• मंसिर ११ २०८१, मंगलवार

अफगानिस्तानको सत्तामा आएका तालिवान को हुन्, हिजो कस्तो शासन चलाएका थिए ?

भाद्र ३ २०७८, बिहीबार

अफगानिस्तानमा तालिवानी विद्रोहीले भर्खरै सत्ता हातमा लिएको छ । अमेरिकाद्वारा सत्ता खोसिएको झण्डै २१ वर्षपछि तालिवान फेरि सत्तासिन भएको छ ।

सशस्त्र युद्धद्वारा उसले सत्ता कब्जा गरेको छ । विश्व राजनीतिमा यो घटनाले निकै चर्चा पाएको छ । यो घटनाका बारेमा सकारात्मक र नकारात्मक दुबैखाले प्रतिक्रियाहरु आइरहेका छन् ।

धेरैले यो घटनाले नेपालका कम्युनिस्ट र विश्वका साम्राज्यवाद विरोधी सत्ता र पार्टीहरुले नयाँ पाठ सिक्नु पर्नेरुपमा व्याख्या गरिरहेका छन् भने धेरैले अब विश्व राजनीतिमा अमेरिका पराजित भएको र चीन अगाडी आएको विश्लेषण गरिरहेका छन् ।

सरसर्ती हेर्दा चीनको सहयोगमा नै तालिवानले अफगानमा सत्ता कब्जा गरेको देख्न सकिन्छ । अर्कोतिरबाट हेर्दा २० वर्षपछि अमेरिका अफगान छोडेको छ र उसले त्यहाँ शान्तिका लागि भन्दै झण्डै २ लाख अफगानी जनताको ज्यान लिएको छ भने झण्डै २० खर्ब डलर खर्च गरेको छ ।

तर आज अमेरिका आफ्नो उद्देश्य पूरा नभएरै त्यहाँबाट फिर्ता भएको छ । धेरैले उसको यो फिर्तीलाई उसको हारको रुपमा व्याख्या गरेका छन् । धेरैले त अफगानिस्तानबाट अमेरिका फिर्ता भएको घटनालाई आजको विश्व राजनीतिमा अमेरिका पराजित हुँदै गएको पनि बताइरहेका छन् ।

आजको दिनमा अफगानिस्तानमा तालिवानी विद्रोहीले सत्ता कब्जा गरेको छ र उसले हिजोको भन्दा फरक र नयाँ तरिकाले सत्ता चलाउने घोषणा गरेको छ । २ दिन अघिमात्र गरिएको एक पत्रकार सम्मेलनमा तालिवान सरकारका प्रवक्ताले महिलालाई स्वन्तत्रा दिने बताएको छ ।

त्यसैगरी मिडियालाई पनि स्वतन्त्ररुपमा समाचार संप्रेशन गर्न दिइने बताएको छ भने अन्तराष्ट्रिय समुदायसित मिलेर काम गर्ने प्रतिवद्धता पनि जनाएको छ । पक्कैपनि तालिवान सरकारप्रति दुनियाँले नियाल्ने छ कि उसले आफैले घोषण गरे अनुसारको शासन चलाउँछ वा हिजोकै शैलीमा शासन गर्छ ? यसो भन्दा हिजो पनि उनीहरु सत्तामा भएको र उनीहरुले चलाएको शासनले त्यहाँका वर्ग र समुदायका जनतामाथि क्रुर शासन गरेको पुष्टि हुन आउँछ ।

जो आज इतिहास बनेको छ र विश्वका मानिसहरुका लागि एक पाठशाला बनेको छ । उसो भए हिजोको उनीहरुको शासन कस्तो थियो त ? यसबारेमा केही जान्ने प्रयास गरौं । स्तन्त्ररुपमा लिइएको यो जानकारी कोही कसैप्रति पूर्वाग्रही छैन । तालिवान, जसलाई तालेवान वा तालिवान आन्दोलनको नामबाट पनि चिनिन्छ ।

यो एक सुन्नी इस्लामिक आधारवादी आन्दोलन हो । अफगानिस्तान मुस्लिम बाहुल्य देश हो । यो सुन्नी मुस्लिमहरुको आन्दोलन शुरुआत १९९४ मा दक्षिणी अफ्गानिस्तानबाट भएको थियो । तालिवान पश्तो भाषाको शब्द हो, यसको अर्थ ‘विद्यार्थी’ हुन्छ ।

गत १९९६ देखि २००१ सम्म तालिवानले अफगानिस्तानको तीन चौथाई जमिन कब्जा गरेको थियो र इस्लामी सरिया कानूनको कडा रुपमा लागु गरेको थियो । सरिया कानुन एक कट्टर मुस्लिम कानून हो । तालिवान आन्दोलनलाई मुस्लिम बाहुल्य देशहरु पाकिस्तान, साउदी अरब र संयुक्त अरब इमिरेट्सले मात्र मान्यता दिएका थिए ।

महिला स्वतन्त्रता विरोधी मुस्लिम धर्ममा भएका मान्यताहरुलाई कानून बनाएर शासन गर्ने, अफ्गानिस्तानलाई ढुङ्गे युगमा पुर्याउने र हिंसाको लागि तालिवानलाई जिम्मेवार मानिन्छ ।

मानव बेचबिखन :

कयौं तालिवान र अल कायदा का कमाण्डरहरूले मानव बेचबिखनको सञ्जाल चलाएका थिए । उनीहरूले जातीयरुपमा अल्पसंख्याक समुदायका महिलाहरूलाई अपहरण गरेर अफगानिस्तान र पाकिस्तानमा यौन दासको रुपमा लागि बिक्रि गर्थे भन्ने आरोप लागेको छ ।

तर सबै तालिवान कमाण्डरहरु मानव बेचबिखनमा संलग्न थिएनन् । धेरै तालिवानीहरुले अल कायदा र अन्य तालिवान कमाण्डरहरूले चलाएको मानव बेचबिखनको विरोध गरेका थिए । नुरुलुदाह र उनका १० जना मानिसले अल कायदाको पाकिस्तानी सदस्यहरुद्वारा अपहरित केही महिलालाई उद्धार गरेका थिए । जालालावादमा स्थानीय तालिवान कमाण्डरले अल कायदाको अरबा सदस्यको शिविरमा रहेका महिलालाई छुटाएका थिए ।

महिला उत्पीडन :

तालिवानले सरिया कानून अनुसार महिलालाई बुर्का लगाउने आदेश जारी गरेको थियो । उनीहरुको शासनकालमा १० वर्ष भन्दा माथिको उमेरका बालिकालाई विद्यालय जान मनाही थियो ।

सन् १९९६ मा शासन सत्तामा पुगेपछि तालिवानले लैंगिक आधारमा कानुन बनायो । यी कानुनबाट महिलाहरू सबैभन्दा धेरै उत्पीडित भए । अफगानी महिलालाई नोकरी गर्ने अनुमति थिएन ।

महिलालाई सबै प्रकारको विद्यालय, कलेज, र विश्वविद्यालयमा बन्देज गरिएको थियो । कुनै पुरुष नातेदार बिना महिलालाई घरबाट बाहिर निस्कन अनुमति थिएन । विरामी पर्दा चेकअप गराउन जाँदा महिला र किशोरीलाई पुरुष डाक्टरले बहिष्कार गर्दथे ।

यसको साथै महिलाहरुमाथि नर्स र डाक्टर बन्न पनि बन्देज थियो । तालिवानको कुनै पनि आदेशको उल्लंघन गर्दा महिलालाई निर्दयतापूर्वक पिटिन्थ्यो र मारिन्थ्यो ।

हिन्दु र सिखमाथि भेदभाव :

अफगानिस्तानमा हिन्दु र सिख समुदाय ऐतिहासिक समयदेखि बसिरहेका थिए । उनीहरु अफगानिस्तानको मुख्य अल्पसंख्यक हुन् तर शिक्षा र व्यापारमा सम्पन्न छन् । १९८९–१९९२ सम्मको अफ्गान गृहयुद्धका कारण उनीहरु भारत र अन्य देशहरूमा बसाइ सर्न बाध्य भए ।

अफगानिस्तानमा तालिवानको सत्ता सुरु भएपछिको सरिया कानूनले हिन्दु र सिख समुदायमा भेदभाव सुरु गर्यो । जसका कारण हिन्दु र सिखहरुको जनसंख्या तीव्र गतिले ओरालो लाग्न सुरु भयो । तालिवान सरकारले गैरमुस्लिमलाई मन्दिर तथा पूजा गर्ने स्थानको निर्माणमा रोक लागाएको थियो ।

उनीहरुले मुस्लिमको आलोचना गर्न प्रतिबन्ध गरेका थिए । गैरमुस्लिमलाई मुस्लिम बस्तिमा बस्न रोक लगाएका थिए भने गैरमुस्लिम महिलालाई चिन्हको रुपमा पहेंलो लुगा लगाउन आदेश जारी गरेका थिए ।

आधुनिक शिक्षामा प्रतिबन्ध :

तालिवान सत्तामा आउनु भन्दा अगाडि अफगानिस्तानमा शिक्षालाई ठूलो महत्वका साथ हेरिन्थ्यो । काबुल विश्वविद्यालय एशिया र मध्येपूर्वका विद्यार्थीहरुको आकर्षणको केन्द्र थियो । तर तालिवान सत्तामा आएपछि आधुनिक शिक्षामा प्रतिबन्ध लाग्यो ।

महिलाहरुलाई शिक्षा हासिल गर्नमा प्रतिबन्ध गरियो र स्मालिक धार्मिक स्कूल र कुरानको पढाइमा मात्र प्रत्साहन गरियो । अफगानिस्तानको आधाजस्तो विद्यालय नष्ट गरिए । तालिवानले शिक्षक र विद्यार्थीमाथि हिंस्रक आक्रमण गर्यो । अभिभावक तथा शिक्षकलाई धम्की दिए ।

सांस्कृतिक संहार :

सन् २००१ मार्चमा तालिवान नेता मुल्लाह मोहमद ओमारको आदेशमा बमियान बुद्धको मूर्ति तालिबानले डाइनामाइट विस्फोट गरी नष्ट गरे । बुद्धको मूर्ति नष्ट गर्ने कार्यको अन्तर्राष्ट्रिय स्तरमा निकै निन्दा भयो ।

मनोरञ्जनमूलक गतिविधिमा प्रतिबन्ध :

सन् १९९६ देखि २००१ को तालिवान शासनमा फुटबल खेल्ने, चङ्गा उडाउने, र चेस जस्ता खेलकुद र गतिविधिमा प्रतिबन्ध लगाइएको थियो । टेलिभिजन, सिनेमा, संगीत, भीसीआर र स्याटेलाइट डिसजस्ता मनोरञ्जन गतिविधिमा पनि प्रतिबन्ध लगाइएको थियो ।

चङ्गा उडाउने अफगानिस्तानको लोकप्रिय प्रचलन थियो । धेरै अफगान बालबालिकालाई चङ्गा उडाउने क्रममा समातियो र उनीहरूलाई निर्दयतापूर्वक कुटियो । उनीहरुले सांगीतिक सामग्रीमाथि र प्राणीहरुको दृश्य प्रतिनिधित्वमा पनि प्रतिबन्ध गरे ।

यति विघ्न काम गरेका तालिवान हिंसाको माध्यमबाट फेरि सत्तामा आएका छन् । उनीहरु सत्तामा आएसँगै आज विश्व राजनीतिमा बदलाव आएको छ । तालिवान समूहलाई आतंककारीको संज्ञा दिएर दमन गर्ने अमेरिका त्यहाँबाट फर्किसकेको छ ।

विश्लेषक चीनको सहायतामा तालिवानी सत्तामा आएको विश्लेषण गरिरहेका छन् । विश्व राजनीतिको तिब्र ध्रुवीकरण हेर्दा त्यो विश्लेषण सत्य झैं लाग्छ । चीन विश्व राजनीतिमा उदाउँदो शक्तिका रुपमा देखा परेको छ भने अमेरिका ओरालो लागेको शक्तिको रुपमा ।

यदि यसो हो भने चरम कट्टरपन्थीको आरोप लागेको तालिवानमाथि जाइलागेको अमेरिकालाई पछि पारेर उनै तालिवानलाई सत्तासिन गराएको चीनले तालिवानको कट्टरतालाई कुन आँखाले हरिरहेको छ त ? के अब अमेरिकाले आतंककारी भन्दै दमन गर्दै गरेका शक्तिहरुलाई चीनले शान्तिपूर्णरुपमा अवतरण गराउँदै जाला त ?

तालिवानीको सत्ता कब्जाले के विश्वमा सकारात्मक सन्देश गएको छ त ? यी र यस्ता प्रश्नहरु आज विश्वभर उठिरहेका छन् ।

यसै प्रश्नहरुका बीचमा तालिवानहरुले आफूलाई सन्तुलनमा राख्दै हिजो उनीहरुले चलाएको कट्टर धार्मिक अतिवादी तरिकाको शासन सञ्चालनमा बद्लाव ल्याउलान् ? यस्ता प्रश्नहरुको जवाफ समयक्रमसँगै उनीहरुले विश्व समुदायलाई दिनु पर्नेछ ।