काठमाडौँ। हाम्रो देश नेपाल सधैँभरि राजनीतिक अस्थिरता भइरहने देशको रुपमा संसारमा चर्चित छ । चर्चित छ पनि के भन्नु र ? लज्जित छ । पाँच वर्षको जनादेश पाएको भनेको कुनैपनि सरकाले आफ्नो कार्यकाल पुरा गरेको नदेखेको यहाँ धेरै दशक भइसक्यो ।
नेपाल एकिकरणसँगै देशले लामो राणातन्त्र भोग्यो त्यसपछि छोटो प्रजातन्त्र भनिएको व्यवस्था भोग्यो । पञ्चायती व्यवस्था पनि देशले भोग्यो । ०४६–४७ सालपछि बहुदलीय प्रजातन्त्र आयो भनियो । २०५२ सादेखि माओवादी जनयुद्ध सुरु भयो । २०६२र६३ सालमा देशको राजतन्त्र फालेर गणतन्त्र आयो । नेपालमा संविधान सभाले देशको संविधान पनि बनायो । देश संघीय गणतन्त्र समेत भयो ।
तरपनि माथि भनिएका कुनैपनि व्यवस्था वा समयमा कुनैपनि सरकारले आफ्नो तोकिएको पाँच वर्षे कार्यकाल पुरा गर्न पाएका छैनन् । त्यसकारण यो देशमा जहिल्यै राजनैतिक अस्थिरता नै रह्यो । यतिसम्म कि संघीय व्यवस्थामा प्रदेश सरकारहरुसम्मले समेत आफ्नो कार्यकाल पुरा गर्न पाएनन् ।
राजनैतिक अस्थिरता हुँदा प्रदेश सरकार समेत फेरबदल हुने क्रममा बागमती प्रदेश सरकार पनि फेरबदल भएको छ । फेर बदल भएको बागमती प्रदेश सरकारमा मुख्यमन्त्रीको रुपमा नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यले आफ्नो कार्यभार सम्हालेकी छिन् । शाक्यले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेसँगै नेपाली समाजमा महिला सफलता बारे समेत चर्चा भएको छ ।
अस्थिरता हुनुले देशमा एक महिलाले मुख्यमन्त्रीको रुपमा जिम्मेवारी पाउने एउटा अवसर सिर्जना हुनुलाई भने कतिपय मानिसहरुले सकारात्मक रुपमा समेत लिएको देखिन्छ । शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्न सफल भएसँगै नेपालमा महिला सफलताको बारेमा पनि चर्चा हुन थालेको छ । आउनुस् नेपालको राज्यसत्ताको उपल्लो पदको जिम्मेवारी पाउन सफल चार महिलाबारे सामान्य जानकारी राखौं ।
१) अष्टलक्ष्मी शाक्य
अष्टलक्ष्मी शाक्य, महिला राजनीतिको मात्रै होइन सिङ्गै नेपाली राजनीतिको एक प्रभावशाली एवं चर्चित नाम हो । कम्युनिष्ट आन्दोलनमा त झन् उनी राष्ट्रपति विद्यादेवी भण्डारी भन्दा पनि वरिष्ठ राजनीतिकर्मी हुन् । नेकपा (एमाले) की केन्द्रिय उपाध्यक्ष शाक्य कम्युनिष्ट आन्दोलनमा लागेर लामो समय भूमिगत जीवन व्यतित गरेकी महिला पात्र हुन् । वि.स. २०१० साल कात्तिकमा वडादशैंको महाअष्टमीको दिन जन्मिएको हुनाले शाक्यको नाम अष्टलक्ष्मी रहन गएको हो । काठमाडौँको झोंछेमा सामान्य नेवार परिवारमा जन्मिएकी शाक्य पञ्चायती भूमिगत कालमा तत्कालिन मालेका युवानेता अमृतकुमार बोहरासँग वैवाहिक जीवनमा बाँधिएकी हुन् ।
बागमती प्रदेशको मुख्यमन्त्री हुनुभन्दा पहिले विभिन्न समयमा नेपालको केन्द्रीय सरकारको उद्योगमन्त्री, महिला बालबालिका तथा समाजकल्याण मन्त्री समेत बनिसकेकी शाक्य नेपाली राजनीतिमा अहिलेसम्म क्षमतावान, निष्ठाको राजनीति गर्ने, इमान्दार, स्वच्छ र नैतिकवान राजनीतिकर्मीको रुपमा चिनिन्छिन् । नेपालमा संघीयता कार्यान्वयनमा आएसँगै शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्रीको लागि निर्विकल्प उम्मेद्वारको रुपमा हेरिँदै आएपनि पार्टीभित्र हुने विभिन्न राजनैतिक खेलका कारण उनी प्रदेशको पहिलो मुख्यमन्त्री हुनबाट बंचित बनिन् । देशको राजनीति माथि भनिएजस्तै सधैं अस्थिर होइरहने हुँदा अन्तिममा आएर २०७८ साल भदौ २ गते मात्र उनले बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यभार सम्हालेकी छिन् । बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यभार सम्हालेसँगै उनी नेपालको पहिलो महिला मुख्यमन्त्री समेत बन्न पुगेकी छिन् ।
२) ओनसरी घर्तीमगर
ओनसरी घर्तीमगर, नेपालको इतिहासमा पहिलो महिला सभामुख हुन सफल महिला हुन् । तत्कालिन रुपमा धेरै विकट मानिएको जिल्ला रोल्पाको जंकोट माडिचौरमा एक निम्न मध्यम मगर परिवारमा जन्मिएकी ओनसरीको जन्ममिति विसं २०३४ साल कार्तिक २८ गते हो । २०४६र४७ सालमा आएको बहुदलीय व्यवस्थासँगै राजनीतिमा होमिएकी ओनसरी तत्कालिन नेकपा (माओवादी) ले २०५२ सालमा जनयुद्ध गर्ने निर्णय गरेसँगै युद्धमा होमिएकी एक महिला योद्धा हुन् । मोओवादीले जनयुद्धको सुरुवात गरेको रात निशानामा पारेको रोल्पाको होलेरी प्रहरी चौकी आक्रमणमा सामेल हुने दुई महिला लडाकूमध्ये एक रहेकी ओनसरी पछि गएर जनमुक्ति सेना नेपालको ब्रिगेड कमिसार समेत बनेकी थिइन् ।
माध्यमिक विद्यालयको शिक्षा पुरा गरेर जनयुद्धमा सहभागी भएकी ओनसरी जनयुद्ध कालभरि आफ्नो भूमिगत नाम ‘उषा’ बाट साथीभाई तथा जनतामा स्थापित थिइन् । स्कूले जीवनमा सानैदेखि खेलकुद तथा नृत्यमा रुची राख्ने उनी जनसाहित्यमा समेत उत्तिकै चर्चित रहेकी छिन् । विद्यालय स्तरको पढाईमा तेज रहेकी ओनसरी घर्तीमगरको जनयुद्धको समयमा नै माओवादीका चर्चित युवानेता वर्षमान पुन ‘अनन्त’सँग जनवादी विवाह गरेर वैवाहिक जीवनमा बाँधिएकी छिन् । महिला तथा जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने उनी दोस्रो संविधान सभाबाट नेपालको संविधान जारी भएपछि बनेको अन्तरिम संसदमा सभामुख बन्न सफल भएकी हुन् । सभामुख हुनुभन्दा पहिले उपसभामुख रहेकी ओनसरीले नेपालमा पहिलो महिला सभामुख हुने इतिहास निर्माण गरेकी छिन् ।
३) सुशिला कार्की
सुशिला कार्की, नेपालको पहिलो प्रधानन्यायाधीश बन्ने एक सक्षम महिला हुन् । विसं २००९ सालमा जेठ २५ गते मोरङको मात्रै होइन पूर्वी नेपालकै ठूलो शहर विराटनगर नजिकै शंकरपुरमा एक सामान्य किसान परिवारमा कार्कीको जन्म भएको हो । सुशिला कार्की आफ्ना आमाबुवाका सात छोराछोरीमध्ये सबैभन्दा पहिलो सन्तान बनेकी थिइन् । सुशीलाका बुवा विराटनगरमा नेपाली काँग्रेसका नेता विपी कोइरालासँग नजिकको सम्पर्कमा थिए । उनका बुवाले सुशिला कार्कीलाई एक चिकित्सक बनाउन चाहेको थिए तर आफ्ना बुवाको चाहना विपरित सुशिलाले अध्ययनका लागि राजनीति शास्त्र तथा कानुन रोजिन् । उनले महेन्द्र मोरङ क्याम्पसबाट बिए पास र भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए पास गरिन् । नेपालको त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधी लिएपछि उनले विराटनगरमा वकालत पेशा सुरु गरेकी थिइन् । पुनरावेदन अदालत विराटनगर बारको अध्यक्ष समेत भइन उनी ।
केही समय महेन्द्र बहुमुखी क्याम्पस धरानमा शिक्षण कार्य गरेकी सुशिला २०३५ सालदेखि वकालत सुरु गरेर २०६५ सालमा अदालतमा न्यायाधीशको रुपमा प्रवेश गरेकी थिइन् । २०६५ माघ ९ गते सर्वोच्च अदालतमा अस्थाई न्यायाधीशको रुपमा नियुक्त भएकी कार्की २०७६ साल मंसिर २ गते स्थायी न्यायाधीश बनेकी थिइन् । प्रधानन्यायाधीश हुनुभन्दा पहिले कार्की सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीश रहेकी थिइन् । विसं २०७३ असार २७ गते सोमबारका दिन प्रधानन्यायाधीशको रुपमा सपथ खाएकी कार्कीले नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्ने सौभाग्य प्राप्त गरिन् । उनले प्रधानन्यायाधीश हुँदा बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेकी थिइन् । त्यसकारण उनीलाई एक निडर न्यायाधीशको रुपमा चित्रित गर्नेहरु पनि छन् । केही सांसदहरुले उनलाई महाअभियोग लगाएर पदबाट हटाउने प्रयास गरेपनि सो प्रयास असफल भएको थियो । नेपाली समाजका अधिकांश घरहरुमा पुरुषहरुले आर्थिक जोहो गर्ने र महिलाहरुले घरधन्दा धान्ने गरेको देखिन्छ तर सुशिला कार्कीको घरमा भने (महिला) कार्कीले बाहिर आर्थिक जोहो गर्ने र पुरुषले घर धन्दा सम्हालल्ने गरेको देखिन्छ । भारतको हिन्दु विश्वविद्यालयमा अध्ययन गर्ने समयमा उनको नेपाली काँग्रेसका चर्चित युवानेता दुर्गा सुवेदीसँग भेटघाट चिनजान र पछि विवाह भयो ।
४) विद्यादेवी भण्डारी
विद्यादेवी भण्डारी, नेपालको पहिलो महिला राष्ट्रपति । नेपालमा गणतन्त्र आएपछि आम जनताका छोराछोरी देशको प्रमुख पद राष्ट्रपति हुन सक्ने राजनैतिक प्रणाली भयो । हुन त गणतन्त्र भनेकै राष्ट्रपति हुने प्रणाली हो । गणतन्त्र प्राप्तिको फल भन्नुपर्छ नेपालमा एक महिलाले पनि राष्ट्रपति हुने अवसर पाएकी छिन् । सवैलाई थाहा छ, नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी हुन् भनेर । यिनी नेपालको राजनीतिमा सर्वाधिक लोकप्रिय जननेता स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी हुन् । नेपालको पहिलो महिला राष्ट्रपति हुनु भन्दा पहिले उनी नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी केन्द्रिय अध्यक्ष थिइन् । राष्ट्रपति हुनुभन्दा पहिले विद्याले नेपाल सरकारको जनसङ्ख्या तथा वातावरण र रक्षामन्त्री समेत भइसकेकी छिन् ।
उनको जन्म विसं २०१८ साल असार ५ गते पूर्वी नेपालको भोजपुर जिल्लामा भएको हो । बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको शुरुवात गरेकी विद्याले विद्योदय व्यवसायिक सेकेन्डरी स्कुल भोजपुरबाटै एसएलसी उत्तिर्ण गरेकी हुन् । भोजपुर क्याम्पस, भोजपुरबाट आइएको अध्ययन पुरा गरी महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा विए अध्ययन गरेकी हुन् । विद्यार्थी जीवन कालमै कम्युनिष्ट विचारसँग नजिक भएकी विद्या २०३७ सालमा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन् । विसं २०३९ सालमा तत्कालिन नेकपा मालेका नेता मदन भण्डारीसँग भूमिगत अवस्थामा विवाह भएको थियो ।
उनका श्रीमान तत्कालिन नेकपा (एमाले)का महासचिव मदनकुमार भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना गराएर हत्या गरिएपछि उनी प्रत्यक्ष राजनीतिमा आएकी हुन् । मदनको हत्यापछि खाली भएको काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा २०५० सालमै भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि राजनीतिमा यिनको चर्चा अरु व्यापक भयो । यसपछि उनले राजनीतिमा कहिल्यै पछि फर्केर हेर्नु परेन । राजनीतिका एकएक खुट्किला पार गर्दै उनले २०७२ कार्तिक १२ गते नेपालको सर्वोच्च पद राष्ट्रपतिको पद सम्हालिन् ।