मेरो कालिकोटदेखि सुर्खेतको यात्रा सुरु भयो । हाइस गाडीमा बीचतिरको सिट पाएँ । गाडीमा मस्तसँग गीत बजिरहेको थियो । वर्षाको बाटोमा खाल्डो र हिलोको अप्ठ्यारो बाटोमा यात्रा भइरहेको थियो ।
कहिले गाडीले बोक्ने र हिँडाउने त कहिले गाडीलाई तान्दै र धकेल्दै–धकेल्दै गाडी नै हिँडाउने गर्दै सुखदुःखको यात्रा भइरहेको थियो । म मेरो बीएड्को परीक्षा दिन जाँदै थिए भने गाडीका अरु यात्रुहरु आफ्नो आफ्नो कामले यात्रा गरिरहेका थिए ।
तीमध्ये साना भाइहरुको आठ जनाको समूहले भर्खरै एस्ईई दिएका रहेछन् । उनीहरु सबै अन्दाजी १४ वर्षदेखि लगेर १८ थिए । कसैले कहिल्यै पनि बाहिरफेर नगएका रहेछन् । उनीहरु ठेट खस भाषामा बोल्दै थिए ।
मेरो ध्यान अब तिनीहरुको कुरामा गयो । उनीहरुको कुरा सुन्दा मलाई गाडीमा बजिरहेको गीतमा बजाइने धुनजस्तै लागिरहेको थियो । यति मात्रै होइन, मलाई त उनीहरुको कुराहरु एउटा रेकर्ड गरेको उपन्यास सुनेको जस्तो महशुस भइरहेको थियो ।
उनीहरू आफ्नो गरिबी र बाध्यताले गर्दा भारतको सिम्ला जाने कुरा गर्दै थिए । कोही घरबाट भागेर आएका रहेछन् । ती भाइको नाम त थाह भएन, तर उनलाई उनका बाआमाले घर फर्काउनका लागि फकाइरहेका थिए भन्ने भान भइरहेको थियो । बाआमाले उनलाई ‘घर आइज जे जसो हुन्छ, त्यस्तै खाउँला’ भन्दै घर फर्किन भनेको पनि सुनिएको थियो ।
तर छोरा भने भन्दै थियो, ‘मेरो पीर नमान्नु होला, दुईचार पैसा कमाएर आउँला अनि लुगा फाटो त फेरौंला नि ।’ तीमध्ये धेरैजसो भाइहरुले भोला (सुर्ती जस्तै सुपारीबाट बनाइएको) खाने रहेछन् ।
यसो हेर्दा त कतिले त हल्का रक्सी पनि खाएका जस्ता देखिन्थे । अनुहार पढ्दा कोही खुसी थिए, त कोही दुःखी जस्तै देखिन्थे । सबै आआफ्ना गफ गर्दै थिए । त्यत्तिकैमा एक जना भाइको घरबाट फोन आयो ।
शायद फोन नबुझिएको भएर होला उनले आफ्ना साथीहरूलाई चुप लाग्न भने । उनले फोन उठाउँदै भनिरहेका थिए : ‘हेल्लो आमा भन्नु न ।’ शायद उनलाई पनि आमाले घर फर्किन आग्रह गरिन् होला ।
उनले भने, ‘घर बसेर के काम छ र आजभोलि, पछि कामको बेला म आएर सबै गरिहाल्छु ।’ कुरा सुन्दै जाँदा त ती भाइ बिवाहित पनि रहेछन् । सानै उमेरमा बिवाह गरेपछि कसरी सक्छ घर सम्हाल्न ? बिचरा ! आमाले ‘तेरो बुडीलाई घरमा छोडेर तँ जानु पथ्र्यो, हाम्ले भनेको मान्दैन’ भन्दै हुनुन्थ्यो आमाले ।
गाडी दैलेखको राकममा खाना खानका लागि रोकियो । त्यही बेलामा सबैजना झरेर खाना खान गए । करिब ३० मिनेटको समयपछि गाडी गुड्न थाल्यो । सबैजना आआफ्ना सिटमा बसे ।
फेरि ती युवाले आफ्ना कामका कुरा गर्न थाले । कोही पहिलोपटक जानेहरु मध्येकाले के–कस्तो काम गर्नु पर्छ ? कस्तो छ ठाउँ ? भन्दै सोध्दै थिए । जवाफ पनि पाइरहेका थिए– ‘स्याउ बोक्ने हो, तरकारी बोक्ने हो ।’
कसैले त भन्दै थिए– ‘जे भेटिन्छ त्यही काम गर्ने हो ।’ यस्तै हुँदाहुँदै हाम्रो सुर्खेतको यात्रा सकियो । मेरो मनमा धेरै कुराहरु खेलिरहेका थिए । गरिबीले मारेका हामी नेपाली हाम्रो पीडा यस्तै छ भनेर आफ्नो चित्त बुझाएँ ।
यसको सबैभन्दा ठूलो कारक तत्व के हो ? मनमा प्रश्न उब्जेको थियो मेरो । रोजगारको उचित व्यवस्था नगर्ने प्रणालीका कारण यस्तो समस्या आएको हो भन्नेमा म पुगें । कर्णाली यसै त पिछडिएको छ ।
यहाँका जनता झन् कति पिछडिएका छन् । राज्यले पनि सोच्न सकेको छैन । देशकै गरिब नगरको दुःख बुझ्न सकेको छैन वा बुझेको छैन । मेरा मनमा यी र यस्ता प्रश्नहरु आज पनि अटेसमटेस् भएर खाँदिइरहेका छन् ।