• मंसिर १२ २०८१, बुधबार

अर्थतन्त्रलाई क्रमशः सुधार गरेर लैजानु आजको प्रमुख आवश्यकता : अर्थमन्त्री जनार्दन शर्मा

श्रावण ८ २०७८, शुक्रबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोनाका कारण समस्यामा परेको अर्थतन्त्रलाई क्रमशः सुधार गरेर लैजानु आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग अर्थ मन्त्रालयमा आज आयोजना गरेको छलफलमा उनले मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै यथार्थ तस्बिर सार्वजनिक गर्ने बताउदै यसबारे आवश्यक छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो यथार्थपत्र नै हो । हामीले त्यसबारे आवश्यक छलफल गरिरहेका छौं ।’

मन्त्री शर्माले मुलुकका सामु रहेका विद्यमान समस्या समाधान गर्नेगरी सरकार अग्रसर रहेको जानकारी दिए ।

यतिबेला मुलुकको प्रमुख प्राथमिकता कोरोनाविरुद्धको खोपसँगै व्यापार व्यवसायको अभिवृद्धि भएको बताउँदै मन्त्री शर्माले सबैको साथ र सहयोगबाट मात्रै आर्थिक गतिविधिलाई बढावा दिन सकिने स्पष्ट पारे ।

कोरोनाका कारण समस्यामा परेको साना तथा मझौला व्यवसायी, पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले स्पष्ट कार्ययोजनाका साथ काम गर्ने र उनीहरूलाई पूर्ववत् अवस्थामा नै फर्काउन सकिने उल्लेख गर्दै अर्थ मन्त्रालय पूर्ण पारदर्शी रहने जानकारी दिए ।

उनले आफ्नो कार्यकाललाई बढीभन्दा बढी जनमुखी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे । उनले मुलुकका सामु रहेका चुनौतीलाई चिरेर सरकारले आमजनताको अपेक्षालाई सकेसम्म सम्बोधन गर्ने र सुशासन दिनेसमेत स्पष्ट पारे ।

कार्यक्रममा सेजनका पूर्वअध्यक्षहरु गोपाल तिवारी, प्रदीप चापागाइँ, गोकर्ण अवस्थी तथा वर्तमान अध्यक्ष भीम गौतमले अर्थमन्त्रालय र अर्थतन्त्रको सुधारका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिए ।