• मंसिर १२ २०८१, बुधबार

महिला स-शक्तिकरणको आवाज प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’

श्रावण २६ २०७८, मंगलवार

काठमाडौँ । नेपाली परम्परा र संस्कृति अनुसार साउन लाग्न नपाउँदै हिन्दू महिलाहरुको मुख्य पर्वको रुपमा चिनिने पर्वको रौनक आउने गर्छ । देशमा र संसारभरी छरिएर रहेका नेपाली र नेपाली भाषीहरुले कुनै न कुनै रुपमा यो तीज पर्वलाई मनाउने गर्छन् । सबैले तीजलाई आफ्नो संस्कृतिको रुपमा मनाउन नसकेपनि उनीहरुले अरुले तीज मनाएको देख्ने गर्छन् ।

यस अर्थमा नेपाल र नेपालीको मन र परिवेशमा महत्वपूर्ण पर्वको रुपमा तीजको रौनक लाग्ने गर्छ । तीज खासगरी महिलाहरुले ब्रत बसी गीतको माध्यमबाट आफ्ना पीडा र व्यथाहरु ओकल्ने अनि त्यसमै अभिनय गरेर नाचगान समेत गर्ने पर्वको रुपमा पनि प्रचलित छ । तीज भन्ने बित्तिकै पहिलेदेखि नै यस पर्वमा गीत र संगीत पनि अभिन्न रुपमा जोडिएर आएको पाइन्छ । पेशागत रुपमा नै गीत संगीतमा लागेकाहरुलाई त झन तीज आफ्ना रचना र सिर्जना सार्वजनिक रुपमा अभिव्यक्त गरेर बढी भन्दा बढी मानिसहरुको माया बटुल्ने समयको रुपमा एउटा अवसर नै बनेर आइदिन्छ ।

हरेक वर्ष झैं यो वर्ष पनि तीजको रौनक नेपाली समाजमा देखिन थालेको छ । यही अवसरमा संगीत कर्ममा लागेका सर्जकहरु आफ्ना सिर्जनाहरु सार्वजनिक गरिरहेका छन् । यही मेसोमा अहिलेको समयका सर्वाधिक चर्चित संगीतकर्मी प्रकाश सपुतले ‘कुरा बुझ्न पर्च’ बोलको गीत सार्वजनिक गरेका छन् ।

प्रकाश सपुत भन्ने बित्तिकै उनले आफ्नो सिर्जनामा केही न केही संदेश ल्याउँछन् भनेर नेपाली दर्शक तथा स्रोताहरु अग्रिम जानकारी राख्छन् । उनले सार्वजनिक गरेका हालसम्मका आफ्ना हरेक सिर्जनामा नेपाली समाजले सुधार गर्नुपर्ने कुनै न कुनै विषय उठाउने गरेकै हुनाले प्रकाश सपुतबारे अहिले नेपाली समाज जानकार भएको हो भनेर भन्दा अतिशयोक्ति नहोला ।

उनले यसपाली सार्वजनिक गरेको सिर्जना ‘कुरा बुझ्न पर्च’मा नारी जीवनका विभिन्न अवयवहरुलाई चरित्रमा उतार्ने प्रयास गरेका छन् । नारी जीवनमा आमाछोरीको जति सुमधुर सम्बन्ध सायदै अरु कसैको होला। बिवाह गरेर घर गइसकेकी छोरीहरुलाई आमाले माइतीमा पाउदा जुन खुशी पाउँछिन् सायद त्यस्तो खुशी कुनैपनि आमाले बिरलै पाउँछिन् ।

'कुरा बुझ्न पर्च'का पात्रहरु
‘कुरा बुझ्न पर्च’का पात्रहरु

‘कुरा बुझ्न पर्च’मा प्रकाशले आमाको त्यो खुशी व्यक्त गरेका छन् । किशोरी छोरीहरुको मनमा खेल्ने भावना मात्रै होइन अहिलेका छोरीहरुको आधुनिक समयको चेतना समेत सिर्जनामा व्यक्त गरेर भिडियोमा उतार्ने प्रयास गरिको छ । फूलमाया र मनमाया नामका किशोरी चरित्र सिर्जना गरेर गीतमा उनीहरुले एक आपसमा आफ्नो बिवाह र भविष्यबारे गर्ने कुराकानीलाई संगीतको माध्यमबाट सो गीतको म्यूजिक भिडियोमा व्यक्त गरिएको छ ।

‘कुरा बुझ्न पर्च’ शिर्षक राखेर शिर्षकबाटै महिलाहरुले आफ्नो भविष्यवारे गन्थन मात्रै होइन आवश्यक कुरा पनि बुझ्न पर्छ भन्ने सन्देश दिन खोजिएको देखिन्छ । किशोरीहरु आफ्नो कल्पनामा रमाउँछन् र अलिअलि लज्जालु समेत हुन्छन् । यस्तो कुरालाई गीतका शब्दहरु यसरी देखाउँछन,

‘कस्तासँग हुनि होला हामीदुईको व्या ओई

सम्झिँदानी सर्म लाउँछ नजिस्काई न छ्या ओई ।’

आफ्नो जीवन साथीको पेशा जुनै होस् तर मान्छे लायक हुनुपर्ने आजका किशोरीहरुको इच्छा र चाहना हो । उनीहरुको यस्तो चाहनालाई गीतका शब्द यसरी पोखिन्छन,

‘डाक्टर,पाइलट,इञ्जिनियर,सुब्बा,नायक,गायक
जुन    पेशाको   भएपनि   हुनपरो   लायक ।’

त्यति मात्रै होइन घरमा सबै काम महिलाहरुले नै गर्नुपर्छ भन्ने भावना नेपाली समाजमा कुनै बेला थियो होला तर अहिले त्यस्तो सोचाई राखिँदैन र राख्न समेत हुँदैन भन्ने चेतना पनि गीतका शब्दबाट बाँडिएको छ  गीत भन्छ,

‘धन सम्पती हेर्नी होइन, हेर्नी होइन पिआर
बुढो उठोस् चिया पकाओस्, भनोस उठ डियर ।

धन सम्पती केही नभएपनि आफ्नो योग्यता र क्षमताले आफै पनि जोडी मिलेर संसार बनाउन सकिन्छ अनि जीवनसाथी जाँड रक्सी खाने नहुनुपर्ने तर कुनै त्यस्तो समयमा खानै परे जीवनसाथीलाई पनि सामेल गराओस् भन्ने समेत चाहना आजका युवतीहरुको रहेको कुरा गीतका शब्दमा उल्लेख छ ।

‘दुईजनाले जागिर खानी टक्क टेन टू फाइभ
बिहान बेल्का घरमा सँगै आनन्दको लाइफ ।
सकेसम्म श्रीमानले जाँड रक्सी नखाओस्
कहिलेकसो खानैपरे मलाई नि चखाओस् ।’

आफू कसैको सन्तान हुँदाहुँदै पनि आफूले भविष्यमा जन्माउने सन्तान र आफ्ना सासू ससुरा यस्ता भैदिए हुन्थ्यो भन्नेकुरा आजका होइन जहिलेकै किशोरीहरुले पनि आफ्नो मनोवादमा कल्पिने गर्छन् भन्ने कुरा गीतमा देखाइएको छ ।

‘पाँच वर्षको अन्तरालमा दुइटा सन्तान पाउनी
छोरा छोरी जे जन्मेनी बन्द गर्न आउनी । 
सरसल्लाले चल्न परो सानो सानो कुरा
बुहारी होइन छोरी भन्ने होउन् सासू ससुरा ।’

 

मानिसको जीन्दगीमा आ–आफ्ना कल्पनाहरु रहेका हुन्छन् । भनिन्छ नि, ‘नराम्रो साथी हुनुभन्दा साथी नै नहुनु राम्रो’ । आफ्नो जीवनमा अरु कसैले अधिकार जमाएको अहिलेको समयमा सुहाउने कुरा पनि होइन र त्यस्तो सोच पनि राम्रो होइन झन् । यदी कसैले कसैलाई कुनै पनि कुरामा जवर्जस्ती गर्छ भने लडेर पनि आफ्नो अधिकार लिन गीतका शब्दले सिकाउछन् ।

‘मेरो जीवन मेरो विचार, मेरै हुन्छ राइट
आफ्नो राइट पाउनलाई गर्नुपर्छ फाइट । 
बुढो हेप्नी पर्यो भने को सहन सक्छ
त्यो भन्दा त हेर मनमाया सिंगल लाइफ रक्स ।’

गीतको भिडियोमा कलाकारहरुको जीवन्त अभिनय रहेको छ । दृश्यमा आमाले बोलेको वार्तालाप ‘छोरीहरु आयौं बल्ल मलाई तीज आएजस्तो भयो’ले भिडियोको सुरुमै दर्शकरुलाई तीजमा पुर्याउँछ । त्यहाँ दृश्यमा देखाइने दिदीबहीनीको वार्तालापले मानिसको जीवनमा आएको उतार चढावलाई व्यक्त गर्छ । जस्तो ‘पढे लेखेको धन सम्पती भएको मात्रै भएर हुँदैन माया गर्ने मान्छे चाहिन्छ ।’ अनि ‘मायाले खान दिन्छ र ?’

भिडियोमा युवतीहरुले घाँस काट्न गएकी बुढीआमालाई सहयोग गरेको दृश्यले महिलाहरुको सहयोगी भावनालाई व्यक्त गर्छ भने पसलमा उभिएको केटाको पाइण्ट तल सार्ने दृश्यले युवतीहरुको चञ्चले स्वभाव चित्रित गर्छ । भिडियोको दृश्यमा देखाइने बिहान १० देखि बेलुका ५ बजेसम्म श्रीमान श्रीमतीले कार्यालयमा काम गर्न आउने जाने हुनुपर्ने कल्पनालाई दुइटी किशोरीहरु अथवा फूलमाया र मनमाया नै आफै श्रीमान र श्रीमती बनेको कुराले आधुनिक केटीहरुको मनोभावना व्यक्त गर्छ ।

'कुरा बुझ्न पर्च'को कभर तस्बिर
‘कुरा बुझ्न पर्च’को कभर तस्बिर

भिडियोमा बिवाह गर्न आएको केटाले अनुचित कुरा सोध्दा किशोरीले उसलाई दिएको चड्कनले आजका किशोरीलाई ठूलो आत्मबल प्रदान गर्छ । पुरुषवादी सोच र अहंकारलाई महिलाले प्रहार गर्नुपर्ने कुराको बलियो उदाहरण हुन सक्छ, भिडियोको दृश्यमा देखाएको त्यो चड्कन् । अर्को दृश्यमा दिदीलाई उनको घरमा पठाउन जाँदा उनका भिनाजुले देखाएको सामन्ती व्यवहारलाई आजकी युवतीले सिकाएको सबकलाई एक आधुनिक सोच भन्न सकिन्छ । भिडियोको दृश्यमा देखाइने बवार्तालाप ‘जसले अन्याय गर्छ ड्याङकी ड्यायाङ दिने हो तर माया गर्ने प्रेमीलाई चाहिँ माया नै दिने हो’ले महिलाका दुइटै रुपलाई इंगित गर्छ ।

‘कुरा बुझ्न पर्च’ गीतको शब्द र संगीत सिर्जना प्रकाश सपुतको रहेको छ भने कृष्ण विक ‘भान्जा’ले संगीत संयोजन गरेका छन् । गीतमा संजीव मैनालीले बाँसुरी, सरोज विष्टले गिटार बजाएका छन् । हेमन्त कान्छा रसाइलीले सारंगी र मेघराज लुङ्गेलीले रिदम गरेका छन् । शान्तिश्री परियार र समिक्षा अधिकारीको सुमधुर आवाजमा सजिएको सो गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका छन् ।

गीतलाई भिडियोको अवधारणामा हाल्ने र निर्देशन गर्ने काम सपुत आफैले गरेका हुन् भने नृत्य निर्देशन विवेक खड्काले सम्पन्न गरेका छन् । नायिकाद्वय स्वस्तिमा खड्का र आञ्चल शर्मा साथै लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत, सुनिल विक लगायतका कलाकारहरुले भिडियोमा नृत्य तथा अभिनय गरेका छन् ।

गीत
ए फूलमाया यता आइजा एउटा कुरा सुन्तो
यति राम्रो जोवन लान को आउने हो कुन्तो 
कस्तासँग हुनि होला हामी दुईको व्या ओई
सम्झिँदानी सर्म लाउँछ नजिस्काई न छ्या ओई 

कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च ओई, कुरा बुझ्न पर्च
जस्ले माया गर्छ उसलाई जोवन खर्छ  ।

डाक्टर, पाइलट, इञ्जिनियर, सुब्बा, नायक, गायक
जुन पेशाको भएपनि हुनपरो लायक 
धनसम्पती हेर्नी होइन, हेर्नी होइन पिआर
बुढो उठोस् चिया पकाओस् भनोस उठ डियर 

कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च ओई, कुरा बुझ्न पर्च
जस्ले माया गर्छ उसलाई जोवन खर्छ

दुईजनाले जागिर खानी टक्क टेन टू फाइभ
बिहान बेल्का घरमा सँगै आनन्दको लाइफ
सकेसम्म श्रीमानले जाँड रक्सी नखाओस्
कहिले कसो खानैपरे मलाई नि चखाओस् 

कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च ओई, कुरा बुझ्न पर्च
जस्ले माया गर्छ उसलाई जोवन खर्छ  ।

पाँच वर्षको अन्तरालमा दुइटा सन्तान पाउने
छोरा छोरी जे जन्मेनी बन्द गर्न आउनी 
सरसल्लाले चल्न परो सानो सानो कुरा
बुहारी होइन छोरी भन्ने होउन् सासू ससुरा 

कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च ओई, कुरा बुझ्न पर्च
जस्ले माया गर्छ उसलाई जोवन खर्छ  ।

मेरो जीवन मेरो विचार, मेरै हुन्छ राइट
आफ्नो राइट पाउनलाई गर्नुपर्छ फाइट 
बुढो हेप्नी पर्यो भने को सहन सक्छ
त्यो भन्दा त हेर मनमाया सिंगल लाइफ रक्स 

कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च ओई, कुरा बुझ्न पर्च
जस्ले माया गर्छ उसलाई जोवन खर्छ  ।  

हेरौं भिडियो ⇓