• मंसिर १२ २०८१, बुधबार

ओलीको विधान अधिवेशन : नेपालको समानान्तर सङ्गठन

श्रावण २६ २०७८, मंगलवार

काठमाडौं । अन्तिममा आएर नेकपा एमालेका ओली पक्ष र माधव नेपाल पक्ष मिल्न नसक्ने आाफ्नो बाटोमा लागेका छन् । एमालेको केपी ओली पक्ष विधान अधिवेशनतर्फ अघि बढेको छ भने नेपाल–खनाल पक्ष देशव्यापी समानान्तर संगठन निर्माणमा ।

यसले यी दुई खेमा स्पष्ट विभाजनको दिशामा उन्मुख भएको देखाएको छ । एकताका वार्ताको जाल फ्याँकेर पार्टी अध्यक्ष केपी शर्मा ओली एक पक्षीय ढङ्गले विधान संशोधन गर्दै विधान अधिवेशनतिर कुदिसकेका छन् । यही विधान संशोधन र अधिवेशनका प्रक्रिया रोकी एकता गर्न आह्वान गरिरहेको माधव समूह ओलीको कदमपछि समानान्तर संगठनभन्दा अरु विकल्प बाँकी नरहेको निष्कर्षमा पुगेको छ ।

केन्द्रबाट पस्ने र जनताबाट उठ्ने दुई भिन्न तयारी :

केपीओली पक्षीय केन्द्रीय समिति बैठकबाट विधान संशोधन प्रस्ताव पारित भएपछि आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन सम्पन्न गर्ने तयारी अघि बढेको छ । आफूहरुको सहभगिता र सहमतिविनै पार्टीको सङ्गठनात्मक संरचनामा व्यापक हेरफेर हुने गरी विधान अधिवेशन अगाडि बढाएपछि माधव नेपाल देशव्यापी तीनैतहका संगठन निर्माण, भेला र प्रशिक्षणमा जुटेको छ ।

केपी ओलीको केन्द्रबाट जनतामा पस्दै जाने तयारी देखिन्छ भने माधव नेपालको जनतामा गएर केन्द्रतिर आउने तयारी रहेको छ । संस्थापन पक्षका हिसाबले ओलीले पुरानो संगठन एमाले हात पारेका छन् भने बिद्रोह गरेका हिसाबले माधव नेपाल नयाँ पार्टी र संरचना निर्माण गर्ने तयारीमा जुटेका छन् ।

यसरी हेर्दा सांगठनिक हिसाबले माधव नेपालको पार्टी निर्माण र एकीकरण तथा ध्रुवीकरणको बाटो देखिन्छ भने केपी ओलीको पार्टी सुदृढीकरण र बिस्तारको प्रक्रियामा जाने देखिन्छ ।

एकीकरण र ध्रुवीकरणको ढोका :

केपी ओली अहिल्यै कसैसँग पनि एकीकरण र ध्रुवीकरणको पक्षमा देखिएका छैनन् । वाम पार्टीहरुसँग उनको तात्तातो रिस र आवेग निभेको छैन । अर्कोतिर वाम पार्टीहरुको ओलीसँगको पूर्वाग्रह र बदलाभावको रसायनमा पनि कमी आएको छैन । त्यसैले पनि ‘वामपन्थ ध्रुवीकरण’ को स्थानमा ‘दक्षिणपन्थ ध्रुवीकरण’ सुरु भएको छ ।

त्यसैले ओली पक्ष बाहेकका वामहरुका बीचमा पनि तत्काल एकीकरणको संभावना देखिदैन । बरु भिन्नै अस्तित्व कायम गरेर सरकारमा भागबण्डाको माग गर्नेतिर दौडने संभावना देखिएको छ ।

नेपाल पक्षको सरकारमा सहभागिताको संभावना :

एमाले विभाजन हुने स्पष्ट संकेतसँगै पाँच दलीय गठबन्धनमा तेस्रो ठूलो दलका रुपमा रहेको माधव नेपाल पक्षको देउवा सरकारमा सहभागी हुने संभावना बढेर गएको छ । माधव पक्षका कारण मन्त्रीमण्डल बिस्तारमा ढिलाइ भैरहेको भन्ने अन्य सत्ता साझेदार पार्टीहरुको आरोप अब अन्त्य हुने बेला आएको देखिन्छ ।

केपी ओली पक्षसँग एकताको संभावना टरिसकेपछि माधव नेपाल पक्षले आफ्नो स्वतन्त्र निर्णय लिने हैसियत पाइसकेको छ । यो अवसरको उपयोग गरेर माधव नेपाल पक्ष पनि केन्द्र र जनताको तहबाट आफ्नो संगठन निर्माण र बिस्तारमा जुट्ने देखिन्छ ।

देउवा सरकारको आयुमा बृद्धि :

देउवा सरकार निर्माण भएको एक महिना पगनै लाग्दा पनि बिस्तार हुन नसकेको मन्त्रीमण्डल अब बिस्तार हुने संभावना बढेर गएको छ । सत्ता गठबन्धनका पाँच दल नै सरकारमा सहभागी हुने भएपछि देउवा सरकारको आयु पनि लम्बिने देखिएको छ ।

यसले सरकार ढलाउने चलखेल र पुरानो एमाले एक ढिक्का भएमा देउवाको सरकारमाथि आइलाग्ने विपत्ति टर्न गएको छ ।

ब्यालेटबाट समाजवाद निर्माण, फ्लप ! :

‘बुलेट’बाट होइन, ‘ब्यालेट’ समाजवाद निर्माण गर्न सकिन्छ भन्ने सपना नेपालको विशिष्टतामा फ्लप हुन गएको छ । यसका भित्री र बाहिरी दुई कारणहरु छन् । भित्री कारणहरुमा नेताहरुमा समाजवादी गीत र रटान त हुनु, तर विचार र विश्वास नहुनु साथै विचार अनुरुपको नेतृत्वमा रुपान्तरण नआउनु आदि पर्दछन् । यस कारणले नेता र नेतृत्व सममाजवाद लेखिएको प्लेकार्ड बोकेका कार्टुनका रुपमा सत्ताबाट बहिर्गमित हुन पुगेका छन् ।

त्यसको स्थान दक्षिणपन्थी प्रजान्त्रवादी ध्रुवीकरण र सत्ताले लिन पुगेको छ । यो बेलामा साना वाम पार्टीहरु नेपाली कांग्रेसलाई समर्थन गर्न र उसको नेतृत्वमा सत्तासहयोगी हुन पुगेका छन् भने सत्ताधारी पार्टी एमाले दुई चिरामा विभाजित हुन पुगेको छ ।

अबको राजनीति :
अबको राजनीति वामपन्थीहरुका बीचमा भुँडी फोराफोर र सत्तोसरापसहितको भण्डाफोर अभियानमा केन्द्रित हुने देखिन्छ । वामहरु एक अर्कालाई आरोप प्रत्यारोप गर्दै संसदीय मण्डपमा चक्कर मारिरहने छन् । अर्कोतिर प्रजातान्त्रिक समूह र पार्टीहरुमा वाम सरकार ढलाएको सत्ताको रोग जस्ताको तस्तै सर्ने देखिन्छ । एकलौटी सत्ता सञ्चालन र आलोपालोको रोगले यिनीहरुलाई साझा कार्यक्रम ल्याउने र सरकारका लागि आचार संहिता ल्याउने अवस्थासम्म पुर्याएको छ । हेर्दा यो यो सकारात्मक र सत्प्रयास जस्तो देखिए पनि ‘वान्ता गर्ने’ मानिसले ‘पोलिथिन ब्याग’ सामा गरेजस्तै हो ।