• मंसिर १२ २०८१, बुधबार

आज गाईजात्रा : श्रद्धा र व्यंग्यको संगम

भाद्र ७ २०७८, सोमबार

काठमाडौं । गाईजात्रा मूलतः वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइन्छ । यो ‘बरखी फालिए’को जस्तै पनि हो ।

यस दिनमा वास्तविक गाई वा मानिसलाई गाईका प्रतिकका रुपमा सिंगारेर आ-आफ्ना गाउँटोल र सहरमा परिक्रमा गराउने गरिन्छ । पितृहरुको संझनास्वरुप यसो गर्ने गरिएको हो ।

यो कर्मपछि पितृहरुको विभिन्न दोषहरु मेटिने र स्वर्गमा बास पाउने विश्वास गरिन्छ । एक वर्षभित्र स्वर्गे भएका आफन्तजनको संझनामा मनाइने यो संस्कृति र परम्परामा सिंगो समाज र छिमेकले साथ दिने गर्दछन् । पितृहरुका नाममा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । टोल वा नगरपरिक्रमाले पितृहरुले पार गर्नुपर्ने दुरी कट्छ भन्ने विश्वास गरिन्छ । साथै आफ्नो पीडा सिंगो टोलवासी वा नगरवासीसँग साटियो भने मनको बोझ हलुंगो भएर जान्छ पनि ।

त्यसैले पनि त्यस वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुने भएकाले गाई वा गाईको प्रतिक बनाएर गाईजात्रा मनाइँदै आएको छ । यो सामाजिक देखिने कर्म धार्मिक विश्वासमा आाधारित छ ।

राजा प्रताप मल्लको पालाबाट चलेको यो परम्परा आधुनिक नेपालमा पनि उत्तिकै लोकप्रिय छ । उनले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आह्वान गरी गाईजात्रा निकाली सहर परिक्रमा गर्ने चलन चलाएका थिए ।

अहिले आएर यसमा राजनीतिक व्यंग्य समेत मिसिन पुगेकाले यो पर्व सबैका लागि चासो र सहभागिताको पर्व बन्न पुगेको छ । फलतः गाईजात्राका दिन प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत पस्कने गरिन्छ ।

परम्पराको पालना गर्दै अहिले पनि गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा र परम्परालाई कायम राखिएको छ । कोरोना महामारीको यो बेलामा पनि काठमाडौंमा गाईजात्रा मनाइँदै गरिएको छ । व्यंग्य, प्रहसनका कलात्मक अभिव्यकित तथा नाटक पनि हलमा चलिरहेका छन् ।