• बैशाख १३ २०८३, आईतवार

आश्वासन दिने पश्चिमा, खोप दिने चीन

असार २१ २०७८, सोमबार

काठमाडौं । डेनमार्कले दक्षिण एसियाली मुलुक भुटानलाई अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको २ लाख ५० हजार मात्रा खोप सहयोग गर्ने भएको छ । डेनिस सहयोग निकाय डानिडाले भुटानी जनतालाई कोभिड–१९ विरुद्धको खोप आवश्यक परेको उल्लेख गर्दै शुक्रबार सहयोग गर्ने निर्णय गरेको हो ।

डेनमार्कलाई पर्याप्त भएपछि भण्डारण गरेर राखिएको खोपमध्येबाट भुटानलाई दिन लागिएको हो । डेनमार्कसँग नेपालले पनि खोप सहयोग मागेको थियो । तर उसले सोझै दिन चाहेन । अमेरिकाले शुक्रबार कोभ्याक्समार्फत दक्षिण एसियाकै अर्को मुलुक पाकिस्तानलाई २५ लाख मात्रा मोर्डना खोप उपलब्ध गराएको छ ।

उक्त खोप इस्लामावादमा पुगिसकेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । अमेरिकाले बंगलादेशलाई पनि २५ लाख मात्रा मोर्डना खोप दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जेठ १० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकाबाट जोन्सन एन्ड जोन्सनको खोप ५० लाख मात्रा खरिद गर्न पत्राचार गरेको जनाएको थियो ।

यसका लागि नेपाली दूतावासमार्फत अमेरिकी अधिकारीहरूसँग पहल भए पनि सफल हुन सकेको छैन । अर्कोतर्फ राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १३ गते अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोप सहयोगका लागि पत्र पठाएकी थिइन् ।

डेनमार्कले भुटानलाई र अमेरिकाले पाकिस्तान र बंगलादेशलाई खोप दिनुले भने नेपालको कूटनीतिक क्षमता नपुगेको हो कि नेपाललाई पश्चिमी मुलुकहरूले नपत्याएका हुन् भन्ने प्रश्न उठेको छ । पश्चिमा मुलुकहरूले खोप सहयोगका लागि नेपालले गरेको आग्रहलाई बेवास्ता गरेको देखिएको छ ।

नेपालमा फागुन अन्तिम साता अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको र भारतीय कम्पनी सिरम इन्स्टिच्युटको उत्पादन कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका करिब १४ लाख नागरिक दोस्रो मात्रा कुरिरहेका छन् । उनीहरूले अक्सफोर्ड–अस्ट्राजेनेकाकै खोप लगाउनुपर्छ तर त्यो खोप कहिले आइपुग्छ भन्ने टुंगो छैन । यो समस्याका बीच सरकारले परराष्ट्र मन्त्रालयमार्फत जेठ तेस्रो साता डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावासमार्फत त्यहाँको सरकारलाई खोप सहयोगको आग्रह गरेको थियो । युरोपेली युनियनको सदस्य भएका नाताले डेनमार्कले अन्य मुलुकलाई कोभ्याक्समार्फत नै खोप सहयोग गर्ने जनाएको थियो । तर भुटानले सोझै खोप पाउँदैछ ।

अमेरिकाका लागि नेपालका पूर्वराजदूत शंकर शर्मा डेनमार्कले भुटानमा वातावरणसँग सम्बन्धित काम गर्दै आएको र त्यहाँको वातावरण संरक्षण सम्बन्धी कामबाट अति नै प्रभावित भएको हुनाले खोप सहयोग गरेको हुन सक्ने ठान्छन् । उनले डेनमार्कले नेपालमा भने कोभिड–१९ को संक्रमण दर बढिरहेको बाहेक केही नदेखेकाले सहयोग नगरेको हुन सक्ने बताए । उनले खोप ल्याउन सबैभन्दा महत्वपूर्ण र बलियो पक्ष कूटनीतिक लबिइङ नै भएको प्रस्ट पारे ।

अमेरिकाबाट बंगलादेशलाई खोप सहयोग आउनुको पछाडि गार्मेन्ट व्यापार कारण रहेको शर्माको भनाइ छ । ‘दुई मुलुकबीच पहिलेदेखि नै गार्मेन्ट व्यापारको विषय धेरै बलियो छ,’ उनले भने । पाकिस्तानको अमेरिकासँग पहिलेदेखि नै उच्चस्तरीय सम्बन्ध राम्रो रहेकाले अहिले खोप सहयोग आएको शर्माले बताए । ‘खोप ल्याउन हाम्रो पनि केही न केही विषय हुन आवश्यक छ ।

अहिले लबिइङ नै ठूलो हो,’ उनले भने, ‘हामीले सम्बन्धित मुलुकलाई यस्तो विषय देखाउनुपर्यो, जसबाट उनीहरू खोप सहयोग गर्न बाध्य बनुन् ।’ उदाहरणका लागि नेपालले बेलायती सेनाबाट अवकाश पाएकाहरूले पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउन नपाएको भन्दै बेलायतलाई आग्रह गर्नुपर्ने उनको सुझाव छ । ‘त्यत्तिकै खोप चाहियो भनेर राष्ट्रपतिबाटै पत्र पठाएर आउने सम्भावना हुँदैन,’ शर्माले भने ।

कोरोना महामारीमा चीनले नेपाललाई पटक–पटक स्वास्थ्य सामग्री सहयोग गरेको छ । भारतले सुरुमा नेपाललाई अनुदानमा १० लाख मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । भारतीय सेनाले नेपाली सेनालाई थप १ लाख मात्रा खोप सहयोग गरेको थियो । त्यसपछि कोभिसिल्डको उत्पादक सिरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख मात्रा खरिद गर्ने सम्झौता भइवरी अग्रिम भुक्तानी गरे पनि १० लाख मात्रा भित्रिएको छ । बाँकी १० लाख मात्रा कहिले आउने ठेगान छैन । केपी ओली सरकारले खोप खरिदका लागि भारतलाई प्राथमिकता दिएको थियो ।

चीनले खोप सहयोगका लागि तसंकेत गर्दा पनि ओली सरकारले वास्ता गरेको थिएन । महामारीको दोस्रो लहरले संकटमा परेपछि भारतबाट खोप निर्यातै बन्द भयो । त्यसपछि सरकारले अन्य मुलुकसँग खोप खरिद गर्न अग्रसरता लिएको हो । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले गत वैशाख २३ गते चिनियाँ विदेश मन्त्रालय र चिनियाँ खोप तथा स्वास्थ्य सामग्री उत्पादक कम्पनी सिनो फार्मका पदाधिकारीसँग खोप खरिदका विषयमा छलफल गरेका थिए ।

अन्ततः नेपाल र चीनबीच ४० लाख मात्रा खोप खरिदका लागि सहमति भएको छ । चीनले यसअघि १८ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराइसकेको छ । नेपालले कोभ्याक्समार्फत ३ लाख ४८ हजार मात्रा खोप सहयोग पाएको थियो । कूटनीतिज्ञ सुन्दरनाथ भट्टराई नेपाललाई संकटमा पर्दा सधैं सहयोग गर्ने मुलुक चीन नै रहेको बताउँछन् । ‘पश्चिमा मुलुकहरूले दिने भनेर हल्ला मात्र बढी हुन्छ,’ उनले भने ।