इर्ष्या र घमण्डको स्वरुप बुझ्न वास्तवमै गाह्रो छ । हामीकहाँ सरकार परिवर्तन हुनासाथ पहिलो काम नै लाभका पदहरुको नियुक्ति परिवर्तन हो । अमेरिकामा पनि यो प्रणाली छ । राष्ट्रपति परिवर्तन हुनासाथ हायर एण्ड फायर प्रणाली अन्तर्गत सार्वजनिक पदहरु धरापमा पर्छन्, तर त्यहाँ सजिलै स्वीकार गरिन्छ, सिष्टमले काम गरेको छ कुनै इर्ष्या र घमण्ड हुन्न । तर हामीकहाँ त्यस्तो छैन, भूमि आयोग खारेजीदेखि श्रीमान ओलीले गरेका नियुक्तिहरु धरापमा पर्दै गएका छन् अहिले ! पहिले यसो नगर न भनिएको थियो टेर पुच्छर लाएको हो र !
एकछिन पूर्वीय वैदिक साहित्यमा जाऔँ । वाल्मीकिले रामायणको रचना गरे । हाम्रै जनकपुरमा जनकले राज्य गर्दै थिए । उनको शासनकालमा मात्रै होइन पहिले पनि यहाँ वेद र वेदान्तका भाषा मानिस मात्रै होइन, पशुपन्छी, बोट, बिरुवा, वनस्पतिहरु समेत धर्म, शास्त्र र वेद, वेदान्तकै भाषा बोल्थे, हावा बहँदा, हरियाली सुसाउँदा पनि वैदिक देश भएकाले नीति, रीति र प्रीति अनि धर्मकै चर्चा हुन्थ्यो, राजा जनक आफै राज्य सञ्चालनका लागि इमान्दारिता र धर्म अनुसार र कथा प्रवचन गर्दै राज्य सञ्चालन गर्दथे । वाल्मीकि रचित रामायण जनककै दरबार, बाग–बगैँचामा रहेका सुगाहरुले पहिले नै सुनिसकेका थिए ।
एक पटक किशोरी सीता बगैँचामा टहल्दै गर्दा रुखको टोड्कामा बसेर एक पोथी सुगाले जनकपुत्री जानकीको विहे अयोध्या नरेश पुत्र रामसँग हुने कथा भन्दै थियो । सीताले आफ्नै विषयमा कथा भनेको सुनेर अलि विस्तृत बताउन भनिन् । सुगालाई भनिन्, ‘म तिमीलाई पक्रन्न रुखैमा राख्छु, मेरो जीवनीको भविष्य सबै बताऊ ।’ सुगाले भन्यो, ‘नाइँ भूइँमा आउँदिन । सीताले सुगालाई पक्रन आदेश दिइन्, धाइ सुसारेले सुगालाई पक्रिए र तल ल्याए , सँगै भाले सुगा पनि रहेछ, पोथीसँगै आयो ।
सीताले भनिन्,‘दरबारमै बस, यतै बच्चा पाउ, राम्रो हेर बिचार गर्छु ।’ पोथी सुगाले भन्यो, ‘म गर्भिणी छु, वनमै रमाउने, उतै बच्चा कोरल्ने हाम्रो परम्परा हो, तिमीले देखाएको दरबारको सोख चाहिएन ।’ सीताले जबरजस्ती यहीँ बस्नु पर्ने भन्दै भनिन्, ‘अर्काको बन्धनमा बस्नु भन्दा मर्नु राम्रो, मैले प्राण त्यागेँ अब, तर मर्नुअघि एउटा कुरा सुन् तँ पनि जब गर्भिणी होलिस् पति वियोग सहनु परोस् ।’ यसो भन्दै पोथी सुगाले प्राण त्यागेसँगै भाले सुगा बहुलाजस्तै भयो, उसले भन्यो ‘सीते तैँले गर्दा म विधुर भएँ म पनि मर्नु बेस्, मर्छु तर एउटा कुरा सुन् तेरो गर्भमा बच्चा आउना साथ म निमित्त बन्छु र घरमै राँको जलाउँछु, घर छोड्नु पर्छ तैँले ।’ यति भन्दै भाले सुगा पनि मर्यो । कच्चा उमेर जतिबेला यो परिवेश भएथ्यो सीता कलिलो उमेरकी थिइन्, कुरा त्यतिकै बित्यो, चराका कुरामा कसले विश्वास गर्ने ?
सुगाले भनेजस्तै सीताको बिहे सम्पन्न भई लंकाबाट समेत फर्किसकेपछि श्रीरामले लामो समय अयोध्यामा राजपाठ चलाउँदै हुनुहुन्थ्यो । त्यतिबेला जनगुनासो सुन्ने, नागरिक आवाज सुन्ने सुशासनको चलन थियो । श्रीरामले आफ्ना विषयमा जन राय के रहेछ भन्ने बुभ्mन सुरक्षाकर्मीहरुलाई आदेश दिँदा सबैतिर घुम्दै राय बुझ्ने क्रममा एक ठाउँमा पुग्दा लोग्ने स्वास्नी झगडा हुँदै रहेछ । लोग्नेले स्नास्नीलाई भन्दै रहेछ । म राम जति नामर्द होइन, रावणले लगेको भार्यालाई आपूmले फर्काएर ल्याउने । शास्त्रमा स्त्री, गाई, शैय्या दोस्रोमा वितरण हुन्न भनिएको छ, तँ पनि कहाँ कता गएर आइस्, मलाई स्वीकार्य छैन ।
त्यो स्त्री धोबिनी रहिछ, अघि सीताको क्रोधमा प्राण त्याग गर्ने पोथी सुगा त्यही रहिछ । भाले सुगा उसैको लोग्ने एक धोबी भएको रहेछ र सधैँ जसो घरझगडामा रहेका रहेछन् ती ! सुरक्षाकर्मीहरुले यी हल्लाहरु श्रीरामलाई सुनाए । परिस्थिति त्यस्तै पर्यो सीताले एकरात आफू जंगलमा घुम्न निस्केको सपना देखिन् र पति देवलाई भनिन् । गर्भिणी अवस्थामा स्त्रीले भनेका सबै कुरा पुर्याउँनु पर्छ भन्ने नीति छ । मैले वन विहार गरेको सपना देखेँ, मलाई वन जाने इच्छा भयो । श्रीराम सबै कुरा जान्ने हुनुहुन्थ्यो कुरो बुझेर लक्ष्मणलाई आदेश दिनुभयो, सीतालाई वनमा छोडेर आउनू । लक्ष्मण जंगिए तर रामले एकान्तमा कुरा स्पष्ट पार्नु भयो, सीताको वनबास हुने भयो, लक्ष्मणले सीतालाई वाल्मीकि आश्रममा छोडिदिए । पछि त्यहीँ २ छोरा लब, कुश जन्मेपछि आप्mनो धर्ती अवधि सकिएको देखि पृथ्वीकै गर्भगृहमा प्रवेश गरिन् ।
यो त त्रेता युगको कुरा भयो । द्धापरयुगको एउटा प्रसँगमा जाऔँ, कुरा त्रेतामै जोडिन्छ सीताको खोजीमा वनमा भड्किँदा श्रीरामले बालीलाई वध गरी सुग्रीवलाई किष्किन्धाको राज्य दिलाउनु भयो । बालीपुत्र अंगदले लंका दहनदेखि भएभरको आफ्नो शक्ति रामप्रति समर्पण गरे । लंका विजयपछि श्रीराम खुसी हुँदा अंगदलाई कुनै एक वरदान माग्न भनिएको थियो । अंगदले वरदान माग्दै भने मेरा बाबु मार्ने बैरीलाई म आफैले मार्न पाउँ । रामलाई स्पष्ट भयो मेरै मृत्यु यसले खोजेको भनेर । रामले भन्नु भयो त्यो तिम्रो माग पूरा हुन्छ अर्को जन्ममा ।
अंगदले त्यो समय पर्खिरहेको थियो । अर्को जन्ममा एक जरा नामको व्याधा भएर जन्म्यो । यदुवंश सखाप हुने श्राप पर्यो महा तपस्वी ऋषिहरुबाट ! कृष्णका पौत्र शाम्बलाई स्त्री बनाई गर्भिणी देखाई पुत्र वा पुत्री के जन्मने भनी परीक्षा गर्दा तिमीहरुको वंश नाश गर्ने मुसल जन्मन्छ भनेका थिए ऋषिहरुले । मुसल निकाली टुक्रा पारी समुद्र छेउ फ्याँकेको र त्यसैको सानो आकारको फलामको टुक्राले जरा नामको व्याधाले वाण बनाएको थियो । श्रीकृष्णको धर्तीको समय सकिन लाग्दा त्यही वाण प्रयोग भयो, श्रीकृष्णले त्यही वाणको प्रभावले संसारबाट विदा लिनु पर्यो ।
अवतारी देवताहरुले त कर्म र कारणलाई बुझ्नु पर्ने रहेछ भने कलियुग खासगरी अहिलेको समयमा ठूलै द्धन्द भइ राखेको छ, घरमा, परिवारमा, समाजमा, देशमा एकको इष्र्या अर्कोलाई साधि साध्यै छैन । नजाने के के देख्नु भोग्नु पर्ने हो । एकैपटक कोही दरबार छिर्छन् । एकैपटक जंगल छिर्छन् । कोही सडकतिर लाग्छन् । नाराबाजी गर्छन् । लामो पृष्ठको निबन्ध जस्तै गरी लेखेरै एक अर्कालाई सत्तोश्राप गर्छन् । बेइज्जत गर्छन् । हिलो छ्यापाछ्याप गर्छन् । राजनैतिक रडाकोले हदैसम्म् सिमा नाघेको छ । कसैमा धैर्यता छैन, एकैगाँस घाँटीमा नअटाउने ठूलो गाँस चाहिएको छ । न परिश्रम छ, न इमान्दारिता छ, न नैतिकता छ, अनुशासन र सुशासनको सुगा रटाइ छ । देश विदेशीको क्रिडास्थल बनेको छ । सत्ता हत्याउने, उचाल्ने, पछार्ने यो आनि बानी कहिल्यै गएन ।
आफैले संविधान बनाएको पालैपालो मिलाएर खाए भइहाल्थ्यो आम जनताले के पो भनेका थिए र । आफूआफूमा यदुवंश जस्तै रडाको मच्चाएर देशलाई कहाँ लैजान खोजेको हो बुझिएन । जनता नै नभए, देशै नभए कसको टाउकोमाथि रजाइँ गर्ने हो । कसको नाममा विदेशी ऋण लिने, कसको नममा विप्रेषण लिएर मोज मस्ती गर्ने ? गरिवको फोटो सजाएर उनकै नाममा भजन गरेर डलर हात थाप्नु परेको छ । यी गरिवलाई नै किन करको मारमा पारेको ? खोलामा खसेर पनि यिनै मर्नु पर्ने, बलात्कृत पनि यिनै हुनु पर्ने, बन्दाबन्दीमा पनि यिनै पर्नु पर्ने, महँगीको पीडामा यिनै पर्नु पर्ने, भोटिङमा लाइन यिनै बस्नु पर्ने, खोपमा लाइन लाग्दालाग्दै खोप सकिने के अचम्म भयो देशमा ?