धादिङ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले कोरोनाका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाद्यान्य सहयोग गरेका छन् । बिहिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रमा ३५ परिवारलाई एक महिना पुग्ने खाद्यान्य गाउँपालिकाका उपाध्यक्ष देविप्रसाद सिलवाललाई हस्तान्तरण गरेका हुन् ।
आफ्नो जन्मदिनका अवसर पारेर धादिङका चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न दिने गरी सरकारले अपनाएको एकद्धार प्रणाली अन्तर्गत नै गाउँपालिकालाई सहयोग उपलब्ध गराएको अध्यक्ष ढकालले बताए । सञ्चार माध्यमबाट चेपाङ समुदायका खाद्यान्न समस्या रहेको जानकारी पाएपछि एक नेपालीलाई अप्ठयारो पर्दा अर्को नेपालीले सहयोग गनुपर्ने मान्यता अनुसार आफूले कति सहयोग गर्यो भन्दा पनि प्रेम र सदभाव बाँड्न आएको बताए ।
अध्यक्ष ढकालले यस अधि पनि भूकम्प गएको बखत धादिङको धुसामा सहयोग गरेको स्मरण गर्दै संकटमा सबै नागरिकले जसले जे सकिन्छ त्यो सहयोग गर्नुपर्ने बताए । ढकालले आफू सम्बद्ध संस्थाबाट गाउँपालिकासँग अन्तरसम्बन्धित भई नेतृत्व विकास लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुमा सहभागिताको लागि सहकार्य गर्ने पनि बताए ।
बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देविप्रसाद सिलवालले जन्मदिनमा गरिने खर्च कटौती गरी विपन्न चेपाङ परिवारलाई खाद्यान्य सहयोग सबैका लागि अनुकरणीय हुने बताए । उनले यस किसिमको सहयोगले समाजमा विभिन्न सन्दर्भमा गरिने खर्च कटौती गरी विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्नु आवश्यक रहेकोमा जोड दिँदै गाउपालिकामा दुःख पर्दा सम्झेकोमा आभार ब्यक्त गरे ।
उपाध्यक्ष सिलवालले राहत वितरण कार्यक्रम एकद्धार प्रणाली अन्तरर्गत भएको जानकारी दिँदै जनताको दुःखमा जहिले पनि गाउँपालिका साथमा रहेको भन्दै यस्तै सहयोगी भावना भएका ब्यत्तित्वहरुबाट सदैव साथ चाहेको बताए ।
यो सहयोगले परिवारलाई केहि दिनका लागि भएपनि जीविकोपार्जनमा केही सहयोग होस् भनेर जन्मदिनमा फजुल खर्च नगरी विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकामा अध्यक्ष ढकाललाई धन्यवाद दिए ।
कोभिड–१९ बाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित भएका र सहयोगको अति जरूरी भएका परिवारहरूको पहिचान गरी संकलित नामावलीमध्ये काली सुनार, तेजकुमारी सुनार, मैया सुनार, सेती सुनार, निर्मला सुनवार लगायत ३५ परिवारलाई खाधान्य वितरण गरिएको छ ।
सो अवसरमा बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ अध्यक्ष रोसनकुमार सिलवाल, प्रमुख शासकीय अधिकृत लक्ष्मणप्रसाद भट्टराई, गाउपालिकाका अधिकृृत सन्तोष अर्याल, पशुराम घिमिरे, विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा, मनोजकुमार सुर्खेती, धादिङ अस्पातालको डा.सदिक्षा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सो राहत वितरणको संयोजन विश्वशान्ति तथा एकीकृत परिवार संघ नेपाल धादिङका संयोजक दिपक सापकोटाले गरेका थिए ।