जनकपुरधाम । माओवादी केन्द्रका सांसदले संघीय सरकार अन्तर्गत रहेको प्रहरीका लागि बजेट प्रदेशले बजेट छुट्याएकामा सरकारको विरोध गरेका छन् । प्रदेश २ का प्रदेशसभा सदस्य भरत साहले यस्तो विरोध जनाएका हुन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका साहले प्रहरीलाई करोडौं बजेट किन दिएको हो ? भनी प्रश्न गरे । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमाथिको छलफलमा भाग लिदैं सांसद साहले भने, ‘प्रहरीलाई किन करोडौंको बजेट ? तपाईं अन्तर्गत प्रहरी छ ?’
नेता साहले नेपाल तथा सशस्त्र प्रहरी संघीय सरकार अन्तर्गत रहेकाले प्रदेशबाट बजेट दिन नहुने बताए । ‘हामीसँग भएको कम बजेटबाट पनि प्रहरीलाई बजेट दिइरहेका छौं’ उनले भने, ‘सीमामा उठ्ने कर सिधै संघमा जान्छ । त्यो कुरा बुझ्नु्पर्छ ।’
संघीय सरकार अन्तर्गत रहेको प्रहरीलाई बजेट दिनु भनेको टाउको दुखेको अवस्थामा खुट्टा दुखेको औषधि खानुजस्तै भएको उनले बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश प्रहरी कार्यालय तथा मातहतका जिल्ला प्रहरी, इलाका प्रहरी, प्रहरी चौकी ट्राफिक प्रहरी लगायतका निकाउहरुको पूर्वाधार निर्माणका लागि ७ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै सशस्त्र प्रहरी बल तथा मातहतका सीमा सुरक्षा बलहरुको कार्यालयको पूर्वाधार निर्माणका लागि १ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । सांसद साहले आर्थिक वर्षको अन्त्यमा विकास निर्माणको काम गर्दा कर्मचारीले फाइदा लिने गरेको बताए । ‘काम गर्ने समय कम हुन्छ त्यो बेला काम गर्नेले केही प्रतिशत बाध्य भएर कर्मचारीलाई दिई काम गराउनु परेको छ’ साहले भने, ‘यसको दोषी हामी नै हौं । यसलाई सच्याउनुपर्छ । काम असारभन्दा पहिला नै गराउनुपर्छ ।’
प्रदेश २ का १० प्रतिशत सांसदको काठमाडौंमा घर नभएको, तर ९८ प्रतिशत प्रशासकको काठमाडौंमा घर रहेको सांसद साहले दावी गरे । ‘तर उनीहरुलाई जनताले गाली गर्दैनन् । कमाउने कर्मचारीले अपजस सबै जनप्रतिनिधिले लिनुपरेको छ’ उनले भने ।