• मंसिर १२ २०८१, बुधबार

नेपालमा विकास र समृद्धिका आधार

श्रावण ३१ २०७८, आईतवार

हाम्रो देश विश्वमा नै प्राकृतिक हिसावले अत्यन्तै सुन्दर र अद्वितीय रहेको छ । यसै कारण वर्षेनी लाखौंका संख्यामा पर्यटक नेपाल भ्रमणमा आउने गर्छन् । नेपाल क्षेत्रफलमा सानो भए पनि धरातलीय स्वरुपमा चार र हावपानीको दृष्टिकोणले सामान्यतया दुई प्रकारको विविधता पाइने देश हो ।

हिमाल पहाड भित्रितराइ र तराइ छ भने गीष्मकालीन र शीतकालीन गरी विभाजन गरिएको पाइन्छ । वनस्पतिका हिसाबले भने नेपालको जमिनलाई पाँच भागमा विभक्त गरिएको देखिन्छ । अर्धोष्ण सदाबहार जंगल, पतझर मौसमी जंगल, सदाबहार कोणधारी जंगल, लेकाली तृणभूमि र टुन्ड्रा रहेका छन् । यी पाँच प्रकारका जंगललाई उचाइका हिसाबले विभाजन गरिएको पाइन्छ ।

जमिन मानव लगायत सबै प्राणीको अस्तित्वको लागि आवश्यक तत्व हो यसको सदुपयोग र संरक्षणबिना मानव जातिको समग्र कल्याणको कल्पना समेत गर्न सकिँदैन । हामीले जमिनको गुणात्मक अवस्था बचाउन सक्यौ भने मात्र यसले मानवको हितमा काम गर्छ ।
पछिल्ला दुई दशकयता विविध कारणले जमिनको उर्वराशक्तिमा कमि आइरहेको छ । जमिनको उर्वराशक्तिमा क्षयीकरण गराउने मुख्य कारण भनेको जथाभावी रासायनिक मल र विषादीको प्रयोग नै हो ।

आधुनिक कृषिका नाममा क्षणिक लाभका लागि माटो वा जमिनको गुणस्तरीयताको ख्याल नै नगरी विषादी र रासायनिक मलको प्रयोगले जमिनको उर्वरता घट्दै गएको पत्तै नपाएको अवस्था छ । व्यवसायिक तरकारी उत्पादनकर्ताले रातारात काँक्रो, फर्सी, लौका, गोलभेँडा आदिमा भिटामिनका नाममा अखाद्य पदार्थको प्रयोगले एकातर्फ मानवको स्वास्थ्यमा समेत प्रतिकूल असर गरिरहेको छ भने अर्को तर्फ अपत्यारिलो रुपले आयतनमा बृद्धि गराइने गरेको पाइन्छ ।

जमिनको महिमा त्यतिमात्र कहा छ र ? हामीले बसोबास गर्ने स्थान जहाँ घरबारी लगायत जति पनि भौतिक पूर्वाधार छन् ती सबै जमिनमा नै रहेका छन् । त्यसैले जमिनको महत्व ज्यादा रहेको छ । आज जमिनमा लगानी गर्ने होड नै चलेको देखिन्छ ।
सुरक्षित र छोटो समयमा धेरै नाफा कमाउने क्षेत्र बनेकाले सहरी र ग्रामीण भेगमा समेत जमिनको स्वरुप नै बिगारेर प्लानिङ र प्लटिङका नाममा डोजर आतङक नै मच्चिने गरेको हामीले देखे भोगेकै छौ ।

सहर बन्नु आफैमा सकारात्मक र विकासको परिचायक भए पनि पछिल्ला दिनका यसका नकारात्मक प्रभाव ज्यादा देखिन थालेको छ । जमिनको उचित उपयोग र गुणस्तर कायम राखेर मात्र प्रयोग गर्दा मात्र हामीले यसबाट दीर्घकालीन लाभ लिन सक्छौ ।
जङगल हाम्रो जीवन हो किनभने बोटबिरुवाले फाल्ने अक्सिजनले हामी जीवित रहेका हुन्छौ । जङ्गलको संरक्षणमा हामीले विगतको तुलनामा प्रगति गरेको देखिन्छ । जङगललाई वन सम्पदाको नामले पनि चिनिन्छ ।
विज्ञान तथा प्रविधिको विकास र औद्योगीकरणले कारणले गर्दा जङ्गलमा बढी चाप परेको देखिन्छ । विश्वका विविध देशमा वनमा आधारित उद्योग तथा ब्यवसाय सञ्चालन भएका छन् ।

उद्योगको स्थापनाका लागि वनसम्पदा कच्चा पदार्थको स्रोत बनेको हन्छ । दृष्टान्तका लागि फर्निचर उद्योगका लागि जङ्गल कच्चा पदार्थको मुख्य स्रोत हो । वनसम्पदाको विकासले पर्यटनको विकासमा पनि अहम भूमिका खेलेको हुन्छ ।
हाम्रो विकासको मुख्य आधार भएकोले जङ्गल र पर्यटनको सम्बन्ध नङ र मासुझैं रहेको हुन्छ । नेपालमा रहेका राष्ट्रिय निकुञ्जहरु पर्यटन ब्यवसायका लागि उच्च महत्वको रहेको हँुदा आज सगरमाथा, चितवन, बर्दिया, लामटाङ, शिवपुरी लगायतका राष्ट्रिय निकुन्जहरुमा पर्यटकको आकर्षण बढेको हो ।

जङ्गलले पर्यटकको सख्या बढाउने मात्र नभई दुर्लभ वन्यजन्तु र वनस्पतीको संरक्षण समेत हुन्छ । वनसम्पदाको संरक्षणबाट पशुपन्छीको सुरक्षा, पानीको स्रोतको सुरक्षा, वनको सुरक्षा र संरक्षण जडिबुटीको सुरक्षा, ब्यवसाय र औषधि विज्ञानको विकासमा समेत महत्वपूर्ण टेवा दिएको छ ।

हाल वतावरणीय समस्या बढेको गएको छ । यसको मुख्य कारण भनेकै हामीले प्रकृतिलाई चिन्न नसक्नु हो । वन मानवको जीवन हो भन्ने जान्दा जान्दै पनि वनको संरक्षणमा ध्यान नदिनु ठूलो भूल हो । जमिन, जल, हावा, पानी, जङ्गल, जडिबुटी, खनिज सबैको जतनमा हामीले गम्भीर हुनुपर्छ ।

पृथ्वीको स्याहारमा यदि बेवास्ता गर्ने हो भने हामीले बिपत्तीको सामना निश्चित रुपमा गर्नु पर्ने हुन्छ । केही मात्रामा अनुभूति त अहिले नै गरिरहेकै छौ । बढ्दो वायुप्रदुषणको परिणाम सङ्घीय सरकारको शिक्षा मन्त्रालयले फागुन सत्र गतेदेखि चार दिन सबै विद्यालय बन्द नै गर्नु भन्ने आदेश दिनुपरेको थियो ।

स्वास्थ्य र वातावरणीय जोखिम कम गर्न विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको यो पहिलो पटक हो । गत वर्षदेखि नै विद्यालय बन्द कोरोना रोगसँग मात्र जोडिएको थियो भने यस पटक त प्रत्यक्ष रुपमा हावाको मात्रा अत्यधिक दुषित भएको छ ।
देशको राजधानी काठमाण्डौ सहर सबैभन्दा प्रदुषित हुन पुगेको छ यो पनि बिडम्बना नै हो । एकातिर जङ्गलमा डढेलो लाग्ने अर्कातिर बढदो धुँवा, धुलो र वायु प्रदुषणले उपत्यकामा चाप्ने काम एकै पटक भएको छ ।

फागुन चैत लाग्न नपाउँदै डढेलोको चपेटामा पर्नु, त्यो पनि एकै दिनमा सय भन्दा धेरै स्थानमा डढेलो लागेको नेपालको इतिहासमा पहिलो घटना हो । समान्य अवस्थाको भन्दा पाँच गुणा बढी प्रदुषण रहेको मौसमविद बताइरहेका छन् ।
बढ्दो तुवाँलोको कारण घाम लाग्न नसकेको यसले स्वास्थ्यमा आँखा पोल्ने, खोकीलाग्ने, छातीदुख्ने मात्र नभइ मस्तिष्कघात समेत हुने विज्ञहरु बताउँछन् । यस्तो विषम अवस्थाको सामना गर्नका लागि हामीले निकै सजगता अपनाउनु पर्ने हुन्छ । पछिल्लो छ महिनामा एक अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

अब नेपालको देशको प्रचुर सम्भावना रहेको जल सम्पदाको चर्चा गरौं । मानव, जीवजन्तु, पशुपन्छि तथा बनस्पति सबैलाई पानी अनिवार्य तत्व भएकाले यसको उपयोगमा समेत निकै सजग हुनु जरुरी हुन्छ । हाम्रो देशमा अझै पनि एक तिहाईभन्दा बढी नागरिकलाई खानेपानीको सहज सुविधा पुग्न सकेको छैन । जनसख्याको बृद्धि, बढ्दो सहरीकरण र औद्योगीकरणका कारण खानेपानीको माग बढन गई समस्या सिर्जना भएको हो ।

विगत तीन दशकदेखि प्रतिक्षामा रहेका राजधानीबासीले बल्ल मेलम्चीको पानी पिउने सपना पूरा भएको छ । सन्त नेता कृष्णप्रसाद भट्टराईको मेलम्चीको पानीले सडक पखाल्ने भन्ने भनाइलाई मजाकको रुपमा समेत हेरियो । उनले देखाएको दूरदर्शिताबाट आजका नेताले पाठ सिक्नुपर्छ ।

लामो समयको पर्खाइ, अर्बौ रुपैयाँको लगानी, स्वार्थको राजनीति र समयमा काम नसक्ने ठेकेदारको प्रवृत्तिले गर्दा लामो समय कुर्नु परेको नमिठो सत्यबाट सवै विज्ञ नै हुनुपर्छ । खानेपानीसँगै मानवको स्वस्थ्य जोडिएको हुनाले शुद्ध खानेपानीको सहजताले विकासमा टेवा पुग्छ । प्रचुर सम्भावना रहेको जलविद्युतको उपयोग गरी देशको विकासमा ठूलो फड्को मार्न सकिन्छ ।
निःशुल्क रुपमा प्राप्त हुने प्राकृतिक स्रोतको उपयोगमा हामी निकै पछि परेका छौं । मस्र्याङ्दी, भोटेकोशी, सुनकोशी, त्रिशूली, कुलेखानी, चिलिमे, कालीगण्डकी, मोदीखोला, माथिल्लो तामाकोशी, मध्यमस्र्याङ्दी लगायतका दर्जनौं जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतले हाम्रो मागलाई पूरा गर्न सकेको छैन ।

कोशी र कर्णालीका नागरिक अझै अन्धकारमा जीवन यापन गरिरहेका छन् भन्दा उदेक लाग्नसक्छ । हाम्रा हिमनदीबाट आठ हजार मेघावाट विद्युतको उत्पादन हुनसक्ने एक अध्ययनले देखाएको छ । आज हामी भारतबाट छ सय मेघावाट विद्युत खरिद गरिरहेका छौं । जलसम्पदाबाट देश सम्बृद्धिमा ठूलो सहयोग पुग्छ । त्यसैले त जलसम्पदालाई सेतो सुनको उपमा दिइन्छ । नेपालको कृषिलाई ब्यवसायिक र उत्पादनमुखी बनाउनका लागि जलको महत्व उच्च रहेको छ ।

जडिबुटी अर्को महत्वको प्राकृतिक सम्पदा हो । यसको समुचित उपयोगले आर्थिक विकासका साथै रोजगारीको समेत ज्यादा सम्भावनाको क्षेत्र हो । चिराइतो, जटामसी, सालधूप, कपुर, सर्पगन्धा, निरमसी, लोठसल्ला, सुगन्धकोकिल, धुपी, जिम्बु, पाँचऔले, यार्सागुम्बा लगायतका सयौंका सख्यामा रहेका जडिबुटीको ब्यवसायिक रुपमा उत्पादनबाट मनग्यै आम्दानी गर्न सकिन्छ ।

एउटा दृष्टान्त यहाँ सान्दर्भिक होला प्रदेश एकमा चिराइतोको माग बढेर गत बर्ष सातहजार प्रतिमनमा विक्रि हुन पनि कठीन भएकोका यस वर्ष एक मनको १५ हजारमा सहजै विक्रि भइरहेकाले किसान हर्षित भएको खबर पढन पाइयो । यसले पनि पुष्टि गर्छ कि जडिबुटीको उत्पादनले पर्याप्त आर्जन हुन्छ भन्ने ।

अन्तिम र अझै महत्वको माथि उल्लेख गरिएका चार ‘ज’ जमिन, जङ्गल, जल र जडिबुटीलाई ब्यवस्थित प्रभावकारी अनि भविष्यको लागि समेत उपयोग हुनसक्ने गरी परिचालन गर्न दक्ष जनशक्तिको आवश्यक्ता पर्छ । दक्षजनशक्ति बिना कुनै पनि सम्पदाको सही उपयोग हुँदैन ।
त्यसैले हाम्रा सम्पदाको सुझबुझका साथ परिचालनका लागि जनशक्तिको खाँचो हुन्छ । यसलाई मनन् गरी दक्ष जनशक्ति उत्पादन गर्दै स्वदेशमा नै रहेर देशको सेवामा लाग्ने प्राविधिकको सुनिश्चिता हुनुपर्छ ।