• मंसिर ११ २०८१, मंगलवार

महामारीबाट तङ्ग्रिँदै पोखरा

श्रावण १७ २०७८, आईतवार

काठमाडौं । नेपालको सुन्दर पर्यटकीय नगरी पोखरा झण्डै दुई वर्षयता कोरोना महामारी संक्रमणका कारण थलिएर बसेको थियो । आफैमा थङथिलो भएर बसेको पोखरा स्थानीय गतिविधिबाहेक अरु थप गर्न सक्ने अवस्थामा पनि थिएन ।

‘ह्याण्ड टु माउथ’ मा दिन काटिरहेको यो पर्यटकीय नगरी पछिल्ला दिनहरुमा केही उठिबस्ने अवस्थामा छ । उसलाई बैसाखीको आवश्यकता छ । बैसाखी पनि स्वास्थ्य बैसाखी ! अर्थात्, महामकारी विरुद्धको जम्मा पाँच हजार खोप !

अझै पनि व्यवसाय ठप्प छ । मजदूर बेरोजगार छन् । हात खाली छ । पेट भोको छ । सारङकोटमा प्याराग्लाइडिङ उडाउने पेटहरु ‘सारङ्गी’ जस्ता भएका छन् ।

गत वर्ष कोरोना महामारीको पहिलो लहर पचाएर ‘थिरेथिरे’ गरिरहेको पाखरेली व्यवसाय फेरि दोस्रो लहर आउँदा पुनः ओछ्यान परेको थियो । त्यसपछिका केही महिनामा खोपको चर्चा भयो ।

महिना त धेरै बिते पनि । बल्ल खोप आयो । दोस्रो लहरकै बीचमा खोप सुरु भयो । उमेर र रोगीको वर्गीकरणका आधारमा खोप लगाउन थालियो । समय बित्दै गयो । खोपले ब्यापकता पाउन सकेन । अझैं पनि पर्यटकीय नगरी पोखराले संक्रमणमा सुधार ल्याउन खोपको माग गर्दै बाटो कुरेर बस्नु परिरहेको छ ।

यसको अर्थ पोखराले केही पनि गरिरहेको छैन भन्ने त होइन । फेरि पनि नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक पर्यटनलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाइरहेको छ । ‘मर्दी हिमाल पदयात्रा’देखि ‘धम्पुस पिक आरोहण’, ‘ढोरपाटनदेखि नवलपुर’सम्मका पर्यटनसँग सम्बन्धित कार्यक्रम सम्पन्न भएका पनि हुन् । तर पछि त यी पनि हराए क्या रे ! सुनसान पो छ त अहिले !

पर्यटनलाई पुनःचलायमान बनाउन पोखराले पर्यटन व्यवसायीकेन्द्रित खोप अभियाननको माग गरेको छ । स्थानीय, प्रदेश तथा संघीय तहसम्म लबिङ भैरहेको छ । भेटघाट भैरहेको छ– पालिका अध्यक्षदेखि मन्त्रीस्तरसम्म ।

पहिलो कुरा त खोप उपलब्ध गराइदिए हुने थियो । यसले पोखरामा नयाँ माहौल सिर्जना गर्ने वातावरण बनाउन सहयोग गर्ने थियो । पहिलो चरणमा होटल तथा रेष्टुरेन्टसहितका मजदूर एवम् व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्ध खोप दिन सकिएमा त्यो उत्साहपूर्ण पहल हुने थियो ।

यसले आधारभूत तयारी र ढुक्कतामा ठूलो बल दिने थियो । अबको पोखरा पुरानै पोखरा बनाएर उँभो लाग्ने देखिदैन । यसका लागि लगानीका नयाँ संभावना खोज्नु-खोजिनु जरुरी हुन गएको छ । पोखराको पर्यटनमा सम्भावना देखेर नै लगानीका लागि हात बढाएका व्यवसायीलाई साथ दिनु जरुरी छ ।

तेस्रो लहर रोक्नका लागि खोपको बिस्तार गर्न सके पोखरा यतिबेल थिरेथिरे गर्न सक्ने अवस्थामा छ । यसका आफ्ना आशाका नजर फेरि पनि माछापुछ्रेका चुचुरातर्फ आकाशिदै गएका छन् । राराको गहिराइतर्फ ताकत लगाउने चाहना बढ्दै गएका छन् । सहारा चाहियो । सहायता चाहियो । पहिलो कुरा त खोप नै चाहियो ।