• मंसिर १२ २०८१, बुधबार

सारदा धितालको तीजगीत ‘सिंगापूरे साडी’ बजारमा

श्रावण १६ २०७८, शनिबार

काठमाडौँ । हरेक वर्ष साउनको महिना लाग्दा नलाग्दै नेपालमा तीजको रौनक सुरु भइहाल्छ । यथार्थ रुपमा तीज आउने समय छिट्टो होस् या चाँडो होस् असार जाने बित्तिकै कलाकर्मीहरुलाई तीजको रौनकले अलि बढी समात्छ । खासगरी गीत संगीतकर्मीहरु तीजको समयमा गीतहरु सार्वजनिक गर्न हतारो गरिरहेका हुन्छन् ।

हुन त हरितालिका तीज महिलाहरुको पर्व हो तर पनि संगीतक्षेत्रका पुरुषहरु समेतलाई तीजको रौनकले उत्तिकै रुपमा छुन्छ । जमिनमा तीज आउन अझै पनि एक महिनाभन्दा पनि बढी समय बाँकी रहेको छ तर डिजिटल साधनहरुमा र सामाजिक संजालहरुमा भने एक महिना पहिलेदेखि नै तीज आइसकेको छ । संगीतकर्मीहरु धामधम तीजका गीतहरु सिर्जना गरेर सार्वजनिक गरिरहेका छन् । कलाकारहरु र सामाजिक संजालहरुलाई तीज लागिसकेको छ ।

तीजका गीतहरु सार्वजनिक गर्ने मेसोमा गायिका सारदा धितालको तीजगीत ‘सिंगापुरे साडी’ सार्वजनिक भएको छ । धितालको स्वरमा सजिएको सो गीतको सिर्जना प्रवल विष्टले गरेका छन् । सन्तोष श्रेष्ठले संगीत सिर्जना गरेको उक्त गीतको भिडियो बनाएर सामाजिक संजाल युटुवमा सार्वजनिक गरिएको हो ।

‘सिंगापुरे सारी यूरोपको डलर लाउने बरिलै हुने हो चिट्टिक जीन्दगी के छ र, माइतीको आँगनीमा भएर जम्मा आऊ नाचौँ संगिनी छम्म छम्म छम्म ।’ भन्दै गाइएको गीतमा कम्मर मर्काई मर्काई नाच्ने काम गरेकी छिन् चर्चित मोडल करिश्मा ढकालले । ढकालसँग अरु धेरै दिदीबहिनीहरुले कोरस नृत्य दिएको सो गीतको भिडियोमा गायिका धिताल समेतको अभिनय रहेको छ ।

नृत्य तथा अभिनयहरुको दृश्यहरुलाई श्रेयस श्रेष्ठले क्यामरामा कैद गरेका छन् भने भिडियोको सम्पादन प्रकाश धमलाको रहेको छ । गुरुआमा फिल्मसले पोष्ट प्रोडक्शन गरेको सो भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले नृत्य निर्देशन तथा निर्देशन गरेकी छिन् ।

हेरौं भिडियो ⇓