• मंसिर १७ २०८१, सोमबार

नेपालका चाणक्य : आचार्य चण्डेश्वर

असार २६ २०७८, शनिबार

आचार्य चण्डेश्वर नेपालका लागि कौटिल्य सरहका अर्थशास्त्री हुन् । उनलाई नेपालका एक विशिष्ट प्रतिभा, विद्वान र संविधान निर्माणका आधार सूत्रकारको रुपमा मानिएका छन् । उनको बुबाको नाम वीरेश्वर थियो भन्ने बाजेको नाम देवादित्य थियो । उनी चौधौँ शताब्दीतिर बाराको सिमरौगढमा जन्मिएको मानिएको छ ।

नेपाली माटोमा नै रहेर आचार्य चण्डेश्वरले राजनीतिरत्नाकर ग्रन्थ रचना गरेका थिए । एउटा चाख लाग्दो कुरा यो छकी नेपालको मल्लकालीन राज्य प्रणाली आचार्य चण्डेश्वरका सिद्धान्तहरुमा आधारित रहेर संचालन गरिएका थिए भनेर इतिहासकारहरुले उल्लेख गरेका छन् । आचार्य चण्डेश्वर राजा हरिसिंहदेवको दरबारका मन्त्री थिए ।

हरिसिंहदेव कर्णाटवंशी थिए र उनको राजधानी सिमरौनगढमा थियो । भनिन्छ, राजा हरिसिंहदेवले २८ वर्षसम्म राज्य सञ्चालन गरेका थिए । मध्यकालीन समयमा सिमरौनगढ राज्य एउटा सभ्य र उन्नत राज्य थियो । यो राज्यको उन्नति हुनुको मुख्य कारण आचार्य चण्डेश्वर र उहनले रचना गरेको राजनीतिरत्नाकर ग्रन्थलाई श्रेय जान्छ ।
स्वयम आचार्य चण्डेश्वरले आफूलाई आफ्नो परिचय कविता मार्फत् यसरी दिएका छन् ।

मन्वादिस्मृतिराजनीतिलधेरादाय संक्षेपतो
नानानीतिनिबन्धसम्मतं चित्वा चिराय श्रमात ।
श्रचिण्डेश्वरमन्त्रिणा विरचितो रत्नाकरो भूभुजा
भाव्योअसौ भुविभूतये भष्वता मान्यो वदान्योदयात ।

(मनु आदिका स्मृतिग्रन्थमा प्रतिपादित राजनीतिरुप समुद्रबाट सार खिचेर, अनेक नीति, निबन्ध अनुकूल विभिन्न मतहरूलाई चिरकालसम्म परिश्रमपूर्वक छानेर श्रीचण्डेश्वर मन्त्रीद्वारा रचिएको यो राजनीति रत्नाकर राजाहरुद्वारा आदर गरिन्छ तथा उदार पुरुषहरूको उन्नति गर्ने हुनाले सम्मानित भएर पृथ्वीमा ऐश्वर्य वृद्धि गर्छ ।)

वास्तवमा आचार्य चण्डेश्वरले रचना गरेको अर्थशास्त्र ठूलो नभएतापनि त्यतिखेरको परिवेशमा निकै महत्वपूर्ण र कोशेढुंगा सावित भएको थियो । यिनै ग्रन्थको सहायताले पछिसम्म मल्ल राजाहरुले शासन गरेकोले मल्लकाल समृद्ध र उन्नत भएको देखिन्छ । यो ग्रन्थ कौटिल्यको अर्थशास्त्र, शुक्रनीति, मनुस्मृति र नारादस्मृतिमा रहेका विषय वस्तुसँग मिल्दोजुल्दो रहेतापनि नेपालको माटोमा रचना गरिएको मौलिक कृति हो ।

यस भित्र सोह्र अध्यायहरु रहेका छन् । राज्य व्यवस्था, अमात्य, पुरोहितादी, न्यायाधिश, सभासद, दुर्ग व्यवस्था, राजकीय निर्णय, राजकीय कोष, सेना, सेनापति, राजदूत, राजकृत्य, दण्ड, राज्यदान, अविभाज्य धन, राज्यभिषक अध्यायहरु रहेका छन् । यस ग्रन्थमा रचनाकारले सोह्र विद्वानहरु (अमरसिंह, कात्यायन, कामन्दक, कुल्लुक भट्ट, कौटिल्य, नारद, मनु, याज्ञवल्क्य, लक्ष्मीधर, वशिष्ठ, विष्णु, बृहस्पति, ब्यास, शुक्र, श्रीकर र हारित) र तीनवटा धार्मिक ग्रन्थहरु भागवत, रामायण, र महाभारतको उल्लेख गरेकाछन् ।

छिमेकी भारतका प्रख्यात योग गुरु केवी स्वामी आइयंगरले आचार्य चण्डेश्वरलाई आदरपूर्वक उनको विभिन्न पुस्तकहरुमा तथा प्रवचनहरुमा बारम्बार उल्लेख गरेका छन् । नेपालको विशिष्ट गौरवशाली विद्धान व्यक्तित्व, अर्थशास्त्री, राजनीतिशास्त्री, संविधान निर्माणका आधार सुत्रधार आचार्य चण्डेश्वरलाई कहिल्यै पनि भुल्नु हुँदैन ।

उनका कृतिलाई विशेष प्राथामिकतामा राखेर आफ्नो तर्फबाट तथा राष्ट्रको तर्फबाट गहन अध्ययन अनुसन्धान गरी सत्य, तथ्य आम मानिसहरुमा पुर्याई शिक्षित तुल्याउनु आजको आवश्यकता हो । राजनीतिरत्नाकर ग्रन्थलाई अनुवाद गर्नुका साथै विश्वविद्यालयका पाठ्य पुस्तकमा समावेश गर्नु पर्ने देखिन्छ । समयमा नै पहिचान गरी राष्ट्रले सम्मान गर्नु पर्ने देखिन्छ ।