काठमाडौं । उपत्यका र यस आसपासका क्षेत्रहरू एक महिनादेखि फोहोरको डंगुरले भरिन थालेका छन् । यसले महानगरवासीलाई निकै चिन्तित बनाएको छ । महानगरपालिकाले समयमा फोहोर नउठाइदिंदा फोहरबाट निस्किएको दुर्गन्धले हैजाजस्तो डरलाग्दो अर्को महामारी निम्त्याउने त होइन भन्ने आशंकाले घर गरिरहेको छ ।
एकातिर फोहर थुप्रिने क्रम जारी छ, अर्कोतिर मनसुन फेरि सक्रिय हुँन थालेको छ । सडक हिलाम्यै छन् । पाखापखेराबाट पहिरो खसिरहेको छ । यता महानगरपालिका डुङडुङ्ती गन्हाइरहेको छ । निरन्तर झरी र हिलोका कारण फोहर लैजाने सडक अस्तव्यस्त छन् ।
निर्विकल्प रहेको नुवाकोटको औखरपौवा सिसडोलस्थित ल्यान्डफिल्ड साइटमा गाडी जान सक्ने स्थिति छैन । महानगरपालिकाले यही कारण देखाएर फोहर उठाउने काम गरिरहेको छैन । तर फोहर भने थुप्रन छाडेको छैन ।
काठमाडौंको फोहर बाहिर लैजान नसकिदा कोरोना महामारीभन्दा डरलाग्दो गरी हैजारुपी महामारी पो फैलने हो कि भन्ने आशंकाले घर गरिरहेको छ । काठमाडौंवासी टोलटोल र घरघरमा नै फोहोर थुपारिरहेका छन् ।
फोहर फल्ने ठाउँको विकल्प छैन । सिसडोलस्थित फिल्डमा बारम्बार बिबाद आउँदा पनि वैकल्पिक स्थानको छनौट हुन सकेन । महानगरको फोहर व्यवस्थापनका कुरा धेरैपटक उठिसके । तर कुरा छाल झैं उठ्ने बस्ने गरिरहेका छन् ।
‘काम चलेकै छ, अहिले परेन’, यो नेपालीको पुरानै बानी हो । यसले पनि वैकल्पिक फोहर व्यवस्थापनबारे नयाँ तरिका कहिल्यै सोच्न दिएन । फोहरको पहाड चुलिन थालेपछि यसको व्यवस्थापनलाई लिएर स्थानीय जनता आत्तिन थालेका छन् ।
पानी परेको छ र मात्र नत्र काठमाडौं उपत्यकामा दुई हप्ताभन्दा अघिदेखि थुप्रिएको फोहोरले साच्चिकै बसिनसक्नु बनाउने थियो । मानिस कोठाभित्र बसेर के गर्नु ? कोठा बाहिर थुपारिएको फोहरको दुर्गन्धले घरमात्र होइन, टोल टोल नै बस्न नसकिने बनाउन थालिसकेको छ ।
बेलाबेलामा भेल आए पनि नदी किनारामा बस्न सकिने अवस्था छैन । नदी र यसको किनारामा मानिसले रातारात फोहर खताउने गरिरहेका छन् । नदी किनारा ससाना डम्पिङ साइटजस्ता देखिन्छन् । सडकका चोक र किनारा पनि अछुतो छैनन् ।
महानगरपालिका र यसका आसपासका क्षेत्रमा दैनिक एक हजार ५४ टन फोहोर जम्मा हुन्छ । उपत्यकाबाट दैनिक औसत एक हजार ५७ टन फोहोर बाहिर पठाउनु पर्छ । अहिले यो फोहर थुप्रिएर सडकमा हिँड्न नसकिने वातावरण सिर्जना भएको छ ।
अहिले त करीब १५ हजार टन हाराहारीमा फोहोर सडक किनारा र जनताको घरभित्र थुप्रिएर रहेको छ । कोरोना महामारीले सन्त्रस्त काठमाडौं, अब फोहरको डङ्गुरका कारण अर्को महामारी आउने हो कि भनी हायलकायल भएको छ ।
यति बेला प्रयोगका लागि भए पनि सरकारले फोहरको तत्काल व्यवस्थापनका लागि अस्थायी साइट हेरेर राख्नु पर्छ । त्यस्तो इमर्जेन्ससी साइटको परिकल्पना महानगरपालिकाले गर्नै पर्छ ।