काठमाडौं । सन् २०१८ को विश्वकप फुटबल खेलमा पहिले नपत्याइएको देश क्रोयसियाको टिम प्रयोयोगिताको फाइनलमा पुग्यो । देशको टिम विश्वकपको फाइनलमा पुग्नु २८ वर्ष पहिले मात्रै स्वतन्त्र भएको देश क्रोयसियाको लागि एक गौरवको क्षण थियो ।
सन् १९९१ जुन २५ का दिन युगोस्लाभियाबाट स्वतन्त्र भएको देशले विकासको अरु पहलुहरुसँगै फुटबल खेलमा गरेको त्यो प्रगति चानचुने थिएन । ३० वर्ष पहिले मात्रै स्वतन्त्र भएको क्रोयसिया आफूलाई अधीनमा राख्ने युगोस्लाभियाभन्दा विकासमा धेरै अगाडी बढिसकेको छ । सन् २०१८ को फिफा विश्वकप फूटबल प्रतियोगितामा आफ्नो देशको फूटबल टिम फाइनलमा पुगेसँगै पूरै क्रोयसियाभरि खुसीको सञ्चार फैलिएको थियो । फाइनलमा उसलाई फ्रान्सको सामना गर्नु थियो ।
टिमलाई फाइनलमा पुर्याएसँगै क्रोयसियाका टिम कप्तान लुका मेड्रिकको चर्चा संसारभर चुलिएको थियो । यतिमात्रै होइन, कप्तान लुका मेड्रिकले सो विश्वकपमा व्यक्तिगत रुपमा पनि कुनै न कुनै ट्रफी जित्छन् भन्ने मानिसहरुले आँकलन गरेका थिए ।
आफ्नो देशको फूटबल टिम फाइनलमा पुगेपछिको खुसियाली मनाउन तथा आफ्नो देशका खेलाडीहरुलाई थप हौसला थप्न देशकी तत्कालिन राष्ट्रपति कोलिण्डा ग्राभर किटारोभिक (Kolinda Gravar Kitarovic) विश्वकप भइरहेको रुसको मस्को सहर पुगिन् । आफ्नो देशको टिमलाई हौसला दिन राष्ट्रपति किटारोभिक रंगशालाको दर्शकले खेल हेर्ने स्थानमै गएर आफ्ना खेलाडीहरुलाई हौसला दिइन् ।
विश्वकपको खेलले त मानिसहरुको ध्यान आकर्षण गर्थ्यो नै । तर खेलसँगै राष्ट्रपतिको उपस्थितिले पनि मानिसहरुको ध्यान खिच्यो । खेल सकिएपछिको समारोहमा त राष्ट्रपति किटारोभिक नै मुख्य आकर्षणको केन्द्र नै बनिन् ।
विश्वकपको पुरस्कार वितरण समारोहमा राष्ट्रपति कोलिण्डा ग्राभर किटारोभिकले आफ्ना देशका खेलाडीहरुप्रति प्रदर्शन गरेको ममता र स्नेहको अत्यन्तै चर्चा भयो । टिम प्रमुख लुका मेड्रिकको उत्कृष्ट प्रदर्शनका लागि गोल्डेन बल दिने जब उद्घोष भयो, तब लुकाको भन्दा क्रोयसियाकी राष्ट्रपतिको अनुहार उज्यालो बनेर चम्कियो ।
निकै हँसिलो पारामा राष्ट्रपतिले गोल्डेन बल बिजेता क्याप्टेन लुका मेड्रिकलाई अँगालो मारेको दुर्लभ दृश्य संसारका सबै सञ्चार माध्यमले प्रकाशमा ल्याए । विश्वको एक सर्भेक्षणले क्रोयसियाकी ती राष्ट्रपतिलाई संसारकै सबैभन्दा बढी हँसिली राष्ट्रपतिको रुपमा अगाडि ल्यायो ।
कहाँ छ त यो देश ?
अब तपाईमा जिज्ञाशा आइसक्यो होला कि यो देश कहाँ रहेछ त ? यो दक्षिण–पूर्वी युरोपमा अवस्थित एक अत्यन्तै सुन्दर देश हो । दक्षिण–पूर्वी युरोपमा यस देशको वरिपरि समुन्द्र बाहेक हंगेरी, सर्बिया, बोस्निया तथा हर्जगोभिना, मोण्टेनेग्रो, स्लोभेनिया आदि देशहरु रहेका छन् ।
यस देशका ५८ प्रतिशत मानिस सहरमा बसोबास गर्छन भने बाँकी ४२ प्रतिशत मानिस मात्र गाउँमा बस्ने गर्छन् । क्षेत्रफलको आधारमा यो संसारमा १२७ औं ठुलो देश हो भने जनसंख्याको आधारमा १३०औं ठुलो देशको रुपमा चिनिन्छ ।
४० लाख ७८ हजारभन्दा बढी जनसंख्या रहेको क्रोयसिया ५६,५९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । ७८ वर्षभन्दा माथि यहाँका नागरिकको औशत आयु रहेको बताइन्छ । बाक्लो जनसंख्या भएकाले यहाँ प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा ७३ जना मानिस बसोबास गरिरहेको विभिन्न तथ्याङ्गले देखाउँछन् ।
३० वर्ष पहिले मात्रै स्वतन्त्र भएको अचम्मको देश
३० वर्षभन्दा पहिले यो देशमा युगोस्लाभिया भन्ने देशको अधिपत्य थियो । सन् १९९१ जुन २५ का दिन मात्रै युगोस्लाभियाबाट यो देश स्वतन्त्र भएको हो । आफू पराइको अधीनबाट स्वतन्त्र भएदेखि यो देशले द्रुत गतिमा विकास गरिरहेको छ ।
यो देशमा अचम्म अचम्मका मानिस बसोबास गर्छन् । यहाँ कोही मानिस १४ घण्टासम्म लगातार काम गर्छन् भने कोही खानेपिने बाहेकको समय केवल घडी हेरेर मात्र बिताउने समेत् गर्दछन् । जसले जे गरेपनि यहाँका मानिसहरु पिठ्यु पछाडि एक अर्काको कुरा काट्ने काम भने गर्दैनन् ।
संसारको सबैभन्दा सानो सहर पनि यै देशमा रहेको छ जसको नाम ‘हम’ सहर हो । यो सुविधासम्पन्न सहरमा केवल ३० जना मानिस मात्रै बसोबास गर्दछन् । यो देशमा एक हजार २ सय बढी टापुहरु रहेका छन् । तर यहाँका ४८ वटा टापूमा मात्रै मानिसको बसोबास रहेको छ । संसारमा मानिसले लेख्ने कलमको आविस्कार पनि यै देशमा भएको थियो ।