‘गुर्धौली फूलले बाटो छेकेको
मलाई सम्झि नरुनु आमा
यो बाला बैंसमा मर्न लेखेको
मलाई यो बालो बैंसमा मर्न लेखेको ।’
निकै भावुक लाग्ने यी शब्दहरु दीलु सलामी मगर र शिला आलेद्धारा भर्खरै बजारमा ल्याइएको तीज गीतमा रहेका छन् । अरु चाड जस्तै तीजपनि नेपाली हिन्दू महिलाहरुका लागि महत्वपूर्ण चाड मानिन्छ । हरेक वर्ष भाद्रमा आउने यो चाडले नेपाली मौलिकताको संस्कृति, नेपाली कला र परम्पराको उजागर गर्दै आएको छ ।
परम्परागत तीज गीतमा प्रायः नेपाली महिलाले भोग्दै र व्यहोर्दै आएका पीडाहरुलाई गीतरुपी सांगितीक मालामा उनेर समाजमा प्रस्तुत गर्दै आइएको छ । पूर्वकालमा महिलालेमात्र मनाउँदै आइएको भएपनि हाल आएर यो चाड पुरुषको पनि बनेको छ । दुःख पीडा बिर्सेर रमाइलो गर्ने र साथीसंगीहरुलाई सम्झिने र भए र सकेसम्म मिठोमसिनो बनाएर खाने पर्वकोरुपमा यसलाई लिइन्छ ।
यसैबीच चर्चित कलाकार दीलु सलामीमगर र शीला आलेमगरले तीज गीत ‘यो बाला बैंसमा मर्न लेखेको’ बजारमा ल्याएका छन् । गीतको लय परम्परागत हुनुको नाताले सबैको मन तानेको छ भने बाजाहरुको उचित समायोजनले पनि गीत निकै राम्रो ठानिएको छ ।
उत्कृष्ट नृत्यले पनि गीतको समग्रतालाई देखाएको छ । मगर समुदायका कलाकारहरुको अधिक सहभागिताले पनि यो गीतलाई सामुदायीक बनाएको अनुमान गर्न सकिन्छ । नेपालका जनजातिहरु कला र गायनको क्षेत्रमा निकै नै अघि रहेकाले पनि यो कुराको पुष्टी भएको छ ।
यसबाट यो समुदायमा साँस्कृतिक स्वतन्त्रता रहेको कुरा यसबाट पनि नियाल्न सकिन्छ । उनीहरुको यो क्षेत्रमा लामो समयदेखिको लगावले पनि उनीहरुलाई यस क्षेत्रमा अगुवाकोरुपमा चिनाएको छ ।
यो गीतले दीलु र शीलाको कलकारीता क्षेत्रलाई अझ उचाई प्रदान गरोस्, शुभकामना ।