• मंसिर १२ २०८१, बुधबार

नेपाल कोरोना संक्रमणको रेड जोनमा, तेस्रो लहर घोषणा हुन मात्र बाँकी

श्रावण २८ २०७८, बिहीबार

काठमाडौं ।

नेपाल कोरोना महामारी संक्रमणको रेड जोनमा पुगिसकेको छ । प्राविधिक कारणबाहेक तेस्रो लहर घोषणा हुन तयारी छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली स्वीकार गर्छन्, ‘हामी रेड जोनमै पुगिसकेका छौँ भन्ने रिपोर्ट छ, निषेधाज्ञामा जुनसुकै बेला कडाइ हुनसक्छ ।’

यसका लागि जनता र तिनको व्यवहार बढी जिम्मेवार रहेको उनको तर्क छ । उनी भन्छन्, प्रहरी पुग्दा बन्द गर्ने नत्र भने पसल लगायतका सबै कुरा खुल्ला राख्ने गर्नाले संक्रमण सोचेभन्दा बढिरहेको छ । अन्य जानकारहरुको पनि अनुशासन मा नरहँदा यो अवस्था आइपरेको स्वीकारोक्ति रहेको छ ।

संक्रमण बढेसँगै काठमाडौं उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा लम्ब्याएको छ । निषेधाज्ञा केही कडाइ पनि हुँदै गैरहेको छ । यसलाई तेस्रो लहरको अघोषित संकेतका रुपमा पनि लिइएको छ ।

बिहीवारबाट लागू हुने गरी राती ८ बजेपछि अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाउने निर्णय गरिसकेका छन् । यस अघि वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञामा रात्रीकालीन सेवा यसरी बन्द गरिएको थिएन ।

निषेधाज्ञाभित्र सरकारले सबैभन्दा बढी मानिस जम्मा हुने र अनुशासन नमान्ने गरी भैरहेको राजनीतिक सभा सम्मेलन, खुल्ला स्थानमा भेला हुने, जम्मा हुने, भिडभाड नगर्न निकै ताकेता गरिरहेको छ । तर यी भेलाहरु रोकिनुको सट्टा एकपछि अर्को गरी बढिरहेका छन् ।

नयाँ सरकार चयनका लागि दौडधूप गरिहेको लुम्विनी प्रदेशका एक सभासद भन्छन्– ‘नेपालमा कोरोना राजनीति र राजनीति कोरोनामय भैरहेको आभाष हुन्छ ।’ किनकि यी भेलाहरुमा स्वास्थ्यका मापदण्ड पालना गरेर कार्य सञ्चालन गर्ने भनिए पनि अराजकताले राज गरिरहेको पाइन्छ ।

सबैभन्दा बढी संक्रमित भैरहेको काठमाडौंका प्रजिअ पराजुली स्वीकार गर्छन्– ‘निषेधाज्ञा जारी गरेको पनि साढे तीन महिना बितिसके । तर पनि पछिल्लो चरणमा संक्रमण दर ह्वात्तै बढ्दै गरेको परिणाम हात पर्यो । मृत्युदर पनि बढ्दै गैरहेको छ ।’

उनका अनुसार अब पूर्ण निषेधाज्ञा हुन लागू हुन सक्छ । अस्पतालमा बिरामीहरूको चाप बढिरहेको छ । भदौं आठ गतेसम्मको निषेधाज्ञा यसको तयारी र परीक्षण पनि हुन सक्छ । अझै पनि मास्क नलगाएको बाटामा भेटिनु, दुरी कायम नगर्नु, भिडभाड जारी रहनु दुःखको कुरा हो ।

अस्पतालका बेडमा रहेका बिरामीका लागि अक्सिजन आपूर्तिमा केही सहजता देखा परे पनि यसलाई निरन्तरता दिन सकिएला कि नसकिएला भन्ने आशंका बढेर गएको छ । पोखराका स्थानीय पर्यटक रुट गाइड रुद्र विष्ट भन्छन्– ‘खोप पर्याप्त मात्रामा पाउन पाए कोरोना तेस्रो लहरमा पनि स्थानीय पर्यटकको सामान्य आवत जावत चलिरहने थियो । भाडा तिर्नसम्म त हुने थियो ।’

उच्च संक्रमणको खतरासँगै सरकारले बिहान, दिउँसो र साँझपख अनुगमन गर्ने चाँजोपाँजो मिलाएको छ । तर राजनीतिक दलहरुको दौडधूप र भेला सम्मेलन भने सरकार आफैले रोक्न सकिरहेको छैन ।