काठमाडौँ । भारतबाट प्रहरी निरीक्षक सहितको भारतको केन्द्रिय औद्योगिक सुरक्षा बलको समूह राजधानी काठमाडौँ छिरेको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार प्रहरी इन्सपेक्टर एम दासको नेतृत्वमा १२ जनाको समूह काठमाडौँ आएको हो । उनीहरु भारतीय राजदुतावासको सुरक्षामा तैनाथ रहेको बुझिएको छ ।
शुक्रबार एअर इण्डियाको AI 215 को जहाजबाट सो समूह नयाँदिल्लीबाट काठमाडौँ झरेको थियो । समूहमा भारतका अरु धेरै सरकारी कर्मचारी समेत काठमाडौँ उत्रेका छन् । सोही उडानबाट नेपाल समेत हेर्ने नयाँ दिल्लीस्थित आवासीय राजदुतहरु पनि आएको बताइएको छ ।
नयाँदिल्लीमा बसेर नेपाल समेत हेरिरहेका हंगेरीका गैह्रआवासीय राजदुत आन्द्रास लास्लो किरारी लगायत भारतीय कर्मचारी र उनीहरुका परिवार पनि सँगै काठमाडौँ आएका छन् । आउनेहरुमा भारतीय केन्द्रिय सरकारका कर्मचारीहरु अमित सुधिर उपाध्याय, निखिल गजराज, दिपक पुरोहित र तरंकिटा पाण्डे रहेका छन् । उनीहरु शुक्रबार दिउसो ३ बजे काठमाडौँ झरेका हुन् ।