भोजनलाई पृथ्वीमा गाडिदेऊ । कसैलाई पनि नखुवाऊ ।’

सबैले भोजन गरेपछि बुद्धले देशना गरे र भिक्षुहरुको साथमा आम्रवनम विश्राम गरे । बिहानै उनी भिक्षुहरुसँगै कुशिनाराका लागि गए । बाटोभरि उनको पेट बटारिइरहृयो । पीडा धेरै बढ्न थाल्यो । अत्यधिक पीडा भएकाले उनी रुखमुनि विश्राम गर्न पल्टिए ।

रोशन दाहालद्धारा लिखित ‘गौतम बुद्ध, जीवनी र दर्शन’ नामक पुस्तकबाट ।