काठमाडौं । झण्डै दुई वर्षदेखि विश्वले कोरोना भाइरसको महामारी झेलिरहेको रहेको छ । महामारीको चपेटामा नेपाल पनि परेको छ र यहाँको अर्थ प्रणालीमा यसले असर गरिरहेको छ । यस्कै कारण कुनै कुनै व्यवसाय त यस्ता छन् कि महामारीको चपेटामा परेर अब ती व्यवसायहरु पुन : संचालन हुन्छन् कि हुन्छ् की हुँदैनन् भन्ने समेत शंकाको घेरामा परेका छन् ।
आम मानिसको व्यवसायमा महामारीको असर परेपनि मानिसको दैनिक उपभोग्य उत्पादन कृषि व्यवसायमा भने महामारीले खासै असर गरेको पाइँदैन । जस्तोसुकै कठिन परस्थितिमा पनि प्राणी जगतको जीवन धान्नलाई खाना खानैपर्ने हुन्छ । खानलाई र खाएर बाँच्नलाई महत्वपूर्ण चीज भनेकै कृषि उत्पादन हो । त्यसकारण जीवन रहेसम्म कृषि उत्पादनको आवश्यकता उत्तिकै टड्कारो भइरहने छ ।
हाल महामारीले गर्दा अन्य कुनै पनि व्यवसाय राम्रोसँग चलाउने अवस्था छैन । यही कुरालाई ह्रदयंगम गरी अरु पेशा र व्यवसायहरुमा जीवन चलाएर राम्रै आर्थिक आय आर्जन गरिरहेका विभिन्न मानिसहरु जमिनसँग सम्बन्धित पेशामा रुची देखाउन लागेका छन् । यही मेसोमा कोरोना महामारी पूर्व अरु नै व्यवसाय गरेर जीवन चलाएका केही मानिसहरुले कृषि व्यवसाय गरिरहेका विभिन्न खबरहरु बाहिर आइरहेका छन् ।
महामारीको चपेटामा परेर आफूले नियमित गर्दै आएको पेशा र व्यवसायमा अवरोध आउँदा कृषि व्यवसायमा आकर्षित भएर यस व्यवसयमा लाग्नेहरुको बथानमा पछिल्लो पटक डाइमण्ड मल्टिपर्पोज एग्रो एण्ड रिसर्च सेन्टर देखा परेको छ । देशमा कोरोना भाइरसको दोस्रो लहर भित्रिएसँगै देशमा निषेधाज्ञा भर आफ्ना चलिरहेका व्यवसायमा सिमितता आउँदा केही जाँगरिला व्यवसायीहरुलाई त्यतिकै समय बिताउन कठिन पर्यो ।
राजधानी काठमाडौँमा व्यवसाय गरेर जीवनलाई सुखमय बनाइरहेका ती विभिन्न पेशा र व्यवसायका युवाको जोस जाँगर बटुलेर जनमुक्ति सेनाका पूर्व ब्रिगेडियर प्रकाश जिएम उर्फ ‘अविरल’को अगुवाईमा दर्ता गरिएको कृषि उत्पादन कम्पनीको नाम नै डाइमण्ड मल्टिपर्पोज एग्रो एण्ड रिसर्च सेन्टर हो । काठमाडौँको यो तारकेश्वर नगरपालिका वडा नम्बर ६ काभ्रेस्थलीमा रहेको छ ।
कसरी बन्यो यो कम्पनी ?
कोरोना भाइरसको दोस्रो लहरले संघीय राजधानी काठमाडौँमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका वा भनौं जीवन धानेका युवाहरुलाई फेरि व्यरोजगार बनायो । व्यवसाय गर्दा तिर्नुपर्ने काठमाडौँको महँगो भाडा साथै यो ठाउँको यो महंगीले जीवन धान्न समेत अपेठेरो पर्ने बनायो । ऋणको किस्ता तिर्न धौ धौ हुने मात्रै होइन ब्याज बढेर टुप्पी नाघ्ने समेत भयो ।
व्यवसायको लागि भाडामा लिएका घरमुलीले भाडा मागेको माग्यै गर्ने तर भाडा दिने व्यवसायबाट आयआर्जन भने नहुने । उखान छ नि एउटा ‘यसै ऋण उसै ऋण बुढी भैंसी किन’ हो यही उखानलाई लागु गरेजस्तै गरेर जन्मिएको हो डाइमण्ड मल्टिपर्पोज एग्रो एण्ड रिसर्च सेन्टर । माथि भनेजस्तै विभिन्न अरु पेशा व्यवसाय गरेर बसेका व्यवसायीहरु कोरोनाको दोस्रो लहरले देश निषेधाज्ञामा जाँदा व्यरोजगार भए ।
जाँगरिला मानिसले केही न केही गर्छ नै । हो त्यस्तै जाँगरिला मानिसहरुको मतो मिलेर कोरोना महामारीको समयमा भएको समयलाई सदुपयोग गरेर कृषि गर्ने भन्ने सोचाई आयो । त्यसपछि बनाएका हुन् उनीहरुले सो कम्पनी । उनीहरु अर्थात् काठमाडौँमा विभिन्न पेशा व्यवसाय गरेर बसेका प्रकाश जिएम, केशव रेउले, चुडामणि अधिकारी, शंकरकुमार बोहरा, दिपेन्द्रप्रकाश भण्डारी, कर्मा तामाङ, डम्बर घर्ती र ओमबहादुर बुढामगरले यो साहस गरेका हुन् । यी आठजना व्यवसायी अहिले खाँटी किसान भएका छन् ।
कति लगानी गरे त यी किसानहरुले ?
‘यसै ऋण उसै ऋण बुढी भैंसी किन’ भने जस्तै ती व्यवसायीहले अरु व्यापारबाट आर्जेको आम्दानी ल्याएर यसमा लगानी भने गरेका होइनन् । चलिरहेको ऋणमा थप ऋण गरेर ती आठजना उत्साही व्यवसायीहरुले झण्डै दुई बिगाह जमिन पाँच वर्षको लागि भाडामा लिएर कृषि कम्पनी र अनुसन्धान केन्द्र बनाएर कृषि कर्ममा लागेका हुन् । २०७८ सालको नयाँ वर्षको सुरुवातसँगै उनीहरुले आफ्नो सोचलाई सार्थकता दिन आफैं जुटेको प्रकाश जिएम अविरलले बताए ।
भाडामा लिएको जमिनलाई विभिन्न ब्याड बनाएर उनीहरुले खेतीपाती सुरु गरे । सो कृषि उत्पादन केन्द्रमा ५० लाख लगानी गरिसकेको अर्का किसान केशव रेउलेले बताए । पहिलो लटमा धेरै ठाउँमा टमाटर खेति गरे । हाल पहिलो लटको टमाटर खेतीबाट सो केन्द्रबाट हाल दैनिक एक हजार किलो टमाटर निकासी भइरहेको किसान चुडामणि अधिकारीले जानकारी दिए ।
किसानका समस्या :
नेपालमा हरेक वर्ष जसो दशौँ अर्बको हरियो तरकारी भारतबाट नेपाल भित्रिने गर्छ । भारतबाट कृषि उत्पादन मात्रै खरबौं रुपैयाँको नेपालमा आयात हुन्छ । तर नेपाली किसानको उत्पादनले मूल्य नपाएर बारीमै कुहिएका समाचार पनि आइरहेका हुन्छन् । यसको जड कुरा कहाँ अडकिएको होला ? विदेशबाट तरकारी आयात हुने तर स्वदेशमा उत्पादन भएको तरकारी बारीमै कुहिने समस्या पनि आइरहने । यस्तो खालको ब्यापारको असन्तुलन कहिले अन्त्य हुने होला ?
कुरा के रहेछ भने हाम्रो उत्पादन हुने बेला भारतले तरकारीको मूल्य दुई चार दिनलाई एकदम सस्तो बनाइदिने अनि यहाँको तरकारी बारीमै कुहिएर सकिएपछि उसले आफ्नो तरकारीलाई तेब्बर र चौब्बर मूल्य बनाएर बेच्दो रहेछ । तरकारीका सिन्डीकेटधारी ठेकेदारहरु पनि विदेशीहरुबाट कमिसन खाएर दुईचार पैसाको लोभमा आफ्नो अर्थ प्रणाली ध्वस्त बनाउनेमा लाग्दा रहेछन्, लागिरहेका छन् । आफै तरकारी खेतीमा लागेर यही अनुभव बटुलेको प्रकाश जिएमले सुनाए । कृषि उपजमा भइरहेको देशको ब्यापार घाटा एक इञ्च भएपनि केही कम गर्न सकिन्छ कि भनेर आफू यसमा लागिरहने ती किसानहरु बताउँछन् ।
उनीहरुको अबको योजना
पहिलो लटमा लगाएको टमाटरले अहिले उत्पादन दिन सुरु भएर सकिने समय आएको छ भने उनीहरुको दोस्रो लटको टमाटरले पनि फल लगाउन सुरु गरिसकेको छ । तेस्रो लटको टमाटर पनि हुर्कंदै गरेको उनीहरुको फार्ममा देखिन्छ । यसको अलावा डाइमण्डले बोडी, सिमी, भन्टा, लौका, खुर्सानी, काँक्रो र भिंडी लगायतमा तरकारी पनि उत्पादनको लागि तयारी गरेको देखिन्छ ।
सुरुवातमा काम गर्दा केही अनुभव नभएकोले तरकारीका विरुवा हुर्काउने बढाउने काममा धेरै संघर्ष गर्नुपरेको तर अब आफूहरुमा अनुभव भइसकेकोले आगामी दिनमा आफूहरुको खेती सजिलै अघि बढ्ने किसान दिपेन्द्र भण्डारीले धारणा व्यक्त गरे ।