• आश्विन १३ २०८१, आईतवार

सामान्य काम तर असामान्य योगदान

श्रावण २१ २०७८, बिहीबार

१. सार्वजनिक सभा, समारोहमा मन्त्री र सचिवहरुले औपचारिकताको नाममा घण्टौंसम्म समय बर्बाद गरेर सरकारी कामलाई पन्छाउनु भएन । यो राष्ट्र सेवकहरुको कर्तव्य होइन ।

२. कार्यशाला, गोष्ठीहरुमा भाग लिने हो भने र त्यहाँबाट केही सिक्ने हो भने सहभागीहरुले आफ्नो मोबाइल चालु गरेर यान्त्रिक उत्तालोपनको प्रदर्शन गर्नु भएन । यो सहभागीहरुको कर्तव्य होइन ।

३. यदि तपाईले आफ्नो कार्यालयमा साप्ताहिक पत्रिका पढेर राज्य र अरुलाई मात्र आलोचना गरिरहनु भएकोछ भने एकछिन आफूले आफैलाई सोच्नुहोस् त आज तपाईले आफ्नो गर्नुपर्ने काम कति गर्नु भएको छ ? के तपाईले आजको तलव पाक्ने गरी तपाईको काम गर्नु भएको छ ?

४. चर्पीको सफाइ सभ्याताको सूचक हो । सकेसम्म सरकारी कार्यालयहरुमा त चर्पी सफा राख्ने अभियान सुरु गरौं । के यो विभागीय प्रमुख र कर्मचारीहरुको कर्तव्य होइन ।

५. ठूलाठूला हाकिमहरु राज्यको पैसा खर्च गरी समय समयमा विदेश भ्रमण जाने गर्दछन् । एकचोटी तपाई सोच्नुस्, आफूले गरेको विदेश भ्रमणबाट यो देशका लागि तपाईले के प्रविधिगत वा ठोस योगदान ल्याउनु भएको छ ।

६. व्यक्तिगत स्वार्थका लागि कार्यालयमा तालाबन्द गरी प्रशासनलाई ठप्प गर्नु भएन । वार्ता र सम्झौताबाबट समस्यालाई सुल्झाउनु कर्मचारीको कर्तव्य हो ।

७. नेता मन्त्री भएपछि कार्यकर्ताहरु मन्त्रालयमा आउने गर्दछन् । भोट लिएर नेता भै मन्त्री बनिसकेपछि कार्यकर्ताहरुमाथि हेलच्याक्राइ पनि गर्नुभएन । तसर्थ, समय व्यवस्थापन गरी एक घण्टा समय आफ्ना कार्यकर्तालाई दिएर अरु समय राष्ट्रका निमित्त मन्त्रीस्तरीय काममा लगाउने पो हो कि ?

८. कहिलेकाहिं हामी भनसुन, चाकरी गरेर र राजनीतिक दबाब लगाएर हाकिम बन्न खोज्छौं । तर निर्णय गर्ने बेलामा आँत सुकाएर या त तल्लोस्तरबाट निर्णय गराउँछौं होइन भने फाइल नै माथि पुर्याएर आफू बच्ने काम गर्छौं । हाकिम बन्ने हो भने हाकिमको काम पूरा गर्नुपर्छ ।

९. राज्य भनेको वास्तवमा हामी नै हौं । प्रहरी प्रशासन भनेको पनि हामी नै हौं । राज्यलाई मात्र गाली गरेर समस्या सुल्झिदैन । यदि सानाभन्दा साना ठानिएका कर्तव्यहरु पलना गर्न सक्यौ भने हामीले समाजलाई धेरै व्यवस्थित बनाउन सक्छौं । उदाहरणका लागि एउटा हलुवाइले शुद्ध रोटी मात्र बेचिदियो भने, पसलेले ग्राहकलाई ठगिदिएन भने, व्यापारीले फूटपाथ अतिक्रमण गरिदिएन भने, एक छिमेकीले अर्को छिमेकीको पीरमर्का बुझिदियो भने, कुचीकारले समयमा सडक सफा गरिदियो भने, पाइलटले समयमा प्लेन उडाइदियो भने, उमेदवारले चुनावताका भित्तामा टाँसेको पोष्टर उठाइदियो भने, कर्मचारी निर्णय समयभित्रै लिइदियो भने, पत्रकारले अन्तरआत्माले देखेको कुरा मात्र लेख्यो भने, व्यापारीले कर्मचारीलाई र कर्मचारीले मन्त्रीलाई लोभमा फसाइदिएन भने, मन्त्रीले गर्नुपर्ने निर्णय गरिदियो भने, डाक्टर नर्स खटाएको ठाउँमा गए भने, प्रहरीले कानुन तोड्नेलाई मात्र सजाय दियो भने, दोषीलाई वकिलले दोषी नै भनी वकालत गरिदियो भने, अपराधीलाई नेताले प्रश्रय नदिने हो भने, नेता तथा कार्यकर्ता दलीय स्वार्थभन्दा माथि उठिदिए भने र सबैले राष्ट्र र माटोको बारेमा सोचिदिने हो भने सिंगो देशको समस्या क्षणक्षणमा सुल्झिइरहेको हुन्छ ।

(कर्ण शाक्यको अमूल्य कृति खोज, निरन्तर प्रयास र प्रक्रियाबाट साभार, पेज ३०७–३०८, प्रथम संस्करण, २०७४ श्रावण)