• मंसिर ११ २०८१, मंगलवार

एमाले एकता जोगाउन अध्यक्ष ओली लचक

श्रावण ५ २०७८, मंगलवार

काठमाडौं । नेकपा (एमाले) ब्युँतिएसँगै शीर्ष नेताद्वय ओली–नेपालबीच चुलिएको विवाद दिनानुदिन उत्कर्षमा पुग्दै गएको छ ।

सर्वोेच्च अदालतले गत फागुन २३ गते देशका दुई ठूला राजनीतिक दल एमाले र माओवादी केन्द्र ब्युँत्याएको छ । यी दुई ठूला पार्टी ब्युँतिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद गहिरिँदै गएको हो । गहिरिएको विवाद समाधानका लागि दुवै समूहका नेताहरूबीच भेटवार्ता र छलफल नभएको होइन । तथापि उक्त भेटवार्ता र छलफलले हालसम्म एकताको आकार भने लिन सकेको छैन ।

एमाले एकता प्रयासका लागि ओली–नेपाल समूहका दोस्रो वरियताका नेताहरूले यसअघि काठमाडौं उपत्यकाका विभिन्न होटल चाहार्दै आए । एकताका लागि दिनहुँ अनौपचारिक भेटवार्ता र छलफललाई निरन्तरता दिएका थिए । उनीहरूको उक्त सक्रियताले पार्टीका शीर्ष नेताद्वयबीच प्रत्यक्ष भेटवार्ता र टेलिफोन संबाद पनि भयो । तर, एकता भने हालसम्म हुन सकेको छैन ।

वरिष्ठ नेता नेपालले एमाले पार्टीको पूर्वसंरचना २०७५ जेठ २ मा फर्काउनुपर्ने अडान राख्दै आएका थिए । त्यसका लागि दुवै समूहको एकता कार्यदलले असार २७ गते राति १० बुँदे सहमति गरेको छ । त्यसअन्तर्गत उसले २०७५ जेठ ३ गतेको केन्द्रीय कमिटीको पुर्नगठन गर्ने, पार्टीको पूर्ववत संरचना २०७५ जेठ २ मा फर्काउने सर्वोच्चको फैसला अनुसार त्यसपछि भएका पार्टीको काम कारबाही बदर गर्ने, नेकपामा रहँदा स्थायी र केन्द्रीय कमिटीमा रहेका नेताको जिम्मेवारीलाई यथावत राख्ने, महत्वपूर्ण योगदान गर्नेलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने, एकताको मर्म र भावना अनुरूप अगाडि बढ्ने सहमति गरेको छ ।

यही सहमतिका आधारमा पार्टीलाई अगाडि बढाउने र एकता कायम गर्ने कार्यदलले बताएको थियो । तथापि कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई रचनात्मक र सृजनात्मक ढंगले कार्यान्वयन गर्ने गरि अनुमोदन गर्ने निर्णयसमेत गरिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनका अनुसार, ‘पार्टीको समस्या समाधानका सम्बन्धमा सुझाव दिन गठित एकता कार्यदलले तयार पारेर बैठक समक्ष प्रस्तुत गरेको प्रस्ताव ग्रहण र अनुमोदन समेत गरिएको छ । प्रस्तावलाई सृजनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय पनि गरिएको छ । कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेकोमा धन्यवाद दिँदै कार्यदल निष्क्रिय गरिएको यसअघि नै जनाइ सकेका छन् ।’

यद्यपि कार्यदल निष्क्रिय भएपनि उसले गरेका १० बुँदे सहमतिप्रति अध्यक्ष ओली सहमत भएको उनीनिकट नेता तथा कार्यदलका सदस्य शंकर पोखरेलले बताए । पोखरेलका अनुसार, ‘कार्यदलले गरेको १० बुँदे सहमति पूर्णरूपमा कार्यान्वयन हुन्छ । यसका लागि अध्यक्षज्यू पनि सहमत हुनुहुन्छ । वरिष्ठ नेता नेपाल पक्षको आग्रह र उहाँहरूको एकताको बटमलाइन अनुसार नै हामीले सहमति गरेका छौँ । यद्यपि सहमति कार्यान्वयन गर्ने सन्दर्भमा हाम्रो दुईमत छैन । तर, उहाँहरु (नेपाल समूह) १० बुँदे सहमति पश्चात पनि विपक्षीसँगको गठबन्धन र साँठगाँठले एकता हुनेमा शंका पैदा परेको छ । पार्टी एकताको प्रयास भैरहेकोले विपक्षी गठबन्धनबाट बाहिरिएको भनेपनि उहाँ नबाहिरिएको जस्तो देखिन्छ । यसरी त एकता कसरी सम्भव होला र ?’

त्यस्तै कार्यदलकै सदस्य विष्णु पौडेलले पनि एकतामा संशय उत्पन्न भएको बताए । विगत तीन महिनायता अथक मेहनत र प्रयास गर्दागर्दै पनि एकता हुुने या नहुनेमा शंका उपशंका पैदा भएको छ । तर, पनि हामी एकताका लागि पुनः प्रयास जारी राख्ने छौँ । अन्तिम समयसम्म एकता प्रयास जारी रहन्छ । यसप्रति नेपाल पक्षका केही साथीहरु पनि सकारात्मक हुनुहुन्छ ।

त्यसैगरी यसअघि एमाले अध्यक्ष केपी ओली वरिष्ठ नेता माधवकुमार नेपालप्रति अनुदार बनेपनि पछिल्लो समय एकताप्रति लचक भएको उनीनिकट नेताहरूले बताउँदै आएका छन् । गोलमिडिया न्युजसँग संवाद गर्दै ओलीनिकट नेता विष्णु रिमालले भने, ‘पार्टी टुटफुट हुनु, विपक्षी गठबन्धनमा रहिरहनु, १० बुँदे सहमति बेगर चल्नु एकताप्रति जिम्मेवार नबन्नु नै हो । यसप्रति उहाँहरु (नेपाल समूह) सच्चिनैपर्छ । आजको आवश्यकता फुटेर होइन, जुटेर अगाडि बढ्ने हो । यसका लागि सकभर एकताप्रति लचक हुनुपर्छ । हाम्रो पार्टीका अध्यक्ष (केपी शर्मा ओली)ज्यू पनि एकताप्रति निकै लचक भएर प्रस्तुत हुनुभएको छ ।’

हिजो (सोमबार) बोलाइएको केन्द्रीय कमिटी बैठकलाई एमालेले १०औँ बैठक भनेको छ । यो भनेकै एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बन्नुपूर्वको अवस्था हो । माओवादीसँग पार्टी एकता भएको दिन २०७५ जेठ ३ गते एमाले केन्द्रीय कमिटीको नवौँ बैठक बसेको थियो । ओलीले नेपाललाई रिजाउन वा एकतातर्फै फकाउन यसो गरेको बैठकमा सहभागी नेताहरूले बताए ।

पछिल्लो राजनीतिक घटनाक्रम र त्यसले निम्त्याएको परिणामले ओली निकै थलिएका छन् । सर्वोच्च अदालतदेखि आफ्नै पार्टी भित्रका सहकर्मीबाट प्रताडित ओली केहीदिन अघि सत्ताच्युत भए । यसो हुनुमा उनका पनि थुप्रै कमीकमजोरी छन् तर, उनले आफ्ना सहकर्मीलाई रिजाउन नसक्नु, सत्ताको उन्मादले अहंकारी बन्नु आदि कारणले सत्ताबाट बाहिरिनु पर्यो । यद्यपि उनी पछिल्लो समय पार्टी एकताप्रति लचक भएका छन् । त्यो कुरा हिजोको केन्द्रीय कमिटीको बैठकबाट पुष्टि हुन्छ ।

एकताकै विषयलाई लिएर वरिष्ठ नेता नेपालनिकट नेताहरु भन्छन्, ‘पार्टी एकताका लागि हामी पनि कटिबद्ध छौँ । तर, ओलीले एकलौटी निर्णय गर्ने, केन्द्रीय तथा स्थायी कमिटी बैठक आफ्नो मनमौजी ढंगले राख्ने, हामीसँग सल्लाह नगरी आफ्नै ढंगले चल्ने आदि कारणले एकता हुनुमा दुविधा सृजना भएको छ । १० बुँदे सहमति कार्यान्वयनका लागि हाम्रो पक्ष पनि एकमत छ । तर, ओलीका गतिविधि र काम कारबाहीले एकतामा आशंका छ ।’

यद्यपि पछिल्लो समय पार्टी एकताप्रति अध्यक्ष ओली केहीहदसम्म लचिलो नै बनेका छन् । नेपाललाई हाँक दिँदै ओलीले एकता सम्भव नभएको अभिव्यक्ति दिएपनि त्यसप्रति वरिष्ठ नेता नेपाल टसमस नभएपछि ओली पानी–पानी हुँदै नेपालका माग सम्बोधन गर्नेतर्फ लक्षित छन् ।