काठमाडौँ । नेपाल र नेपालीलाई पिरोली रहने दुःखद कथा, व्यथा समाजमा यत्रतत्र छरिएर रहेका छन् । गरिबी र अभाव नेपालीहरुका साझा समस्या भनेर संसारभरी छरपष्ट भएका छन् । हामीलाई सताउने यही गरिबी र अभावबाट मुक्त हुन गरिएका प्रयासहरु मध्ये कसैलाई त ती प्रयास नै झन् पीडा बनेर खडा भइदिन्छन् । जहाँ जानु पीडाले नछोड्ने हामी नेपालीहरुको बिडम्बना नै बनेको छ ।
तर नेपालीका पीडाका कथा व्यथा कयौँ ठाउँहरुमा नेपालीले नै सघाउँदै आएको पनि हामीले आफ्नै आँखाले देखेका छौं र कानले सुनेका छौं । यस्ता नेपालीका थपिने पीडाहरुमा पछिल्लो पटक दैलेखका डम्बर घर्तीमगरको दर्दनाक पीडा देखिएको छ । आउनुस् दैलेखी डम्बरको पीडाको संसार नियालौं र पीडा बाँडौं ।
गुराँस गाउँपालिका वडा नम्बर ७ दैलेख ओख्रेनीका २७ वर्षीय डम्बर घर्तीमगर परिवारलाई गरिबीको संसारबाट अलिकति भएपनि माथि उठाउन सकिन्छ कि भन्ने सोचेर आजभन्दा ५ वर्ष पहिले खाडीमा गएर अलिकति पैसा कमाउने सोचमा आए । गाउँका एक दलाल मार्फत काठमाडौँ आई कतार पुगेका उनी धेरै समय खाडीको मरुभूमिमा काम नपाएर भौंतारिए । काम खोज्दै जाँदा ६ महिनापछि सरसफाई गर्ने काम पाए । कतार पुगेको २ वर्षपछि उनलाई विदेशमा कमाई गरेर आफैलाई बाँच्न नै धौ धौ हुन पुग्यो ।
उनलाई पठाउने मेनपावर कम्पनी र दलालले धोका दिँदा आफैले काम खोज्दै गुजारा चलाउँदै गरे र कतारको बिरानो देशमा २ वर्ष बिताए । यता विदेश जाँदा ऋण लिएका साहूको व्याज बढ्दै गयो भने उनले विदेशमा दुःख भोग्दै गए । कहिल्यै यता कहिल्यै उता गर्दागर्दै ३ वर्ष समेत बिते । बल्ल उनले कतारमा एउटा फिलिपिन्स चमेना घरमा बेराको काम पाए । विदेश जाँदा लागेको ऋण अहिलेसम्म तिर्न सकेका थिएनन् । पहिलोचोटी विदेश गएका उनी रनभुल्लमा समेत परे । चमेना घरमा काम पाउँदा उनले धेरै राम्रो काम पाएको अनुभूत गरे । बडो दिल लगाएर सो चमेना घरमा काम गर्दागर्दा बल्ल आफूले विदेश जाँदा लगाएको ऋण तिर्न सफल भए ।
तर कुरामा यतिमै सिमित रहेन । अब त अलिकति बचत गरेर आफू विदेश आउनुको उद्धेश्य पुरा गर्न सकिन्छ कि भनेर सोच बनाइरहेका प्रकृतिले उनलाई गरिबीको भन्दा अर्को ठूलो चोट दियो । काम गर्ने शिलसिलामा एकदिन उनलाई आफ्नै शरीर अफठेरो भएको भएको अनुभूत भयो । आफै शरीर गह्रौं भएर आयो । कामै गर्न नसकिने पो हो कि जस्तो भयो । हरेक दिन यस्तो हुँदा उनले आफ्नो समस्या सँगै काम गर्ने साथीहरुलाई बताए । एक कान दुई कान हुँदै उनले स्वास्थ्य समस्या चमेना घरका मालिकसम्म पुग्यो ।
मालिकले एकदिन उनलाई उनको स्वास्थ्य समस्या पत्ता लगाउन अस्पतालमा लिएर गए । अस्पतालमा चेकजाँच भएपछि उनको दुवै मृगौलाले काम गर्न छोडेको पो पत्ता लाग्यो । आफ्नो स्वास्थ्य समस्या सुन्दा उनलाई धर्ती भासिए जस्तै मात्रै होइन आकास नै आफूमाथि खसेजस्तो अनुभूत भयो । प्रकृतिले उनलाई दिनु चोट दियो । नियतीमा परेर हेर्नुस् त उनको त एउटा होइन दुइटै मृगौलाले पो काम गर्न छोडेको रहेछ । उनको संसार त्यहीनेर सकिएको जस्तो भयो । जुन शिरीर लिएर पारिवारलाई गरिबीको संसारबाट अलिकति माथि उठाउन सकिन्छ कि भनेर उनी धन कमाउन गएका थिए । त्यही शरीरका अंगले नै काम गर्न छोडेपछि उनको पनि के लागोस् त ?
उनको दुवै मृगौलाले काम नगर्ने भएपछि उनले काम गरिरहेको चमेना घरको मालिकले उनलाई ठाउँको ठाउँबाट हवाई जहाजको टिकटको काटेर नेपाल फर्काइ दियो । एकातिर शरिरका अंगहरुले काम गर्न छोडे अर्कातिर खालिखुट्टा साहूले नेपाल फर्काइ दियो । उनलाई पर्नु फसाद पर्यो । विदेश गएको छोरोले पैसा कमाएर आउला भनेर कुरेर बसेका उनका बाबुआमाको मन विदेशबाट छोरोका दुवै मृगौलाले काम गर्न छोडेर आउदा कस्तो भयो होला ? उताका साहूले शरीर स्वस्थ होउञ्जेल काम लगाए । उनको शरीरले काम गर्न छोडेपछि यतै फिर्ता गरिदिए । नेपालीको श्रम चुसेर खान पल्केका तिनीहरुले श्रम चुस्न भाडामा लिएका थिए । जब शरीरले काम गर्न छाड्यो नेपालमै पठाए । यो समस्या केवल डम्बर घर्ती मगरको मात्रै होइन विश्व बजारमा श्रम बेच्न गएका आम नेपाली युवाहरुको हो ।
हाम्रो देशका शासकहरुलाई यो कुराको लज्जा हुन्थ्यो भने आजैबाट देशका युवाहरुलाई विदेशीको काम गर्न भाडामा बेच्न बन्द गर्थे होला तर यो देश लुटेर खाने युवा शक्ति बेचेर विप्रेषणबाट आएको रकमले देश चलाउने र आफ्नो र आफ्नाहरुको लुटको स्वर्ग खडा गर्ने शासकहरुलाई यो कुराको एकरति पनि लज्जा छैन । शासकहरुलाई लज्जा होस् या नहोस् आफ्ना नागरिकको जीउधनको सुरक्षा गर्ने त जिम्म्मेवारी हुनुपर्ने तर त्यो पनि देखिँदैन । यस्ता त कयौं घटना र भोगाई होलान जो संचारकर्मीहरुको समेत दृष्टि नपुगेको होला । दुवै मृगौला फेल भएर नेपाल आउन बाध्य भएका डम्बर घर्ती अहिले मृगौलाको उपचार र पुनस्थापनाको लागि हारगुहार गरिरहेका छन् । हरेक हप्ता दुई पटक मृगौलाको डाइलाइसीस गरेर कसैले मृगौला देला कि अथवा मृगौला पुनस्थापना गर्ने खर्च कसरी कसले पो देला भनेर टोलाउँदै राजधानी काठमाडौँमा दिन बिताउन बाध्य भएका छन् ।
डम्बरको बाँच्ने आशामा दियो बनेकी मनिता
विदेशमा हुँदा पश्चिम दैलेखका डम्बरको सामाजिक संजालका माध्यमबाट पूर्व मोरङ मिक्लाजुङ्गकी मनिता खालिङ राईसँग सम्पर्क स्थापित भयो । संजालमा कुराकानी हुँदै जाँदा उनीहरुको एक अर्काप्रतिको विश्वास बढेर सँगै जिउने र सँगै मर्ने कसम खाने स्तरमा समेत पुग्यो । भौतिक रुपमा कहिल्यै भेट नभएका उनीहरुको लागि सामाजिक संजाल नै दुई मुटुको मेल गराउने प्रभावकारी माध्यमको रुपमा आयो । संजालबाटै दुई वर्ष पहिलेदेखि एक आपसमा मायाप्रेम साट्दै आएका डम्बर र मनिता जतिदिन बाँचिन्छ सँगै बाँच्ने भनेर अहिले काठमाडौँमा सँगै दिन बिताइरहेका छन् ।
डम्बरको दुवै मृगौलाले काम नगर्ने अवस्था हुदाहुँदै पनि र उपचार गर्ने पैसा नहुँदा नहुँदै समेत मनिताले डम्बरलाई छोडेर कही गएकी छैनन् । ‘मेरो जीवनको ठेगान छैन तिमी आफ्नो संसार अन्तै बसाऊ’ भन्ने डम्बरको भनाइको उत्तरमा मनिताले आफ्नै मृगौला दिएर भएपनि हजुरलाई बचाउँछु बरु बाचा तोड्दिन भनेकी छिन् । विवाह गरेर आफ्नो मृगौला डम्बरलाई दिएर भएपनि संसारलाई सुनौलो बनाउने अठोट लिएकी मनिता खालिङ राईलाई पनि आफूले मृगौला दिन पाएपनि त्यो मृगौला आफ्नो शरीरबाट झिकेर डम्बरको शरीरमा राख्दा लाग्ने १४/१५ लाख पैसा कुन संसारको कुन मानिसले जुटाइदेला भन्ने कल्पनामा रहेकी छिन् । उनीहरुले आशा व्यक्त गरे ‘कमलो मन भएका संसारभरी छरिएर रहेका नेपाली मनहरुले सहयोग संकलन गरेर पक्कै पनि मृगौला प्रत्यारोपण गर्न सहयोग गर्नुहुनेछ ।’