हिजोको इतिहास सहितको एकलौटी विरासत बोकेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) वा नेकपा एमाले अबका दिनमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) मा विभाजित भैसकेपछि विरासत (लिगेसी) कुन पार्टीसँग रहला भन्ने बहस चलिरहेको छ । यसले नेता, कार्यकर्ता र सर्वसाधरण जनतामा समेत निकै छोइरहेको छ ।
अवश्यै पनि पार्टी विभाजित भएपछि दुवै पक्षलाई ठूलो क्षति हुन्छ नै । यसले कार्यकर्ता र जनतामा असामाञ्जस्यता र दुविधा खडा गर्छ । यो दुविधाले विरासत कसको पार्टीमा छ भन्ने कुरा केही दिन लुकाएर राख्न मद्दत पुर्याउँछ ।
केही दिन दुवै नयाँ पार्टीको नयाँ जोश रहने छ । कार्यकर्ता र समर्थक तथा शुभ चिन्तक पनि ‘हेरौं न त को बलियो भएर आउने छ’ भन्ने भावनाले काम गर्ने छ । आरोप प्रत्यारोप र झटारो पनि चल्ने देखिन्छ । चलिरहेको पनि छ । नयाँ चूह्लो, दुईचार छाक मीठो पनि दुबैको भान्सामा पाक्ने नै छ ।
तर यथार्थतामा इतिहास र विरासत भने विभाजित भएर अघि बढिसकेको छ । दुवै पार्टीको इतिहास र विरासत विभाजित र खण्डित नै भएर अंकित हुन्छ, यसको व्यवहारिक अभिव्यक्ति केही दिनपछि नै देखिन थाल्ने छ । फलतः कार्यकर्तामा निराशा छाउने र नेताहरुमा स्फूर्ति अस्ताउने हुँदै जाने छ ।
एमाले नेता तथा अध्यक्ष ओलीसहितका नेताहरुको दाबी ‘हामीसँग पार्टी छ, चुनाव चिन्ह सूर्य छ’ भन्ने अहम् रहने देखिन्छ । तर उनीहरुले बुझ्नु पर्छ कि ‘पार्टी’ र ‘चिन्ह’ ऐतिहासिक विरासतसँग तुलनीय र समानान्तर हुँदैनन् । विरासतमा सारवान कुरा हुन्छ, पार्टी र चुनाव चिन्हमा केवल रुप । ठीक यहीनेर ओली नेतृत्वको एमाले पार्टी सिद्धिएर जाने प्रचुर संभावना पनि छ ।
अर्कोतिर मदन भण्डारीको उदयपूर्व र निधनपछि एमाले हुर्काएर ल्याएका नेता माधव नेपालमा केपी ओलीको भन्दा जब्बर ‘वेट’ देखिन्छ । यस अर्थमा सारवान बिरासत पनि त्यतैतिर पो बढी हो कि भन्ने भान हुन्छ पनि । तर केपी ओलीतिर पार्टी र सूर्यचिन्हका कारण रुपवान विरासतको पलना भारी हुन गएको देखा पर्छ ।
यी दुईको बीचमा केपी ओलीलाई ‘सत्ताबाट पछार्ने’ र माधव नेपाललाई ‘एक्लै थचार्ने’ ढुलमुले अवसरवादी युवा नेताहरुको ओली एमालेमा बसाइसराइका कारण पनि ओली रुपमा बलिया हुन पुगेका देखिएका छन् । तर कतिपयको विश्लेषण भने ‘केराको थाम’ लगाएर घर बलियो हुँदैन भन्ने भनाइ नरहेको पनि होइन ।
त्यसैले विरासत सहितको एमालेको साख अहिले केपी ओली, माधव नेपाल र ढुलमुले युवा नेताहरु गरी तीनतिर बाँडिएको छ । खण्डित छ । कतिपयले त यी युवा नेताहरुलाई ‘मल्लकालीन पाटनका ६–प्रधान’का रुपमा पनि चित्रित गरिरहेका छन् । यसको अर्थ हो, त्यो ढुलमुले शक्तिमा पनि एमालेको धेरथोर लिगेसी टाँसिन पुगेको छ ।
एमालेका समर्थक, शुभचिन्तक तथा आमजनतामा एमाले तीनवटा छ भन्ने बुझाइ रहिरहेको छ । अहिलेको एमाले ओली पक्ष र ढुलमुले युवा पक्षको ‘दोभान’का रुपमा एकताबद्ध रहेको बलियो तर्क उनीहरुका माझमा छ । ढुलमुले युवाहरुले पनि ओलीसँग एकताका भाव दिने गरी पार्टीभित्र कार्यविभाजन गरिनु पर्ने माग राखिरहेका छन् । यो दिनको घाम झैं छर्लंग नै छ ।
एमालेको यस्तोखाले तीनधारमा विभाजनले ओली र माधव दुवैको पार्टीमा क्रमशः हिनता, निराशा र पलायनतालाई जन्म दिने छ । कारण यी तीन धारमध्ये एउटा पनि विचार र कार्य दिशामा फरक हुन सकेनन् । उही संसदीय राजनीति गर्ने हो भने फरक फरक पार्टी किन ? आखिर जुँघाको लडाइँ र भागबण्डामा मिलापत्र गर्ने हो भने विभाजन किन ? यो कुरा जनताले बुझ्दै र छिलंग्याउँदै जाने छन् ।
पार्टी टिकाउनकै लागि भए पनि ओली र नेपालले आफूहरुले नयाँ र युवा पंक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने भने पनि युवा पंक्ति निकै ढुलमुले, अवसरवादी र झिंगे बनेर निस्किइ सकेको छ । यसले आफ्नो साख आफै गिराएको छ । लिडरसिप पाए पनि के नै नयाँ कुरा पो ल्याउन सक्छ र भन्ने सोच जनतामा पल्हाउन थालिसकेको छ ।
त्यसैले पनि यी पार्टीहरुमा आकर्षण बढ्ने र फुल्ने फल्ने संभावना कम नै देखिन्छ । जहाँसम्म ठूलो पार्टी बनाउने र चुनावमा जित्ने कुरा हो, त्यो त पार्टी निर्माण, एकीकरण र ध्रुवीकरणको प्रक्रियाबाटै हो । ‘उही फुट्यो, उही जुट्यो’ को हालत त बामदेव गौतम तात्कालीन मालेलाई लिएर एमालेमा ‘त्वं शरणम्’ गरेपछि कत्तिको गति आयो त ? सबैले देखिरहेकै छन् ।
त्यसैले तात्कालीन एमालेको सिंगो बिरासत विभाजित भएपछि ‘ब्यालेटवाला सहरीया’ कम्युनिष्ट अब संसदीय प्रतिस्पर्धामा कमजोर साबित हुने र सिद्धिने मात्र होइन, ठीक यही विन्दुबाट नेपाली कम्युनिष्ट आन्दोलनमा अग्रगामी धार फेरि आउन सक्ने अनुमान लगाउन सकिन्छ । भनिन्छ– ‘एउटा श्रृंखलाको अन्त्य नै अर्को नयाँ श्रृंखलाको सुरुआत पनि हो ।’