• कार्तिक ८ २०८१, बिहीबार

वस्तुलाई बुझ्ने र बदल्नेबारे मार्क्सवादी दृष्टिकोण

असार १६ २०७८, बुधबार

सामान्यतया जीवन र जगत अर्थात् चेतना र पदार्थ वा भनौं व्यक्ति र वस्तु, घटना र प्रकृया, विचार र व्यवहार, वृत्ति र प्रवृत्ति अनि विश्व र ब्रह्माण्ड आदिका बारेमा यावत कामकुराहरु जान्ने कार्यलाई हेर्ने वा बुझ्ने भनिन्छ । यसरी जगतलाई बुझ्ने भनेको कुनै वस्तुको जन्म, विकास र विनासका बारेमा, उक्त वस्तुका विशेषताका बारेमा, सो वस्तुसँग अरु वस्तु, व्यक्ति वा घटनाको अन्तर्सम्बन्धका बारेमा अध्ययन गर्नु र निष्कर्षमा पुग्नु पनि हो । साथै, सो वस्तुलाई देश, काल र वातावरणका सापेक्षतामा हेर्ने, त्यस्को अन्य विभिन्न वस्तु र प्रकृतिसितको अन्तरसम्बन्ध, अन्तकृया, अन्तर र प्रभाव हेर्ने र सो वस्तुको उपादेयता र उपयोगिता के कति छ भनेर हेर्ने पनि बुझ्ने नै हो ।

कुनै पनि वस्तुका आन्तरिक र बाह्य, प्रत्यक्ष र अप्रत्यक्ष, स्थूल र सूक्ष्म, भौतिक र आत्मिक, स्थायी र अस्थायी, जीवनशील र मरणशील, सकारात्मक र नकारात्मक, अंश र समग्र, आदि विभिन्न रुप, गति, पक्ष र विशेषताहरु रहेका हुन्छन् । तिनको कसीमा राखेर सो वस्तु वा विषयलाई अनुगमनात्मक र निगमनात्मक अनि विश्लेषणात्मक र संश्लेषणात्मक रुपमा जन्मदेखि मृत्युसम्म अर्थात् आदिदेखि अन्तसम्म, इतिहासदेखि वर्तमान हुँदै भविष्यसम्म, सामान्यदेखि विशेषसम्म र तलदेखि माथिसम्म हेरेर जाँच्ने, परीक्षण र प्रयोग गर्ने विधि नै बुझ्ने बारेको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी अर्थात् सही, वस्तुवादी र वैज्ञानिक विधि हो ।

यसरी कुनै वस्तु वा विचार अथवा समाज व्यवस्थाका विविध आयामहरुलाई विभिन्न तरिकाले हेरेर त्यसको साङ्गोपाङ्गो रुप र गुण अनि सकारात्मक र नकारात्मक पक्ष समेत विश्लेषण र संश्लेषण गरेर सार र समग्रमा सो वस्तु वा विचारका बारेमा सम्पूर्णरुपले निष्कर्षमा पुग्ने र ग्रहण गर्ने वा आत्मसात गर्ने प्रयत्नजन्य कार्यलाई बुझ्ने भनिन्छ ।

कुनै कुरालाई राम्रोसँग, सही तरिकाले अर्थात् वस्तुवादी र वैैज्ञानिक दृष्टिकोणले हेरेर वा बुझेर त्यसका बारेमा निकालिएको निष्कर्षका आधारमा त्यो कुरालाई अवलम्बन र कार्यान्वयन गर्ने वा नगर्ने, भोग्ने वा त्याग्ने, विकास गर्ने वा विनास गर्ने जस्तो निर्णय लिनुपर्ने हुन्छ । नबुझिकनै कुनै कामकुरा गरियो भने त्यो घातक पनि हुनसक्छ । त्यसैले कुनै वस्तु वा विचार स्वीकार वा बहिष्कार गर्नुभन्दा पहिले अथवा त्यसलाई बदल्ने र विकास गर्ने वा ध्वंश गर्ने र विनास गर्ने गर्नुभन्दा पहिले सम्बन्धित वस्तु, विचार, विषय वा व्यक्तिका बारेमा सही बुझाइ हुनु प्राथमिक र अनिवार्य आवस्यकता र शर्त नै हो र हुनै पर्दछ । यदी सही तरिकाले हेर्न र बुझ्न सकिएन भने सही रुपमा बदल्न र विकास गर्न पनि सकिन्न । तसर्थ कुनै कामकुरा बारे बुझिसकेपछि बदल्नेबारे पनि जानकारी हुन आवश्यक हुन्छ ।

साधारतः कुनै वस्तु, व्यक्ति, विचार वा वृत्ति, शक्ति र प्रवृत्ति अनि व्यवस्था र अवस्थालाई सचेत वा अचेत, स्वाभाविक वा अस्वाभाविक, सरल, सहज वा जटिल, कठिन, ढिलो वा चाँडो, विधिपूर्वक वा बलपूर्वक, स्वतस्फूर्त वा योजनाबद्ध, रहरले वा बाध्यताले, एकल वा सामूहिक, थोरै वा धेरै, रुपमा वा गुणमा, अंशमा वा समग्रमा र आन्तरिक वा बाह्यरुपमा हुने बदलाव वा गरिने फेरबदललाई परिवर्तन हुने वा गर्ने कामकुरालाई नै बदल्ने भनेको हो ।

मार्क्सवादी विचार, दृष्टिकोण र सिद्धान्त अनुसार सचेत, संगठित र योजनाबद्ध रुपमा पुरानो, मक्किएको, मरणशील र कालातीत भैसकेको कुनै पनि कुरालाई अर्को नयाँ, युगीन, क्रान्तिकारी र जीवनशील कुराले निषेध वा रुपान्तरण गरेर हुने, गर्ने वा गराइने गुण वा सारको परिवर्तन जो सही वा प्रभावकारी पनि हुन्छ, त्यही कार्य हुनु भनेको नै बदल्नु भनेको हो ।

कुनै वस्तु, विचार, व्यक्ति, प्रकृति र घटनामा हुने वा गरिने यो बदलाव वा परिवर्तन मुख्यतः दुई रुपमा हुन्छ । एउटा हो मात्रात्मक परिवर्तन अर्थात मात्रामात्रा गरेर, अंशअंश हुँदै, थोरैथोरै रुपमा क्रमशः ढिलो गरी शान्तिपूर्ण रुपले र स्वतः हुने वा गरिने विकास वा परिवर्तन । अनि अर्को हो, गुणात्मक परिवर्तन अर्थात् सचेत, संगठित र योजनाबद्ध रुपमा बलपूर्वक धक्का, छलाङ्ग र फड्कोको स्वरुपमा भित्रैदेखि हुँदै र गर्दै आएर एक्कासी देखिने, हुने वा गरिने पूर्ण परिवर्तन ।

उदाहरणार्थ पानी सुस्तसुस्त क्रमशः तात्दै जाँदा चिसो पानी चीसोबाट क्रमशः मनतातो, अलितातो र चर्को हुनु पानीको चिसो र तरल विशेषतामध्ये चिसो विशेषता तातो विशेषतामा मात्र बदलिनु मात्रात्मक परिवर्तन हो भने त्यही पानीलाई १०० डिग्री तापक्रमभन्दा माथितिर तताउँँदै गएमा पानी उम्लेर बाफ बन्छ अर्थात् नित्तान्त नयाँ र भिन्नै वस्तुमा बदलिन्छ । यसरी तातो हुनुसँगसँगै पानीको तरल विशेषता वा गुण उड्ने विशेषता भएको भिन्नै पदार्थ वायुमा बदलिनु गुणात्मक परिवर्तन हो ।

यसरी स्पष्ट हुन्छ कि कुनै वस्तु, व्यक्ति, घटना, प्रकृति र समाजमा हुने वा गरिने आमूल परिवर्तन अर्थात् उक्त कुराको रुप, रङ्ग, आकार, प्रकार मात्र होइन गुण, गति, प्रकृति र प्रवृत्ति बदलिएको पूर्णरुपले भिन्नै र नयाँ कुरा बन्नु र बनाउनु गुणात्मक रुपले बदल्नु वा परिवर्तन हुनु र गर्नु हो । स्मरणीय छ कि गुणात्मक रुपले बदलिएको वस्तु वा व्यक्तिमा पुरानै मूल विशेषता लगायत प्रायः सबै गुण वा विशेषताहरु समाप्त हुन्छन् र नित्तान्त नयाँ विशेषता भएको अर्कै वस्तुको रुपमा उक्त पुरानो बस्तु बदलिन्छ वा पुननिर्माण र पुनर्जन्म हुन्छ ।

यो परिवर्तनलाई हेर्दा सामान्यतया यस्तो लाग्छ कि गुणात्मक प्रकारले वस्तु बदल्दा वा बदलिँदा पहिलेको वस्तु ध्वंस, ध्वस्त र समाप्त भयो अर्थात् त्यसको अस्तित्व हरायो वा बिलायो । तर वास्तवमा पुरानो वस्तुको रुप र गुण बदलिएर अर्कै नयाँ वस्तु बनेको हुन्छ अर्थात् पुरानो वस्तुमा आधारभूत बदलाव आएर उक्त वस्तुको परिवर्तित रुप र सारमा अर्थात् गुणको हिसाबले भिन्नै वस्तुमा विकसित भएको हुन्छ । यही परिवर्तन, विकास वा बदलाव हुने, ल्याउने वा गर्ने कृयालाई नै बदल्ने भनिन्छ ।

परिणाम र गुणका हिसाबले परिवर्तनको यो प्रकृया वा स्वरुप पनि दुई प्रकृतिको हुन्छ । एउटा बदलिने प्रकृया र स्वरुप सकारात्मक अर्थात् उध्र्वन्मुख, अग्रगमनकारी, विकासशील, जीवनशील र समृद्धितर्फको हुन्छ भने अर्को नकारात्मक अर्थात् उँधोन्मुख, पश्चगमनकारी, पतनोन्मुख र विनाशशील वा मरणोन्मुख हुन्छ । सामाजिक जीवनमा पहिलो प्रकारको परिवर्तनको अर्थात् सकारात्मक परिवर्तनको नै आवस्श्यकता हुन्छ र त्यो छिटो र राम्रो तरिकाले प्राप्त हुने भनेको गुणात्मक परिवर्तन मार्फत् नै हुन्छ ।

त्यसैले त क्रान्तिकारी मार्क्सवादीहरुले गुणात्मक परिवर्तनमा अर्थात् drastic change मा मुख्य, बढी र विशेष जोड दिन्छन् र दिनुपर्दछ भने मात्रात्मक परिवर्तन अर्थात्  gradual change मा सहायक, कम र सामान्य जोड दिन्छन् । तथापि उनीहरुले यी दुवै प्रकारका परिवर्तनलाई संयोजित र सन्तुलित गरेर प्रयोग गर्नुपर्नेमा ध्यान पुराउनु उचित र आवश्यक हुने ठान्दछन् । साथै सच्चा मार्क्सवादी क्रान्तिकारी कम्युनिस्टहरुले संसारलाई बुझ्ने मात्र होइन, बदल्नेमा पनि त्यत्तिकै जोड दिन्छन् र संसार बदल्ने यो प्रकृयाको पहिलो पाइलो वा सुरुवातको विन्दु आफैलाई बनाउँछन् अर्थात् आफूलाई बदल्दै जाँदा मात्र अरुलाई र संसारलाई बदलेर समुन्नत, समृद्ध, समतापूर्ण, सुन्दर र सुखद बनाउन सकिने मान्यता राख्छन्  । यही बुझाइ नै बदलल्ने बारेको वास्तविक, वस्तुवादी र वैज्ञानिक अर्थात् सही, समयानुकूल र सुन्दर बुझाइ हो । यही नै बुझ्ने र बदल्ने क्रान्तिकारी  मार्क्सवादी अर्थात् द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी बुझाई पनि हो ।