• मंसिर ११ २०८१, मंगलवार

गाईजात्रे भाइरस पुराण

भाद्र ७ २०७८, सोमबार

अब यसपालाको गाईजात्रे कोरोना पुराण सुरु हुन्छ, पुष्पान्जलि लिनलाई फूल छैन, पेटमा हाल्ने चामल छैन, हातमा अक्षता कहाँबाट लिने, धर्म, संस्कृति चकनाचुर पारिसकिएकाले अबिर, केशरी कहाँ पाउने, गरिवी र बेरोजगारीको मारमा पर्दा सुकासुकी पनि हातमा नभएकाले रित्तै हात जोडेर प्रार्थना गर्दै पुराण श्रवण गरौँ ।

प्रताप मल्लले देशमा एक दिने गाई जात्राको चलन चलाए । आधुनिक युगमा प्रवेश गरेसँगै हामीकहाँ दिन दिनैको गाईजात्रा छ । श्री ३ को गाई जात्रामा श्री ५ हरु ओइलाए । श्री ३ पछि श्री ५ हरु मौलाए । श्री ५ पछि श्री ८ हरु मौलाए ।

दिल्लीमा १२ बुँदे सम्झौता गरे पछि श्री श्री श्रीहरुको बिगबिगी देशैभरि मात्रै होइन, विदेशमा समेत भयो । दुई तिहाईका श्री २ हरु मत्ता हात्ती  झैं बौलाएर पछारिए, खुमलटारले हानेको बल बालुवाटार हुँदै बालकोट गएर गोल भयो ।

खेलाडीहरु खेलिरहने, दर्शकहरु रामशापथतिर गएर हेरिरहने, देशै हल्लिने गरी भूकम्प गइरहने, जनताको नाममा सिन्को नभाँच्ने, दल तन्त्र,  झुठतन्त्र, गलगाँडतन्त्र भूमि नै कम्पायमान हुने हिरण्याक्ष बल, सानो देश, धान्नै नसक्ने आशाहरु, कर माथिको कर थपिइरहे । जनता कोठाभित्र, दलहरु बाहिर, सधैँ रडाको, सधैँ पानी बारा बार, खाने खुवाउनेमा एक मत अरु कुरामा बहु मत, अचम्मै भयो ।

दुई सिंह १ जङ्गलमा, अहिले १ जङ्गलमा ५ सिंहको रजाइँ छ । २ पाइलटले चलाएको जहाज गएर ठोक्किएको छ, लोकतन्त्रमा ठूलै दूर्घटना भएको छ । बहुदलमा फ्लोरक्रस, आम माफी जता हेर्यो उतै सास्ती, धोकाको पहिरोले जनताको उठीबास अचम्मको प्रजातन्त्र ।

लिङ्कन, लेनिन, माओहरुको नाम भजेको छ । श्री ३ ले चलाएको अध्यादेशको चलन चल्तीमा पुरानै युगको पुनरावृत्ति भएको छ । वानेश्वको ठूलो तमसूक ६ महिनामा दुईपटक च्यातिएको छ, च्यातिएको तमसूकलाई सुपर ग्लूले टाँसेको एक महिनापछि फेरि के भो भो, कामै पाएन, भएन ।

वर्षाको पानीले भिजेर तमसूकमा लेखिएका अक्षर कानो गोरुलाई औँसी न पूर्णिमा जस्तै भएको छ । नजान्दा त भीर पहिरो सम्म देखिनु ठीकै हुन्थ्यो, जान्ने बुझ्नेलाई पनि आँखामा ढकनीजस्तै कालो चस्माले ढपक्कै ढाकिदिँदा दिउसै आध्यारो भएको छ । मरेर व्यूतिएको थियो बल्ल तल्ल, फेरि बिरामी परेको छ, बानेश्वरको यामानको भवन ।

यहाँ जन्मिए सधैँ हिरण्याक्ष र हिरण्यकशिपु जसले सत्य युगमै संसारलाई सोत्तर पारेका थिए । रसातलमा पुगेको धर्तीलाई बाराह अबतार र नृसिँह अवतार लिएर प्रभुले उद्धार गरेका थिए । सत्य युगमाभैmँ त्रेतायुगमा मन्थरा जन्मिएकी थिई, रावण र कुम्भकर्ण जन्मिएका थिए जसले संसारलाई ध्वस्त पारे ।

मन्थराले कुरा लाइदिँदा कैकेयी उल्केकी थिइन्, जसले राजा दशरथलाई राम वनबास पठाउन भनिन् । सत्य युगमै बलिले इन्द्रासन डग्मगाए, ईश्वरले वामन अवतार लिएर बचाए । रावणकी बहिनी थिई सूर्पणखा, उसले त्यागी लक्ष्मणलाई पति भज्न खोज्दा नाकै उसको ताछिएको थियो । अहिले संसारका अगाडि नजाँनिदो गरी नाक ताछिँदा पनि होस् कसैको खुलेन ।

द्वापर युगमा कंश र शिशुपालले संसारलाई ठूलै धोका दिए, शकुनीको कारण नक्कली पाशा खेलाएर पाण्डवको उठिबास लगाए । सत्ता राजनीतिको खेलका अगाडि स्वयम् ईश्वरले पनि धोका पाउँदारहेछन् । कलिमा खास गरी हाम्रो देशमा त्यही गाईजात्रा भएको छ । राजनीति भित्र राजनीति लुकिदिँदा कुरो नबुझ्ने हुनु परेको छ ।

सुनको पलङमा बसेर नाती खेलाउन पाउँ भनेर एउटी विधवा बूढीले वरदान माग्दा हेर्दा नाति एक वरदान मागेको तर त्यसभित्र खोतल्दै जाँदा बूढीलाई तन्नेरी गराउनु परेको, विवाह गराउनु परेको, छोरो पाइकन ठूलो भए पछि छोराको बिहे गरी नाति हुर्काउन त्यो पनि सुनको पलङ भनेपछि आर्थिक हैसियत एउटी तन्नम बूढीलाई कत्रो सम्पति दिनु परेको ईश्वरलाई समेत छक्याउने गरी वरदान माग्ने मान्छेको बानी त्यही भएको छ ।

हामीकहाँ, वरदान पनि पारितिरका आएर दिनु पर्ने, वारिका सँग मोहोर राख्दा राख्दा थाकेर पारिको तागत चाहिने, त्यतिले पनि नपुगेर समुन्दै पारि हारगुहार गर्नु पर्ने, दैव पनि जति टाढा बसे पनि भक्त भनेपछि नजिकै आइदिने कस्तो शक्तिशाली मनचिन्ते झोलामा  फुलैफूलको सुगन्ध भरिदिने अचम्मै भएको छ देशमा ।

हिजोका सुकुल छाप, सिउदै लाउँदै गरेका सडके चप्पलेहरुको आजको आलिशान महल, मोवाइल, घडी महँगा, छानी छानी पद, छानी छानी आयोगहरुमा हालि मुहाली, बैँक व्यालेन्स स्वदेशमा मात्रै नभएर विदेशमा पनि, औषधिमूलो सबै विदेशी स्टायन्डर्डमा, विदेशी रसद, पानी, खाजा, अतिथि सत्कारको स्तरमा पुगे ।

साला, साली, भान्जा, भतिजा, विदेशी नोट स्वदेशी भोट, स्वदेशी बसाइ विदेशी भुकाई, विदेशी टाई, विदेशी नागरिकता, स्वदेशी भाषण, मनचिन्ते झोला, झोलामा खोला, हातैमा कुवेर, घरैमा ईन्द्रासन, कुम हल्लाइहल्लाइ भाषण, ओठ लेप्राई, लेप्राई रासन र भाषण, बोलीमा सुशासन, काममा कुशासन, मुखमा राम बगलीमा छुरा, जिब्र्रोमा अमृत, पेटमा हलाहल विष रहेको छ ।

खाने यहाँ, हात धुने बैँककमा, डिनर लिन जापानमा, बच्चा बच्ची अमेरिकामा, धर्तीमा कालो बादल, रोइ रहेकी धर्ती आमाको मुखभरि हिलो, पछिल्लो समयमा देशमा भाँडभैलो, सुरुपलाई कुरुप, ऋणै ऋणले थचारिएको देशलाई हुँकार गर्न सकुन्जेल बालुवाटार पसेर धम्क्याउने, त्यहाँ टिक्न नसके सुरक्षाको जत्था लिएर बसाइँ सरेजस्तो गर्ने फेरि तँ छाड म छाड गर्दै फेरि त्यहीँ पुगे ।

पदलाई मात्रै होइन, मान्छे नै खरिद बिक्रि गर्ने, सपनाको बाढी बगाउने, रेललाई डेन्टिङ पेन्टिङ गरेर घुम्टो ओढाउने, नानाथरि नक्कली सपना देखाई स्वर्ग पुर्याउँछु भन्ने, कात्रोमा कमिशन खाने, घरदैलो बन्द गरिदिएर आफू फुक्काराम भई स्वदेश विदेश चाहार्ने, भाइ भतिजा आफ्नालाई हेकिप्टर र आलिशान महल दिइएको छ ।

करोड पर्ने शौचालय र कार्पेट, लाखौँका जिमखानमा ढलिमली आराम, जनताको निद्रा भने हराम बनाउने, मिलि भगत, मूल कानुनलाई पेवापात सम्झेर दिन दिनै गिजोल्ने, परचक्रीलाई रातबिरात कोठामा रमिता देखाउने, देशको खूद क्षेत्रफलको अत्तोपत्तो नहुने, छिमेकीले १२ वर्ष लगाएर सिमाना मिच्दै बाटो खनिसक्दा पत्तै नपाउने भएको छ ।

विदेशीको पाउ मोल्ने, स्वदेशीलाई घाँटी निमोठेर उठ्नै नदिने, महँगी, करको मारमा पार्ने, अक्सिजन सिलिण्डर, खोपमा धाँधली गर्ने, क्वारेन्टिन, आइलोशेनका मनपरि बिलमा आँखा चिम्लने, हिम प्राणी यतिलाई दरबार, सहर घुमाउने, ओम्नीहरु रमाउने भएको छ ।

सालो, साली, छोरी, बुहारी सबैलाई बडा हाकिम बनाइदिने, धर्म, संस्कृतिको नामो निसान बाँकी नराख्ने, कोरोना भन्दै देव, पितृ कार्य बन्द गराउने, मठ, मन्दिर खोल्नै नदिने, ढँुगाका देवतालाई सुन बाँड्ने, पानी आउनै नपाई मेलम्चीमा राजनीति गर्ने, उद्घाटनको नाटक मन्चन गर्ने थिति बसेको छ ।

राजधानीको फोहोर नउठ्ने, सबै काकाकुल हुनु पर्ने, विदेश सम्बन्धमा कूटनीतिक चातुर्यता देखाउन नसक्ने, दियो भन्दै दुबै हातले सोहोर्ने, एमसीसी र बीआरआईको रडाको देखाउने, हिन्दु धर्म मास्ने, विदेशीको खेताला बन्ने, होली वाइनमा डुब्ने, सोल्टीमा डेरा सर्ने, एक राजा हटाउने हजारौँ राजा पोस्ने महँगो संघियता र गाँडतन्त्रलाई शिशु भन्दै बचाउनु पर्छ भन्ने भनाइ चलेकको छ ।

अर्काको कुरै नसुन्ने आफ्नै उखान टुक्काले मेट्रो, मोनो रेल, घरघरमा ग्याँसको पाइप लाइन भन्ने पानीजहाज कार्यालयलाई करोडौँ गाडी किनाउने, सडक टालटुल गर्न लगाएर असारे र डोजरे विकास देखाउने, प्रकृति दोहन गरेर जमिन कमलो पार्ने प्रवृत्ति बढेको छ ।

मान्छेको रगतमा विप्रेषणले नपुगेर चुरे दोहन गरेर बालुवा,  ढुंगामा पैसा कमाउन खोज्ने, विजुली र पानीको भाउ छूट गर्छु भनेर उल्टो भाउ बढाइदिने, खाए खा नखाए घिच् गरेर आम उपभोक्तालाई निराश बनाउने, प्रशासन यन्त्रलाई थँग्थिलो पार्ने, जहाँतहीँ  आफ्ना मान्छेलाई भर्ती केन्द्र गराउने, जनताको उठिबास लगाउने नेताजीहरुलाई जनताले जुवाइँ पाले  झैं पालिरहनु पर्ने बाध्यात्मक अबस्था कहिले सम्म हो ?

यो गाईजात्रा सधैँका लागि हो या केही समयका लागि हो, यो संक्रमणको अन्त्य कहिले हुन्छ र जनताले साँचो लोकतन्त्र, प्रजातन्त्र पाउने हुन्, संविधानको निबन्धमा मौलिक हक मात्रै कतिवटा छन्, व्यवहारमा कति वटा लागु भए, गाँस, बास, कपास, स्वास्थ्य, सुरक्षाको हकको प्रत्यभूति कहिले हुने हो ?

चेलीबेटीको अस्मिताको रक्षा कहिले हुने, पुल क्रस गर्दा नदीमा परेर मर्नु पर्ने, खान लाउन नपाएर आत्महत्या गर्नु पर्ने अबस्थाको अन्त्य कहिले हुने ? सिमानामा आएर बैरीले धम्क्याउँदा टुलु टुलु हेरेर बस्नु पर्ने दार्चुला सिमानाकाले खान कहिले पाउने ?

कसले यसको जिम्मा लिने ? प्रश्नै प्रश्नका वीच यसपालिको भाँडभैलो गाईजात्रे कोरोना महापुराण समाप्तम्, सर्वत्र अशुभम् ।  फूमन्तरकी वाचा, कोरोना पनि भागी जा, चुसकहरु खोलाखोलै गइजा, हाइटी र अफगानिस्तान नबनाइजा ।