मेलम्चीको शीरमा गएको डरलाग्दो पहिरोको कारण काठमाडौंमा भर्खरैमात्र सञ्चालनमा आएको मेलम्चीको पानीको समस्या गहिरिएर गएको छ । नदीमा आएको लेदोसहितको बाढीले मेलम्ची खानेपानी सुरुङको मुहानमा ढुंगा, माटो, बालुवा तथा कंक्रिट र मूढा थुपारिदिएपछि पानीको सतह पनि देखिन छाडेको छ ।
लेदोसहितको भेलले नदी सतह कटान गरी खानेपानी सुरुङको मुहानको सतहभन्दा निकै तल पुर्याएको छ । त्यही कटान गरिएको सतहमाथि हप्तैपिच्छे थपिने बाढीले पानी नै नदेखिने गरी माटो, बालुवा र पत्थर थोपरिदिएको छ । यो माटो, बालुवा र ढुंगामूढा वर्षमा एक पटक सफा गरेर मात्र हुने अवस्था पनि छैन ।
सानोतिनो लगानी र औजारले सोहर्न र सफागर्न सकिनेजस्तो पनि छैन । सफा गरेर केही समयसम्म खान सकिने संभावना पनि कमै छ । तर ल्याइने पानीबाट आउने लेदो र यसले पुर्याउने क्षतिको भने कल्पना गरेर साध्य छैन ।
सुरुङभित्र लेदो फोहर सोहर्न र त्यसको व्यवस्थापन गर्न निकै गाह्रो छ । अर्कोतिर यस्तो लेदो बोकेर बग्ने पानी खानका लागि उत्तम हुन सक्छ वा सक्दैन त्यो पनि सोचनीय बनेको छ ।
अहिले सबैभन्दा ठूलो क्षति हेडवक्र्समा पु¥याएको छ । यो वर्षायामको अन्त्य हुन त कुर्नै पर्छ । तर वर्षायाम सिद्धिएपछि निरन्तर सरसफाइ र पुनर्निमाणमा लाग्यौं भने पनि अबको ५-६ महिना पछि आउँदो हिउँदको माघ–फागुनमा मात्र संभावना हुन सक्ने देखिन्छ ।
ढुंगामूढा, कंक्रिट, माटो, बालुवा त अझ थुप्रने क्रम जारी नै छ । त्यसमा पनि अबका दिनमा निरन्तर बगिरहने लेदोसहितको भेलले यो समस्या र अनिस्चिततालाई कति लम्ब्याउने हो, त्यो भने आँकलन गर्न निकै गाह्रो हुने भएको छ ।
मेलम्चीमा कार्यरत कर्मचारी पनि संभावना निकै न्यून रहेको कुरा खुलेरै स्वीकार गर्ने गरिरहेका छन् । मेलम्चीमा आउने भेलबाढीजन्य समस्याको निदान र निराकरणका लागि अस्थायी, सापेक्ष स्थायी र वैकल्पिक विकल्पको लेखाजोखा गरिरहेका उनीहरु अबका दिनमा मेलम्चीको पानी काठमाडौंका लागि ‘दीर्घरोग’ हुन जाने त होइन भन्ने आशंका गरिरहेका छन् ।
कामको थालनी अहिले नै गरिहालौं भने पनि मौसमको साथ, औजारको उपलब्धता, काम गर्ने टिम तथा सरकार तथा मेलम्ची समितिले बनाइहाल्ने कार्यक्रममा यी सबै कुरा निर्भर गर्दछन् । तत्काल आयोजना स्थलमा गएर काम गर्न नसकिने देखिएपछि सरकार नै आयोजनाको भविष्य अन्यौलपूर्ण देख्न थालिसकेको छ ।
नेपालको भौगोलिक बनोटका हिसाबले मेलम्ची खानेपानीको मुहान तल्लो तटीय इलामा पर्छ । हाल यो मुहान मेलम्ची नदीको उपल्लो तटीय इलाकामा गएको विसाल पहिरो र त्यसबाट बगिरहेको भेलका कारण पुरिन र भासिन पुगेको छ ।
ढिलो पनि भयो, अबेर पनि ।
तर मेलम्चीको तल्लो तथा माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययनका लागि मेलम्ची आयोजनाको समितिले जसरी सोचेको छ, यसले थप जोखिमका लागि तयारी गर्न सहयोग पुर्याउने छ ।
२१ वर्षदेखिको निरन्तर प्रयासपछि बल्लतल्ल काठमाडौं पसेको मेलम्ची खानेपानी अबका दिनमा अनिस्चित भविष्यको घेराभित्र पर्न पुगेको छ । अबका दिनमा अहिलेको जस्तो अस्थायी बाँध बाँधेर मेलम्चीको पानी सिधै सुरुङमा हाल्न र काठमाडौं ल्याउन सकिने अवस्था छैन ।
यसलाई आजकै कमजोर अवस्थामा राखियो भने सिंगो सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम बढेर गएको छ ।