पुरानो गुह्यस्वरी हालको काठमाडौंको तारकेश्वर नगरपालिका वडानम्बर ४ मा रहेको छ । यसलाई नेपालमा भएका शक्ति पिठहरुमध्ये प्रमुख पिठको रुपमा लिइन्छ । किंवदन्ती अनुसार चीनबाट नेपाल भ्रमणमा आएका मन्जुश्रीलाई नैरात्मादेवी गुह्यस्वरीले विश्वरुप दर्शन दिएको कुरा उल्लेख गरेको पाइन्छ ।
गुह्यस्वरी देवीले नै खड्गसिद्धी गरी मन्जुश्रीलाई प्रदान गरेको र सोही खड्गको सहायताले चोभारडाँडो काटी काठमाडौँ खाल्डोमा रहेको पानी बाहिर पठाई मानिस बस्न योग्य भूमि बनाएको कुरा स्वयम्भू पुराणहरुमा पाइन्छ ।
श्रीस्वस्थानी व्रतकथाका अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतीदेवीको गुह्य पतन भएको हुनाले सो स्थानलाई गुह्यस्वरी शक्तिपिठ भनिएको कुरा स्वस्थानी कथामा उल्लेख गरिएको छ ।
अर्को कथन अनुसार महादेवले कालकुट विष सेवन गरेपछि डाहा शान्त गर्न उत्तरापन्थ जानु अगाडी यही बसेको कुरा उल्लेख गरिएको पाइन्छ । त्यसैगरी पार्वती रजश्वला हुने भएपछि महादेवबाट टाढा भई यस स्थानमा आएर अलप भएर गुह्यस्वरी देवीका रुपमा उत्पन्न भएको कुरा समेत प्रचलनमा रहेको छ ।
काठमाडौँ उपत्यकाको उत्पत्ति भन्दा पहिले नै अस्तित्वमा रहेको गुह्यस्वरीबारे अनगिन्ती किंवदन्तीहरु रहेका छन् । कुनै समय एकजना जोगी कालीको दर्शन गरेका र काली प्रसन्न भई अब उप्रान्त मेरो दर्शन गर्नु पर्दैन दर्शन गर्नु परेमा यही थालीलाई मानेर पूजा पाठ गर्नु, यही थाली लिएर आफ्नो स्थानमा राख्नु कालीदेवीले एक थाली दिएर पठाइन् । जोगी घुम्दै जाने क्रममा सो थाली बाटोमा खसेछ । सोही थाली खसेको स्थानमा गुह्यस्वरी प्रकट भएको भन्ने कथन पनि प्रचलनमा रहेको छ ।
स्वयम्भू पुराण अनुसार तपस्वी तथागतले कमलको बीउ अथवा पिंडालू यही गुह्यस्वरीमा नै रोपेको र त्यसको फैलावट स्वयम्भूसम्म पुगी कमल फूलेको र त्यही स्वयम्भू ज्योतीलिङ्ग उत्पति भएको कुरा उल्लेख गरिएको छ । यसबाट के कुरा स्पष्ट हुन्छ भने स्वयम्भू उत्पति हुनुभन्दा अगाडी देखि नै गुह्यस्वरीको अस्तित्व रहेको थाहा हुन्छ ।
विक्रम संवत १६२६ मा राजा प्रताप मल्लको राज्यकालमा गुह्यस्वरीलाई पशुपती नजिकै यसकै स्वरुपमा सारेको इतिहासमा पाइन्छ । त्यसै स्थानमा नेपाल संवत ७०० तिर मन्दिर बनाएको पनि उल्लेख गरिएको छ ।
पुरानो गुह्यस्वरी हाल चाँदीको पूर्ण कलशका रुपमा हामीले दर्शन गर्न सकिन्छ । त्यहाँका पूजारीका अनुसार पिठको कुण्ड अझैं ७र८ फिट गहिरो रहेको र देवस्थलको मुनि अर्को गोप्य असली तान्त्रिक देवता रहेको पनि बताइएको छ ।
मन्दिर अलि अग्लो स्थानमा रहेको, वरपर धर्मशाला बनाइएको र चारैतिर पर्खाल बनाएर व्यवस्थित गरिएको छ । मन्दिर भित्र प्रवेश गर्न चार ढोका रहेको र भित्तामा मार्वल लगाइएको छ । स्मरण रहोस नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पालादेखि गाउँका एकजना पुजारीलाई नित्य पूजा गर्ने व्यवस्था गरिएकोमा हाल निरन्तरता हुन सकेको छैन ।
गुह्यस्वरी मन्दिर परिसरभित्र गोसाईंकुण्ड, भैरवकुण्ड र सरस्वती कुण्डगरी तीनवटा कुण्डहरु रहेका छन् । रसुवाको गोसाईंकुण्ड तीर्थयात्रा गरिसकेपछि त्यहीकै जल यी कुण्डहरुमा सेचन गरिन्छ । रसुवामा रहेको गोसार्इंकुण्ड, भैरवकुण्ड र सरस्वतीकुण्ड दर्शन गर्न जान नसकेकाहरुले यहीँका कुण्डमा दर्शन गर्ने प्रचलन पनि रहेको छ ।
नेपालका प्रमुख चाडपर्वहरुको समयमा यहाँ पनि पूजाआज्ञा गर्ने प्रचलन रहेको छ । विवाह, ब्रतबन्ध आदी कार्य पनि यसै मन्दिरमा गर्ने गरेको पाइन्छ । हरेक वर्ष बालाजु बाइसधारा पूर्णिमा अथवा ल्हुती पूर्णिमाको दिन यहाँ विशेष मेला लाग्दछ । त्यसैदिन विभिन्न देवी देवताहरुका रथहरु यहाँ ल्याउने गरिन्छ ।
स्वयम्भू उत्पत्तिको कथासँग जोडीएको यस पुरानो गुह्यस्वरी प्रचारप्रसारको अभाव तथा स्थानीय निकाएको अदुरदृष्टिले ओझेलमा परेको देखिन्छ । यसतर्फ समयमा नै ध्यान दिन सकेको खण्डमा नेपालको एक प्रसिद्ध र महत्वपूर्ण धार्मिक स्थल बन्नेमा शंका गर्नुपर्ने छैन ।