• मंसिर १२ २०८१, बुधबार

निफको पाँचौं संस्करणको अवार्डका लागि आवेदन खुल्ला

श्रावण १८ २०७८, सोमबार

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । यही साउन १७ गते आइतबार भएको उक्त कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार तथा नेपालले जितेको एउटा अन्तराष्ट्रिय पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहालले वियजी चलचित्र तथा चलचित्रकर्मीलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

नेपाली फिचर फिल्म प्रतियोगिता अन्तर्गत बेस्ट फिचर फिल्म अवार्ड ‘आमा खाँन्डो’ले नगद पुरस्कार एकलाख सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै वेष्ट पेन्डेमिक फिल्म अन्तराष्ट्रिय प्रतिष्पर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’को लागि गणेश पाण्डेले नगद पचास हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यसैगरी नेपाली सर्ट फिल्म प्रतियोगिता अन्तर्गत राजेशप्रसाद खत्रीको अ स्केयरक्रोले बेस्ट सर्ट फिल्म अवार्ड नगद पचास हजार र ट्रफी प्राप्त गरेको छ ।

पुरस्कार वितरण कार्यक्रममा वेष्ट सिनेमाटोग्राफि नेशनल फिचर फिल्म – शिरिस गुरुङ (लाटो कोसेरो), वेष्ट स्क्रिन प्ले नेशलन फिचर फिल्ममा–सेर्गियो बासो ९ सरिता (टेल मि हु एम आई), वेष्ट एक्ट्रेस नेशनल फिचर फिल्ममा सरिता गिरी (लाटो कोसेरो), वेष्ट एक्टर नेशनल फिचर फिल्ममा नविन सिल्पकार (लाटो कोसेरो)ले ट्रफी तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

अवार्ड वितरण कार्यक्रमा बोल्दै प्रमुख अतिथि दहालले कोरोनाको कारण नेपाली चलचित्र गम्भिर अवस्था रहेको भन्दै यस क्षेत्र पुनः स्थापित गर्न सम्पूर्ण रुपले आफू लागि परेको बताए । उनले नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव नेपालको एकमात्र प्रतिनिधिमूलक अन्तराष्ट्रिय अवार्ड भएकोले सबै नेपाली चलचित्रकर्मी साथ दिनुपर्ने बताए ।

त्यस्तै कार्यक्रम निफका संयोजक केपी पाठकले चौंथो संस्करण विजयी चलचित्रकर्मीहरुलाई बधाई दिए ।
‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आयोजना हुँदै आएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करणको आवेदन खुल्ला गरिएको औपचारिक रुपमा घोषणा पनि आजै गरिएको छ ।  www.niff.org.np or filmfreeway.com/niff2022 बाट गत असार १७ (जुलाई १, २०२१) गतेदेखि नै आवेदन खुल्ला गरिएको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रकर्मीहरुले २०७८ पौष १० (डिसेम्बेर २५, २०२१) गतेसम्म आफ्ना चलचित्र तथा वृत्तचित्र आवेदन दिन सक्नेछन् । त्यस्तै २०७८ माघ ११ ९जनवरी २५, २०२२० गतेमा छनौट भएका चलचित्रहरुको घोषणा गरिनेछ । निफको पाँचौ संस्करण २०७८ चैत्र १० देखि १४ (२०२२ मार्च १०देखि १४ मार्च) गतेसम्म हुनेछ ।

निफको चौथो संस्करणको सफल आयोजनाको लागि आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्ने सम्पूर्ण संघ–संस्था, विज्ञापनदाता, प्रायोजक, सहप्रायोजक सञ्चारमाध्यमहरुप्रति हार्दिक आभार व्यक्त गर्दै यस प्रतिष्ठानका आगामी कार्यक्रमहरुमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा निफ निफ आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले राखेको छ ।