• मंसिर ११ २०८१, मंगलवार

तालिवानले काबुल कब्जा गर्ने अमेरिकी संकेत

श्रावण ३० २०७८, शनिबार

काठमाडौं ।

अफगान विद्रोही तालिबानले ढिलोचाँडो काबुल कब्जा संकेत अमेरिकाले गरेको छ । आफ्ना नागरिकलाई अफगानिस्तान भ्रमण नजान सतर्क गराइरहेको अमेरिका पछिल्लो समयमा काबुुलस्थित अमेरिकी दुतावासमा रहेका कर्मचारीलाई संवेदनशील र चनाखो हुन निर्देशन दिइरहेको छ ।

कर्मचारीलाई यस्तोखाले निर्देशन दिएसँगै अमेरिकी दुतावासमा रहेका गोप्य कागजात तथा सामग्री जलाएर नष्ट गर्न लागिरहेको छ । गोप्य कागजात जलाउनका लागि आवश्यक उपकरण अहिले दुतावास पुर्याइएको छ ।

हाल अमेरिकी दुतावासमा सेप्टेम्वर ११ मा भएको अमेरिकी ट्वीन टावर आक्रमणपछिका दिनमा ओसामा बिन लादेनको खोजीसहितका कागजात त्यहाँ रहेका छन् । तात्कालीन अवस्थामा बिन लादेनलाई आश्रय दिएको बहानामा तालिवानविरुद्ध आजभन्दा बीस वर्षअघि अमेरिकाले सैन्य कारबाही सुरू गरेको थियो । परिणामतः सत्तारुढ तालिवान सरकारबाट बिस्थापित भएर विद्रोही समूहका रुपमा बाहिरिएको थियो ।

हाल तालिबानी आक्रमण तेज हुँदै जानु, अमेरिकी सेनाले अफगानिस्तान छाड्नु र अमेरिकी दुतावासमा रहेका सम्बेदनशील कागजपत्र जलाइनुले केही छोटो समयभित्रै तालिवानले काबुल कब्जामा लिने स्पष्ट संकेत दिएको छ ।

हालसम्म तालिबानले अफगानिस्तानका प्रान्तीय राजधानीहरु कब्जामा लिइसकेका छन् । दक्षिणको प्रान्तीय सहर कान्दाहार कब्जापछि तालिवानी लडाकु काबुल कब्जाका लागि अघि बढिरहेका छन् । पर्यवेक्षक सबैको आँकलन रहेको छ, तालिबानले ढिलोचाँडो काबुल पनि कब्जा गर्ने निश्चितजस्तै देखिएको छ ।

आफूले काबुल छाड्दै गर्दा अमेरिकीसँग रहेका संवेदनशील सूचना तालिवानको हातमा नपरोस् भनेर जलाउन थालिएको काबुलस्थित अमेरिकी दुताबासले जानकारी दिएको छ । अमेरिकी दुताबासको यो संकेतले तालिवानी विद्रोही केही दिनमै काबुल पुग्ने र कब्जामा लिने देखिएको छ ।

उता तालिबानले अफगानी जनताले आफूहरूलाई स्वीकारेको कुरा अल जजिरा टेलिजिभनमार्फत् प्रसारण गरिरहेका छन् । लडाइँको क्रममा अधिकांश परिवारले सहर छोडेपछि सहर खाली र सहरका महल भूतबंगलामा परिणत भएका छन् ।

(एजेन्सीको सहयोगमा)