• मंसिर ११ २०८१, मंगलवार

दिशाविहीन एमाले युवा नेता घुमिफिरी रुम्जाटार !

भाद्र ७ २०७८, सोमबार

काठमाडौं । तात्कालीन नेकपा एमाले माधव समूहले निर्वाचन आयोगमा एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिएसँगै कुहिरोको काग झैं अलमलाउन पुगेको भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराईसहितको एमाले युवा पुस्ता घुमिफिरी रुम्जाटारको यात्रा टुंग्याउनीमा पुगेको छ ।

एकताका लागि १०–बुँदे आधार पत्र तयार पार्दाका बखत माधव नेपाल समूहबाट सहभागी भएका नेताहरुको अघोषित नेतृत्व रहेको यो टिम पार्टी एकताका लागि कहिले कोटेश्वर त कहिले बालकोट दौडाह गर्दै आएको थियो । केपी शर्मा ओलीले एमाले पार्टीमा आफूहरुलाई समावेश नगरे माधव नेपालको एकीकृत समाजवादीमा प्रवेशको विकल्प नभएको भनी यो समूहले सार्वजनिक अभिव्यक्ति दिंदै पनि आएको थियो ।

तारन्तार बालकोट र कोटेश्वर गरिरहेको यो समूहको ‘आफ्नै विचार र कार्यदिशा’ नभएकाले पनि नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषकहरुले यो समूह ‘दिशाविहीन अवस्था’मा रहेको टिप्पणी र विश्लेषण गर्दै आएका थिए । युवा नेतृत्वको ठूलो पंक्ति रहे पनि विचार अभावका कारण यिनीहरुले पुराना दुई नेतामध्ये एउटाका चरणमा आफूलाई समर्पित गनुर््को विकल्प थिएन ।

तेस्रो र एक सशक्त वैचारिक धार निर्माणका लागि यो समूहको संख्या आफैमा पर्याप्त भए पनि विचार अभावका कारण यसले सांगठनिक रुप लिन सकेको देखिदैन । फलतः बालकोट वार्तालाई टुंगो दिने गरी यो समूह माधव नेपालको एकीकृत समाजवादी पार्टीबाट टाढा तर नेकपा एमालेसँग नजिक हुन पुगेको छ । संभवतः एकता वार्ता टुंगो लाग्ने देखिन्छ ।

वार्ता टुंगोमा पुग्ने भएपछि नेकपा एमालेले मंगलबार बिहान ११.० बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको छ । सेफल्याण्डिङ खोजिरहेको युवा पुस्तासँग आफ्नै निवासमा पार्टी अध्यक्ष ओलीले वार्ता टुंग्याएपछि मंगलवारको स्थायी समिति वैठक बोलाइएको भनिएको छ । वैठकमा एकता गर्दै गरेका युवा नेताहरुको पनि सहभागिता हुने संकेत बालकोट स्रोतले दिएको छ ।