काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अध्यक्ष थोमस बाकले टोकियो ओलम्पिकमा वितरण गरिने ३३९ पदक समारोहको बारेमा विशेष खुलासा गरेका छन् । बाकले पदक विजेता खेलाडीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउन आफैले पदक लगाउनुपर्ने खुलासा गरेका हुन् । टोकियो ओलम्पिक २३ जुलाईदेखि ८ अगस्तसम्म सञ्चालन हुँदैछ ।
अध्यक्ष बाकले एक कार्यक्रममा बोल्दै ‘टोकियो ओलम्पिकमा पदक खेलाडीको घाँटीमा लगाएर वितरण नगरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी गराएका हुन् । बाकले भने- ‘यो पटक पदक ‘ट्रे’मा राखेर दिइनेछ, पछि विजेता खेलाडी खुद आफ्नो घाँटीमा पदक लगाउने छन् ।’ साथै ‘ट्रे’मा पदक राख्ने व्यक्ति किटाणुरहित ड्रेस लगाएर पदक ‘ट्रे’मा राख्ने सुनिश्चित गरिएको पनि बाकले जानकारी गराएका छन् । जसले पदकलाई कसैले छुन पाउने छैन ।
यतिबेला टोकियो ओलम्पिक २०२० मा कोरोना संक्रमणबाट बच्नको लागि विभिन्न उपायको अवलम्बन गर्दै सतर्कता अपनाइरहेको छ । सो अभियानअनुसार टोकियो ओलम्पिकमा सहभागी कुनै पनि पदाधिकारी र खेलाडीहरूले सभा-समारोहका दौरान हात मिलाउन र अङ्कमाल गर्न निषेध गरिएको छ । त्यस्तै पदक विजेता खेलाडी र समारोहका अधिकारीहरूले पनि अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । विशेष गरेर ओलम्पिक पदक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य वा खेल सञ्चालकका शीर्ष पदाधिकारीद्वारा प्रदान गरिन्छ ।
टोकियो ओलम्पिकमा पुरानो मोबाइल फोन र विद्युत् उपकरणको पुनरावर्तित धातुबाट ओलम्पिक पदकको निर्माण गरिएको छ । विद्युत् उपकरणको पुनर्विकरणबाट बनेका काँचका पदक जस्ता देखिने टोकियो ओलम्पिक पदकको व्यास ८.५ सेन्टिमिटर रहेको छ । जसमा युनानकी देवी ‘नाइक’को तिस्बरसमेत रहेको छ ।
टोकियो ओलम्पिकमा पछिल्लो ओलम्पिक भन्दा फरक तरिकाले पदकको निर्माण गरिएको छ । यो पटक जसमा सुन, चाँदी र काँसको प्रयोग गरिएको छ । जुन जापानका जनताद्वारा दानमा दिएका ७९ हजार टनभन्दा अधिक प्रयोग गरिएका मोबाइल फोन र अन्य सानो उपकरणबाट निकालेर बनाइको हो ।
ओलम्पिक पदकको चर्चा गर्दा विभिन्न समय यसको परिवर्तितस्वरुप देखिएको छ । आयोजकले आफ्नो इच्छाअनुसार पदकको निर्माण गर्दै आफ्नो कला संस्कृति झल्काउँदै आएका छन् । खासगरी ओलम्पिकमा सुन, चाँदी र तामाको पदक दिँदै आइएको छ । तर सन् १९१२ मा स्टक होममा आयोजित ओलम्पिकमा अन्तिम पटक पूरै सुनले बनेको स्वर्णपदक खेलाडीलाई प्रदान गरिएको थियो ।
स्वर्ण पदक भने पनि त्यो पूरै सृुनले बनेको हुँदैन । त्यसमा सुनको लेपन मात्र प्रयोग गरिएको हुन्छ । आइओसीको निर्देशनअनुसार एउटा स्वर्ण पदकको निर्माणमा कम्तिमा ६ ग्राम सुनको प्रयोग गरिएको हुनुपर्छ । स्वर्णपदकमा धेरैजसो चाँदीकै हिस्सा हुन्छ ।