• मंसिर ११ २०८१, मंगलवार

आधिकारिकता गुमाएको महन्थ–राजेन्द्र पक्षको जसपामा विराम

श्रावण १२ २०७८, मंगलवार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पाटी (जसपा) आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष पार्टीविहीन भएको छ ।

हिजो (सोमबार) निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र पक्षलाई जसपाको आधिकारिकता दिएपछि महन्थ पक्ष दोधारमा परेको छ । यद्यपि आयोगले पार्टी आधारिकता उपेन्द्र पक्षलाई दिए पनि महन्थ पक्षले नयाँ पार्टी खोल्ने या जसपाभित्रै रहने विकल्प भने खुल्ला गरिदिएको छ । उप्रान्त नयाँ पार्टी खोल्ने या उपेन्द्र पक्षसँगै मिलेर जाने भन्ने सन्दर्भमा छलफल भैरहेको महन्थनिकट नेताहरूले बताएका छन् । यसबारे सामान्य छलफल भए पनि आधिकारिक छलफल भने नभएको बताइएको छ ।

नयाँ दल दर्ता गरे पनि महन्थको पक्षमा लाग्ने सांसद कानुनी रूपमा पदमुक्त हुनेछन् । किनकि राजनीतिक दलसम्बन्धी ऐनमा दल त्याग गरेको सूचना दिनासाथ पदमुक्त हुने व्यवस्था गरिएको छ । संविधान तथा कानुनीविदका अनुसार जसपामै रहेको खण्डमा सांसद पद जोगिने छ तर, नयाँ दल दर्ता गरि सोही दलमा आवद्ध भए स्वतः पद खारेज हुनेछ । सकभर सांसद पद जोगाउने नै हो भने जसपाबाट बाहिरिनु हुँदैन । प्रतिनिधि सभा र केन्द्रीय कार्यकारिणी समितिमा ४० प्रतिशत संख्या पुर्याएमा मात्र ठाकुर पक्षले आफ्ना सांसद जोगाउन सक्छन् । अन्यथा नयाँ दल दर्ता गरेमा उनका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको पद गुम्नेछ ।

यद्यपि आयोगको जसपा आधिकारिकताको निर्णय पश्चात महन्थ पक्षले नयाँ पार्टी खोल्ने या नखोल्ने भन्ने सन्दर्भमा कुनै निर्णय गरेको छैन । आयोगको निर्णयमाथी सर्वोच्च अदालतमा जाने वा जसपामै रहने भन्ने निर्णय पनि नगरेको महन्थ पक्षले बताएको छ । तर, हिजो (सोमबार) साँझ जसपा अध्यक्ष यादवले पार्टीको आधिकारिकता ग्रहण गर्दै भने, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी निर्णयलाई सहयोग गरेकोमा आत्मालोचना गरे महन्थ पक्षलाई पार्टीमा स्थान दिइने छ ।

यद्यपि महन्थ पक्षले आत्मालोचना गरेर जसपामै रहेमा अध्यक्ष उपेन्द्र यादवको अधिनमा रहनुपर्ने हुन्छ । अर्थात् दोस्रो वरियतामा बस्नुपर्ने हुनसक्छ । किनकि प्रतिनिधि सभा सदस्य र पार्टीको कार्यकारिणी सदस्य संख्या अधिक मात्रामा उनकै पक्षमा छ । र, निर्वाचन आयोगले पार्टी आधिकारिकता पनि उनलाई नै प्रदान गरेको छ । त्यस्तै अध्यक्ष महन्थ ठाकुर–वरिष्ठ नेता राजेन्द्र महतोकै कारण पार्टी विभाजन भएको अर्का अध्यक्ष उपेन्द्र यादव–संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको निष्कर्ष छ । हिजो उपेन्द्रले तत्कालीन प्रधानमन्त्री ओलीको कदमलाई समर्थन गरेकोमा भुल सुधार गरी आत्मालोचना गरे महन्थ–राजेन्द्र पक्षलाई जसपामै स्वागत गर्ने बताएका हुन् ।

उता महन्थ ठाकुर पक्षले तत्काल नयाँ पार्टी खोल्ने तयारी नभएको बताएको छ । ‘हामी विगत लामो समयदेखि जसपामै रहँदै आएका छौँ । जसपाबाट बाहिरिने भन्ने हुँदैन । यसका लागि हामी सरसल्लाह गर्दैछौँ । पार्टीको आधिकारिकता उहाँहरु (उपेन्द्र यादव पक्ष)ले पाए पनि अथवा जसले पाए पनि सकभर मिलेर जानुको विकल्प छैन । सबैले आआफ्ना कमीकमजोरी सच्याउनुपर्ने महन्थनिकट नेता शरदसिंह भण्डारी बताउँछन् ।’

दुवै पक्षका नेताहरूले जे–जस्तो अभिव्यक्ति दिए पनि महन्थ–राजेन्द्र पक्ष कि जसपामै रहनुपर्ने हुन्छ । अन्यथा नयाँ दल दर्ता गरेर अगाडि बढ्नुपर्ने हुन्छ । नयाँ दल दर्ता गर्दा राजीतिक दलसम्बन्धी ऐन २०७७ को दफा ४४९६० बमोजिम अर्को पक्ष छुट्टै राजनीतिक दल दर्ता गर्न आएमा प्रचलित कानुनबमोजिम छुट्टै राजनीतिक दलका रूपमा मान्यता दिई दर्ता गरिदिने ठहर्छ ।

यदि महन्थ–राजेन्द्र पक्षले नयाँ दल दर्ता गरेको खण्डमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको पद स्वतः खारेज हुनेछ भने जसपामै रहेमा पद जोगिने छ । तर, पहिलेको जस्तो पहिलो वरियतामा रहन पाउने सम्भावना भने देखिदैन । पहिलो वरियताको अध्यक्ष दोस्रो वरयतामा रहनु आफैमा लज्जास्पद हुने भएकाले महन्थ जसपामा फर्किने सम्भावना न्यून छ । योसँगै महन्थ–राजेन्द्र पक्षको जसपाभित्रै रहने कुरामा विराम लागेको छ ।