• मंसिर १२ २०८१, बुधबार

गौरा पर्व :  गौरा एक, आख्यान अनेक

भाद्र ११ २०७८, शुक्रबार

काठमाडौं । सुदुर पश्चिमको अति लोकप्रिय गौरा पर्व सुरु भएको छ । यो पर्वमा सुदुर पश्चिमेली महिलाहरु निराहार ब्रत बसी भगवान शिव र पार्वतीको पुजाआराधना गर्ने गर्दछन् ।

पार्वतीलाई गौरी वा गौरा नामले सम्बोधन गरिन्छ :

पौराणिक कथामा वर्णन भएअनुसार भगवान शिवलाई पति पाउँ भनेर हिमालय पुत्री पार्वती निराहार ब्रत बसी अन्ततः महेश्वरलाई आफ्नो पतिका रुपमा पाएको कठिन तपस्यारुपी पर्वका रुपमा यसलाई लिइन्छ ।

पार्वतीलाई गौरी देवीका नामले पनि बोलाइन्छ । गौरीलाई पश्चिमा खस भाषामा गौरा नामले सम्बोधन गरिन्छ । आजका दिनदेखि गौरा र महेश्वरको प्रेम, विवाह र सुखद दाम्पत्य जीवनको सम्झनामा गौरा पर्व मनाइन्छ ।

बिबाहिता महिलाका लागि अति पवित्र पर्व :

यो पर्वमा विवाहित महिला ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिबाह र बिबाह पछिको सुखद दाम्पत्य जीवनको बढी सम्झना गरिन्छ, यो पर्वमा । गौरा पर्वको ब्रतपछि घरायसी समस्याहरु टर्ने, मेलमिलाप हुने, धन, दौलत र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ ।

यो पर्वको पहिलो दिनमा पाँच प्रकारका गेडागुडी भिजाएर गौरा–प्रसाद का रुपमा तयार गरिन्छ । यसलाई बिरुडा भनिन्छ । बिबाहिता महिलाले स्नान गरी शरीर शुद्धीसहित मूल, धारा वा पँधेरामा पुगेर गहत, मकै, गुराउँस, कलौ र गहुँ भिजाउने गर्दछन् ।

भदौको हरियाली महिना, महिलाका लागि सौभाग्यको महिना :

भदौ महिनामा महिलाले मनाउने चाडपर्व धेरै पर्दछन् । गौरापर्व, तीजलगायतका पर्व भदौ महिनामै पर्दछन् । यी पर्व लिंगीय हिसाबले महिलाले मनाउने लोकप्रिय पर्वहरु हुन् । त्यसैले भदौ महिना महिलाका लागि सौभाग्यको महिना मानिन्छ ।

गौरा पर्वमा महिला निराहार ब्रत बस्ने, घरआँगन सफासुग्घर राख्ने, तामा, पित्तल लगायतका भाँडावर्तन सफा राख्ने र तिनमा बिरुडा भिजाउने गरिन्छ । भिजाइएको विरुडा प्रसादका रुपमा ग्रहण गरिन्छ । बिरुडा भिजाउँदा पानीका मुहान, पँधेरा र धारामा शुभ मुर्हतका बेला सामूहिक रूपमा बिरुडा धोइपखाली गरेर गौराको प्रतिमा बनाई आआफ्ना घरमा भित्र्याइन्छ ।

भाद्र महिना, हरियाली महिना :

भाद्र महिना आफैमा हरियाली महिना पनि हो । यही महिनामा गौरा वा गौरी देवी पार्वती महादेवलाई पति पाउँ भनी कठोर ब्रत बसेपछि बिबाह भएको महिना पनि हो । गौराले दैत्यहरुका अनेकौं छल यही हरियालीमा छिपेर प्रभावहीन बनाएकी थिइन् ।

भगवान शिवको अनेकन स्वरुपमा पार्वतीको परीक्षा पनि कम चासोका कुुराहरु छैनन् । यसमा हरियाली वातावरणले शिवलाई पहिचान गर्न गौरालाई सहज भएको देखिन्छ । अनेक रुप र रङ प्रयोग गरेर शिव देखा पर्न खोजे पनि लगातार परिरहने पानीका थोपाहरुले ती रङ पखालेपछि शिव हरियालीमा खुलिहाल्थे ।

सुदूर–पश्चिम पूरै गौरामय :

अहिले सुदूर पश्चिम गौरामय हुन पुगेको छ । जोरायल, गड्सेरा, दिपायल राजपुर, फलेडीलगायतका ठाउँमा त गौराले यही नै ब्रत बसेर महादेव प्राप्त गरेकी थिइन् कि जस्तो देखिन्छ । महिला भक्त जनको पर्वप्रतिको लगाबले यस्तो वातावरण सिर्जना गरेको पाइन्छ ।

गौरा पर्व भाद्र शुक्ल षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिक विधि अनुसार कार्य सम्पादन गरेर पूरा गरिन्छ । सुदूर पश्चिमसँग जोडिएको भारतका कुमाउँ र गढवालमा पनि मनाइन्छ ।

गौरा पर्वको आख्यान अर्को पनि छ :

पौराणिक कथाअनुसार क्षेत्रीय हैह्यवंशी क्षेत्रीय राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई अनेकन दुःख दिन र ब्राह्मणीमाथि आँखा लगाउन थालेपछि गौरीले ती ब्राह्मणीलाई सहयोग गरी सतित्व रक्षागरिदिए पछि सहस्त्रार्जुनले गौरी तथा ब्राह्मणीसँग माफी मागेको आख्यान र परम्परालाई लिएर पनि गौरा पर्व मनाइँदै आएको छ ।

जे होस् प्रसँग भिन्दाभिन्दै भए पनि आखिर गौरी देवीको महत्ताको पुुजा यो पर्वका कर्म तथा गतिविधिहरुमा देख्न सकिन्छ । यो पर्वमा गौरी वा पार्वती सर्वशक्तिमान देवीका रुपमा देखा पर्दछिन् ।

गौरा पर्वको सुरु दिनमा बिरुडा भिजाएर गौरीको स्वरुप खडा गरी गौरा भित्र्याइसकेपछि समापन नगरिदासम्म टोलटोलका पुरुष तथा महिलाहरुको समूह बनाई स्थानीय लोक भाकामा देउडा, चैत, धमारी आदि गीत र नाचसहितका खेल खेलेर आनन्द लिन्छन् ।