• बैशाख १८ २०८२, बिहीबार

ट्रम्पले हाले फेसबुक, ट्वीटर र गुगल विरुद्ध मुद्धा

असार २४ २०७८, बिहीबार

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्वीटर र अल्फाबेट कम्पनी र तिनका प्रमुख कार्यकारी अधिकृतविरूद्ध मुद्दा हालेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले कन्जरभेटिभ विचारधारालाई गैरकानुनी तरिकाले प्रतिबन्ध लगाएको भन्दै तीन कम्पनी र तिनका सिइओ मार्क जुकरबर्ग (फेसबुक), ज्याक डोर्सी (ट्वीटर) र सुन्दर पिचाई (अल्फाबेट) विरूद्ध बुधबार मियामीको एक अदालतमा मुद्दा दर्ता गराएका हुन् । अल्फाबेट गुगलको प्यारेन्ट कम्पनी हो ।

ट्रम्पको मुद्दामा यी कम्पनीहरूले अमेरिकी संविधानमा प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकको उल्लंघन गरेको तर्क गरिएको छ । मुद्दा हालेर ट्रम्पले फेसबुक, ट्वीटर र युट्युबले अन्यायपूर्ण तरिकाले बन्द गरिदिएका प्रयोगकर्ताका पक्षमा आफूलाई उभ्याएका छन् ।

‘हामीले अमेरिकी स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको जित सँगसँगै हासिल गर्नेछौं,’ तीन कम्पनी र तिनका सिइओविरूद्ध मुद्दा हालेपछि न्युजर्सीको पत्रकार सम्मेलनमा ट्रम्पले भने । ट्रम्पको मुद्दाबारे ती कम्पनीले अहिलेसम्म केही प्रतिक्रिया दिएका छैनन् ।

गत जनवरी ६ मा ट्रम्पका सयौं समर्थकले संसद भवनमा हुलदंगा गरेका थिए । ट्रम्पले सामाजिक सञ्जालमार्फत उनीहरूको प्रशंसा गरेपछि सामाजिक सञ्जालहरूले उनलाई प्रतिबन्ध लगाइदिएका थिए । त्यतिबेला उनी अमेरिकाका बहालवाला राष्ट्रपति थिए । ट्रम्पलाई त्यतिबेला लगाइएको प्रतिबन्ध ती कम्पनीहरूले अहिलेसम्म फुकुवा गरेका छैनन् ।