नेपालमा यतिबेला जातीय विभेदका कुरा निकै चर्कोरुपमा उठिरहेका छन् । सामाजिक सञ्जाल, सञ्चारमाध्यम र हरेक फोरमहरुमा पनि जातीय विभेद र छुवाछुतका कुराहरु उठिरहेका छन् । कुरा मात्रै उठेका होइनन्, छुवाछुत र विभेद गरिएका कारण मुद्धामामिला पनि चलिरहेका छन् । रुपा सुनारलाई जातीय विभेद गरेका कारण कल्पना प्रधानमाथी आजपनि मुद्धा चलिरहेको छ । उनलाई हिरासतबाट छुटाउने शिक्षामन्त्री विरुद्धपनि रुपा सुनाले मुद्धा हालेकी छिन् । एकवर्ष अघि पनि रुकुमका नवराज विकलाई पनि ठूला जातको छोरी ताकेको भन्दै कुटेर मारियो । उनी सहित ७ जना युवालाई कुटीकुटी मारेर भेरी नदीमा फालियो ।
काभ्रेका एकजना दलित थर (अजित मिजार) का युवामाथी माथिल्लो जातकी छोरी विहे गरिदिएको भन्दै कुटेर मारिएको शव अझैपनि शिक्षण अस्पतालमा सडेर रहेको छ । यस्ता घटनाहरु घटेपछि मात्रै बहसमा आउने विभेदका कुरा यसपाली भने नेपालमा निकै चर्किएर गएको मानिएको छ । यी केही यदाहरण मात्रै हुन् । विगतमा भएका यस्ता दमन र हत्याका घटनाको लामो फेहरिस्त बन्नसक्छ । यसैबीच समाजमा मानिसहरुका दिल र दिमागमा गढेर बसेको जातीय विभेद विरुद्ध आजसम्म ककस्ले के कस्ता संघर्ष गर्दै आएका छन् त भन्ने बहस चलिरहेका बेला आज हामीले पञ्चायतकालमै विभेद विरुद्ध लडेर चर्चा कमाएकी योगमाया न्यौपानेका बारेमा पाठकहरुलाई जानकारी दिने उद्धेश्यले यो सामग्री प्रकासन गरेका छौं ।
योगमाया न्यौपानेको जन्म संवत १९२४ सालमा पूर्वी नेपालको भोजपुर जिल्लाको (केहि वर्ष अघि मात्र घोषित षडानन्द नगरपालिका–१) नेपालेडाँडाको सिम्ले भन्ने ठाउँमा भएको थियो भने मृत्यु वि.सं १९९४ मा । बाँचुञ्जेल उनले समाजका विकृतिहरु चिर्न मै समय लगाइन् । त्यति बेलाको त्यो सत्य घटना पनि आज एकादेशको दन्त्यकथा झैँ मानिन्छ । समाजको त्यही कठोर शासन प्रति विद्रोहका स्वर उराल्ने क्रममा उनले आफ्ना अनन्य भक्तहरु समेतलाई समेटेर जलसमाधि लिएकी थिइन् ।
योगमाया नेपाली साहित्यमा क्रान्तिकारी महिलाकी प्रतीक हुन् । बूढी औँठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया नै त्यस्ती आशु कवयित्री हुन् । जसले जे देख्यो त्यही फररर भन्न सकिन् । जे भेट्यो त्यही विषयमा कविताबाट बोल्न सकिन् । र जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सकिन् । योगमाया त्यतिबेला जन्मेकी थिइन् जुन बेला महिलाले रजस्वला हुनुअघि नै वैवाहिक जीवनमा बाँधिनु पथ्र्यो । त्यसै अनुरूप योगमायालाई पाँचै वर्षमा उनका बुबा श्रीलाल न्यौपाने र आमा चन्द्रकलाले कन्यादान गरेका थिए । त्यसबेला योगमाया न्यौपानेको विहे रामहरी कोइरालासँग भएको थियो तर यिनको विहे भएको दुई वर्षमा यिनका पतिको मृत्यु भयो । सात वर्षीय योगमायाका लागि रामहरी कोइरालाको मरण कुनै पीडादायक बन्न सकेन । त्यसैले उनी फेरि आफ्नै बालक्रीडामा नै मिसिन थालिन् ।
दिन छिप्पिँदै जाँदा योगमाया माथि अनेक सामाजिक कुसंस्कारका बज्र ठोक्किन थाले । कतिसम्म भने तत्कालीन समाजबाट प्राप्त अपमान, घृणा र तिरस्कारका पीडाले उनको शरीर भरिन पुग्यो । अलच्छिनी र पोइ टोकुवीको लाञ्छनाले रङ्गिदा नरङ्गिदै उनले सत्र वर्ष टेकिन् ।
योगमायाले आफ्नो तरुनी मनको जोसलाई विवेकको होसले छेक्न, थाम्न र सम्हाल्न सकिनन् । वास्तवमा किशोर अवस्थामा रन्थनिँदै जाँदा उनको शरीरले पनि प्रकृतिको वरदानलाई त्याग्न सकेन । त्यसैले गाउँको एउटा युवकप्रतिको आकर्षण उनको दिनचर्यामा अनुवाद हुन थाल्यो । अनि गाउँ कै प्रजापति डोटेल जैसीसँग भागेर उनी आसाम पुगिन् । यी दम्पतीबाट एउटी छोरी नैनकलाको पनि जन्म भयो ।
केही वर्षछि योगमायाले आफ्ना गाउँमा पुराण लाग्ने हल्ला सुनिन् । त्यसपछि डोटेल दम्पती छोरी च्यापेर पुराणस्थल पुगे । जनकलाल शर्माको ‘जोसमनी सन्त परम्परा र नेपाली साहित्य’ नामक ग्रन्थमा लेखिए अनुसार पुराणको प्रसङ्ग थियो ‘परस्त्री वा परपुरुष गमन गर्नाले भविष्यमा रौरवीय नर्कको यातना भोग्नु पर्छ’ । यत्तिकैमा पुराणको अर्को प्रसङ्ग आयो ‘यदि अज्ञानवश कसैले यस्तो अपराध गरेको रहेछ र ज्ञान प्राप्त भएपछि त्यो अपराध त्याग्यो भने त्यसको प्रायश्चित्त हुन्छ ।’
योगमायाले मन दिएर नै पुराणका सबै पाठ सुनिन् । पुराणको कथाले योगमायाको मन दशचिरा भयो । त्यसपछि उनले आफ्ना पति प्रजापति डोटेलसँग यसबारे छलफल गरिन् । अनि यिनीहरूले एक अर्कामा छुट्टिएर बस्ने निर्णय गरे । त्यसबेला योगमायाकी छोरी नैनकला चाहिँ योगमायासँगै बस्ने सहमति पनि भयो ।
योगमायाले आफ्नो हृदयान्तरको विस्फोट पोख्न छाड्दिनथिन् । त्यसैले उनले कविताका अक्षर प्रस्फुटन गर्न थालिन् । आमाका शब्द एक एक गमेर नैनकलाले आफ्नो मन मस्तिष्कको कम्प्युटरमा राख्ने गर्थिन् । वास्तवमा योगमाया जति कविता भन्थिन् नैनकला त्यति नै कण्ठाग्र पार्ने गर्थिन् । योगमाया र नैनकला दुवै निरक्षर थिए ।
योगमाया स्वर्गद्वारी पनि पुगिन् । उनी स्वर्गद्वारी गएका बेला स्वर्गद्वारीका चैतन्य महाप्रभु अभयानन्द द्वितीयले त्यहाँ प्रसिद्धी पाइसकेका रहेछन् । योगमाया पनि महाप्रभुका कृत्यबाट सुरुमा नै आल्हादित बनिन् । त्यही परिणतिले उनी पनि महाप्रभुका साथ सत्सङ्गमा समर्पित भइन् । योगमायाको आचरणले महाप्रभु पनि प्रसन्न बने । त्यसैले उनी चैतन्य महाप्रभुबाट दीक्षित पनि भइन् । अनेक साधना गरेर योगमायाले वर्षौंवर्ष गुफामा नै बसेर साधना गरिन् ।
जाडो दिनमा उनी आधा महिनासम्म अरुण नदीमा कम्मरसम्म डुबाएर साधनारत पनि भइन् । गर्मी महिनामा धुनी जगाएर आगोका रापसँगै उनले आफ्नो साधना प्रधानकर्म पनि गरिन् । उनलाई न जाडो हुन्थ्यो न गर्मी हुन्थ्यो । वास्तवमा उनले एउटा विशेष ईश्वरीय शक्ति नै प्राप्त गरेकी थिइन् । कतिसम्म भने कुनै कुनै बिरामीलाई उनी आवश्यकता अनुसार नाडी समाएर र झारफुक गरेरै ठीक पारिदिन्थिन् । सर्पले ठुङेर मरणासन्न मान्छेलाई पनि उनले झारफुक गरेकै भरमा निको पारिदिन्थिन् ।
योगमाया एकातिर धार्मिक नसामा डुबेकी थिइन् भने अर्कातिर राणा शासनले जनमनमा आतङ्कित पारेको सामाजिक स्थितिबाट पनि उनी फुत्कन सकिनन् । सती प्रथा हटाइयोस्, जातभातको रीतिरिवाज हटाइयोस्, जनताले न्यायनिसाफ पाऊन र शोषणरहित समाजको सृजना होस् आदि माग राख्तै योगमायाले सामाजिक परिर्वनका लागि साँस्कृतिक आन्दोलनको शङ्ख फुकिन् । उनी न्याय माग गर्दै पैदल हिँडेर काठमाडौँसम्म पनि आइन् ।
त्यतिखेर योगमायाका मागहरु पुर्याउन श्री ३ जुद्धशमशेरले उनलाई वचन पनि दिए । तर क्रमशः श्री ३ आनाकानी मै रुमल्लिन थाले । वास्तवमा योगमायाको सामाजिक समय सन्र्दभका जायज मागका कारण श्री ३ को मन नै धमिलिँदै थियो । त्यसैले श्री ३ ले न्याय दिने देखावटी वचन दिई अनेक प्रपञ्च रचेर उनलाई दण्ड दिने अभिप्रायले विभिन्न कदम चाले तर श्री ३ हारे र योगमायाको जित भयो । त्यतिखेर उनले जुद्धशमशेरको बेलाका दरबारिया विद्वानहरूसँगको शास्त्रार्थमा विजय हासिल गरेकी थिइन् । स्वर्गद्वारीका चैतन्य महाप्रभुको शिक्षा, दीक्षा र ज्ञान योगमायाको मन, मस्तिष्क र विवेकको ढुकुटीमा शक्तिको स्वरूप भएर बसेको थियो । त्यसैले उनलाई हराउने पण्डितहरु बिरलै पाइन्थे । त्यस बेलाको उनको प्रचण्ड बौद्धिक शक्ति देखेर जुद्धशमशेर तीन छक्कै परेका थिए ।
योगमाया काठमाडौँबाट भोजपुर दिङ्लाको मझुवाबेंसीस्थित आफ्नो आश्रममा फर्केपछि उनी झन् विद्रोही भइन् । त्यही विद्रोहको पराकाष्टामा उनी कविता बोल्दै जान्थिन् र उनकी छोरी नैनकला आमाका ती शब्द कण्ठाग्र पार्दै जान्थिन् ।
योगमाया दिङ्ला पुगेपछि उनी चैतन्य महाप्रभुको कृतित्व र व्यक्तित्वको प्रचारमा लागिन् । साथै दिङ्लामा चैतन्य महाप्रभु अभयानन्दले गरे झैँ विशाल यज्ञ गर्न उनी जुटिन् । उनी कठिन योग साधनामा लागिन् र धाराप्रवाह प्रवचन र कविता वाचन गर्न थालिन् । जनकलाल शर्माका अनुसार भोजपुरको दिङ्लामा १९९७ साल ५ मा ठूलो यज्ञको आयोजना भएको थियो र त्यहाँ श्रद्धालु समाजको खुबै भीड लागेको थियो तर त्यो यज्ञ सदाको भन्दा भिन्न थियो । उनले त्यहाँ उपस्थित सबै चेला चेलीहरुलाई भनिन्,‘अब भक्तहरु बाँच्ने युग छैन । अतः यसै यज्ञको समाप्तिका दिन पूर्णाहुतिका रुपमा यज्ञकुण्डमा प्रवेश गरेर अग्नि समाधि लिनुपर्छ ।’ योगमायाको घोषणा अनुसार त्यसैबेला उनका दुई सय चालीस जना भक्तहरूले यज्ञकुण्डमा हामफाली प्राण त्याग्ने निर्णय गरे ।
योगमायाका अग्नि समाधि सम्बन्धी घोषणा र यज्ञकुण्डमा ज्यान अर्पण गर्न जुर्मुराएका उनका अनुयायीका विषयले भोजपुर हल्लियो । त्यहाँबाट त्यो खबर धनकुटामा रहेका राणाका कारिन्दा माधव शमशेरका कानमा पनि पुग्यो । परिणामस्वरुप राणाका निर्देशन अनुसार सेनाले त्यो यज्ञकुण्ड आफ्नो नियन्त्रणमा लियो । साथै राणाका निर्देशनमा योगमायाका हातगोडामा नेल ठोकियो । अनि योगमाया लगायत उनका भक्त र अनुयायीलाई सरासर जेल चलान गरियो । अरु महिला सबै तीन महिना जेलखानामा बसे भने पुरुषहरु चाहिँ साढे दुई वर्षम्म कैदी भए । त्यसकाण्डले पण्डित प्रेमनारायण पनि अठार महिना जेलखाना मै कोचिए ।
त्यसबखत राणाका सिपाहीको बन्देजका कारण योगमाया यज्ञकुण्डमा हाम फाल्न पाइनन् । त्यसपछि आफ्ना भक्तहरूलाई पछि लगाएर उनी अरुण पुगिन् । ज्ञानमणि नेपालका अनुसार ‘योगमाया अरुण किनारा बाहिर मझुवाबेसीमा विक्रम संवत १९६६ तिर एक कुटी बाँधेर बस्न लागिन् । उनकी एउटी भाई बुहारी गङ्गा न्यौपाने चाहिँ उनकी पक्का भक्त भइन् । यी गङ्गा प्रेमनारायण (योगमायाका भक्त) कै दिदी थिइन् । यी गङ्गा पनि योगमायासँगै बस्थिन् । अरुण नदीको किनारामा उभिएर फेरि योगमाया बोलिन् ‘हामीलाई अग्निप्रवेशमा सरकारले बाधा गर्यो तर आजको दिन अग्निको अभावमा जल समाधि लिनु पनि उत्तिकै लाभदायी हुनेछ ।
अतः इच्छा हुनेले मेरो अनुकरण गर्नु, त्यसपछि योगमायाले उर्लंदो अरुणको भेलमा हाम फालिन् । उनका अनुयायीहरू पनि क्रमशः जलसमाधिमा सहभागी हुँदै गए । हुँदाहुँदै त्यस बेला जलसमाधि लिने नारी पुरुषको सङ्ख्या ६८ पुगिसकेको थियो । त्यसपछि त्यहाँ कतिले हाम फाले र कतिघर फर्के ? कसैले त्यसको तथ्याङ्क राख्न सकेन ।
योगमायाको धार्मिक कार्यशैली नै आकर्षक थियो । उनी धुनी बालेर, रुद्राक्षको माला लगाएर, बिगुतको तीन धर्के टीका लगाएर र झाँक्रो फिजाएर आफ्नो आसनमा बस्थिन् । साथै उनका छेउमा पाँच छ फुट उचाइको त्रिशूल ठडयाइन्थ्यो । त्यहीँ बसेर उनी आँखा चिम्लेर धाराप्रवाह धार्मिक र सामाजिक प्रवचन दिन्थिन् । उनको साहस देखेर उनका सेवकहरू भक्तमा रुपान्तरित भए । हरे राम प्रभुका नाउँले परिचित स्वामी पं प्रेमनारायणले चारैतिर डुलेर योगमायालाई औतारी शक्ति माताको नाउँले प्रचार गरे । स्वामी प्रेमनारायणले योगमायाका नालीबेली पूर्वी पहाडका रनवन पुर्याए भने काठमाडौँ उपत्यकामा पनि उनले योगमायाको यथेष्ट प्रचार गरे । त्यति मात्र होइन योगमायाका भक्त चेलाहरु पं कविप्रसाद गौतम र लोचननिधि तिवारीले पनि योगमायालाई शक्ति माताका रुपमा स्थापित गराए ।
योगमायाले जीवनमा आफूप्रति खप्टिएका प्रत्येक वचनको स्मरण गरिरहिन् । उनले नारीप्रतिको भेदभावका विषयमा विरचित पुराणका कथाहरुको पनि खुलेर नै आलोचना गरिरहिन् । नारीलाई पशुवत व्यवहार गरेर रचिएका धार्मिक कथाहरु योगमायाका भावनाका शत्रु थिए । लोग्ने मान्छेले जति स्वास्नी राखे पनि हुने आइमाईले चाहिँ अर्को पुरुषसँग विहे गर्दैमा ऊ समाजबाट वहिष्कृत हुनुपर्ने जस्ता असमान र भेदभावपूर्ण व्यहोराले उनको मन रन्थनिएको थियो । त्यतिमात्र होइन बाहुन पुरुषले पानी नचल्ने जात ल्याए पनि जात नजाने तर बाहुन स्त्रीले चाहिँ आफूखुसी बाहुनैसँगै विहे गर्दा पनि जुनीभरी बिटुली हुनुपर्ने अवस्थाको उनले घोर भत्र्सना गरिन् । साथै बाहुन महिला तल्लो जातमा पुग्ने बित्तिकै उसले आफ्नो संस्कारबाट हात धुनुपर्ने स्थितिको पनि उनले विरोध गरिन् ।
विद्रोहको नाममा गरिने आत्महत्या समाधन हो ?
हो समाजमा अनेक प्रकारका विभेद, अन्याय र दमनहरु थिए र छन् । तीनको व्यवस्थितरुपमा समाधान खोज्नु आजको आवश्यकता हो । हुन त हिजोपनि आवश्यकता थियो तर हिजो ठूलो अनुपातमा विद्रोह गर्न सक्ने आत्मगत अवस्था थिएन । तर आज हिजो भन्दा शिक्षित र चेतनशील मानिसहरुको जमात भएकोले विद्रोह गर्न सजिलो छ । विद्रोह गर्ने नाममा आफूले आफैलाई सिध्याउने विद्रोह भने ठिक होइन । विभेदका विरुद्ध नदीमा वा अग्नीकुण्डमा हाम फालेर मर्दा एउटा खालको सञ्चार त हुन्छ तर समस्ययाको समाधान त्यो होइन ।
सामुहिकरुपमा गरिने विद्रोहले बरु आम मानिसमा र शासन गर्ने मानिसहरुको दिमागमा पनि परिवर्तन ल्याउन सक्नु पर्छ । र चेतना प्रवाह गर्नेखालको विद्रोहको स्वरुप बनाउनु पर्छ । त्यसकारण समाजमा रहेका अनेक प्रकारमा विभेदलाई एकएक गरी हटाउन र समाजलाई चेतनाका हिसावले समान बनाउनका लागि एउटा निश्चित कार्यक्रम बनाएर आमरुपमा विभेद विरोधी अभियान चलाउनु आवश्यक छ । यो अभियान व्यक्तिले मात्रै वा सानो समहूले मात्रै चलाएर पुग्दैन ।
बरु विभेदहरु राज्यले नै व्यवस्थित गरेकोले राज्यकै पहलमा यस्ता कार्यक्रमहरु चलाइनु आवश्यक छ । तर राज्य नै विभेदकारी रहेको नेपाल जस्तो देशमा राज्यले यस्तो अभियान चलाउन भनेर कल्पना गर्नु मुर्खता मात्रै हो । राज्यमा परिवर्तनकारी शक्ति रहेको अवस्थामा मात्रै यो सम्भव छ । यस्तो अवस्थामा के गर्ने त ? कुरा स्पष्ट छ, यो अभियानको नेतृत्व कुनै राजनीतिक दलले गर्दा प्रभावकारी हुन्छ । तर चुनावमा भोट तान्ने उद्धेश्यबाट प्रेरित दलले यो अभियानको नेतृत्व गर्न सक्दैन र नेतृत्व गर्न दिनु पनि हुँदैन । विचारमा स्पष्ट नभएका दलहरुले यो अभियानको नेतृत्व गर्दा उसले दलगत स्वार्थमा मात्रै विषयलाई सिमित गर्न सक्छ । त्यसकारण जसन पार्टीको उद्धेश्य नै विभेद उन्मूलन गर्ने रहेको छ, सोही पार्टीले मात्रै त्यसको नेतृत्व गर्नुपर्छ ।
विकिपीडियाको सहयोगमा ।