• मंसिर १७ २०८१, सोमबार

फोनबाटै संक्रमितको उपचार गर्छन् डाक्टर वसन्त

असार १४ २०७८, सोमबार

घोराही, असार १२ ।
‘सास लामो तान्नुस् आमा, छोड्नुस् । फेरि तान्नस्, छोड्नुस’ मोबाइल फोनमा डा. वसन्त पुनले भनिराख्नु भएको थियो । केही समय यस्तै गराएपछि अहिले अलि सजिलो भयो आमा ? भनेर सोध्नुभयो । उहाँले थप्नुभयो, ‘फेरि सास फेर्न धौ भयो भने यस्तै गर्नुहोला । एक मिनेटमा १२ पटक जति सास फेर्नुहोला ।’ यो डा. पुनको अक्सिजन लेवल बढाउने तरिका हो ।

‘जे जे खानु भन्नुभा छ त्यही खाएको छु’, घोराही–१८ गिठेपानीका मानबहादुर मगरले भन्नुभयो ‘अलिकति केही भए फोन गरिहाल्छु ।’ उहाँका अनुसार डा. पुनको फोन जतिबेला पनि उठ्छ । सरकारै नभएको जस्तो, अस्पताल र डाक्टर छैनन् जत्तिकै अत्यास लाग्ने बेला भएको थियो । समस्या परे सोध्ने कहाँ कुनै टुंगो थिएन । त्यसैबेला डा. पुनसँग फोन सम्पर्क भयो । कुन औषधि कति डोज खाने, खानेकुरा के खाने के बार्ने धेरै कुराहरु फोनमा सोधेको मगरको भनाइ छ ।

केहिले धुरुक्कै रोएर डा.पुनको प्रशंसा गरेको घोराही–१४ का अध्यक्ष शक्तिराम डाँगी बताउनुहुन्छ । उहाँका अनुसार यति सजिला डाक्टर रहेछन् । कत्ति नरिसाउने । लामो फोन गरेर सबै सिकाउने न झिजिने भनेर रिपोर्ट दिएका छन् । कोरोना पोजेटिभले दिएको विवरणकै आधारमा पनि वडा कार्यालय सन्तुष्ट छ । कोरोना महामारीमा उहाँको सेवा महत्वपूर्ण रहेको वडाअध्यक्ष डाँगी बताउनुहुन्छ ।

‘डा वसन्तले फोन गर्नुभाथ्यो भने खुशी लाग्यो’ डा. पुनलाई औपचारीक रुपमा काममा लगाउन भूमिका बाँध्दै अध्यक्ष डाँगीले बैशाख २९ गते वडा कार्यालयमै बोलाएर भन्नुभएको थियो, ‘महामारीमा विज्ञता प्रयोग गरिदिन हाम्रो अनुरोध स्विकारी दिनुस् ।’ अध्यक्ष डाँगीले खानुपर्ने, नखानुपर्ने, गर्नु पर्ने, नगर्नु पर्ने भनिदिनु भयो भने पनि कोरोनाबाट धेरै मानिसको ज्यान जोगाउन सकिन्छ । अरुले भनेको पत्यार नहुनसक्छ । सम्बन्धित क्षेत्रका विज्ञले भनेको प्रभावकारी हुनेछ ।

त्यसैबखत डा.पुनले भन्नु भएको थियो । ‘विरामी खुलेर आउनुपर्यो । मैले फोनमा सेवा गरिराख्या छु, त्यसैमा समय बढाउने ता हो, गर्छु’ उहाँले थप्नुभयो, ‘अरु डाक्टरसावको फोनै उठेन भनेर विरामीको गुनासो आयो । म एनिटाइम फोन उठाउन लागेँ । राति एक बजेपनि फोन आयो ।’ उहाँका अनुसार जाँच्या छैन लक्षण त्यही छ भन्थे । कोरोना लाग्यो भन्न डराउँथे । त्यसबेलासम्म धेरै मानिस विरामी भइसकेका थिए । अस्पतालहरु बेड खाली नभएको रिपोर्ट दिन्थे ।

यसरी वडा कार्यालय औपचारिक प्रस्ताव सहित आएपछि डा.पुनलाई थप गम्भिर बन्नुपर्ने भयो । समाज सेवामा समर्पित परिवारले परिचित खानदानकालागि यो अवसर थियो । घरमा असी नाघेकी आमा सहितको भान्सा भएको घरमा जथाभावी कुद्न सजिलो थिएन । सोच्नै पर्दथ्यो । कि त घर नजाने गरी पुरै समय बाहिर बस्नुपर्यो । कि त घरमै बसेर भर्चुअल दिनुपयो दुईवटा विकल्प निस्किए । बृद्धा आमाका कारण घर छोडेर लामै समय बाहिर बस्न सम्भव र व्यवहारीक थिएन ।

संयोगले फिल्डमा खट्ने डा. गिरबहादुर महरा भेटिनु भयो । कमाण्ड डा. पुनमै रह्यो । त्यस दिनदेखि कोरोनाबाट मानिसलाई खराब हुन नदिने अभियानमा डा. पुन सहितको टोलि जुट्यो । उहाँका अनुसार अरु रोगमा तिन–चार मिनेट कुरा गर्ने विरामी कोरोनापछि ३१ मिनेटसम्म लामो कुरा गर्न थाल्यो । एकजनासित कुरा गरिसक्दा चार पाँच जनाको मिस्डकल आइसक्छ । विरामीले मेरा कुरा सुनोस र सही सल्लाह देवस भन्ने चाहन्छ । जीउ दुखेपनि कोरोना, रुघा लागेपनि कोरोना भन्न लाग्यो । अलिकति आवाज बिग्रियो नै ओहो मलाई कोरोना भयो की भनेर डराउन थाल्यो । सानो समस्यामा पनि धेरै आत्तिन लागे । धेरैजनाले अलिकति समस्या हुँदै फोन गरे तिनलाई दुईचार वटा दवाई खुवाएर सजिलै सन्चो बनाइएको छ ।

यसबिचमा पिसिआर गर्ने पैसा नभएका पनि भेटिएको डा. पुनको भनाई छ । उहाँका अनुसार धेरै जान्ने भएर फेसबुकका औषधि खाएको पनि देखियो । जान्दै नजानेर अनावश्यक आत्तिँदा दुःख पाएको पनि थाहा भयो । लाज हुन्छ लुकाउनुपर्छ भनेर होसियारी नअपनाउँदा अरुलाई सार्ने र अन्तिम अवस्थामा अस्पताल पुग्नेपनि भए । उनिहरुलाइ बचाउन डा. पुनको समूह सफल रहेको छ ।

बठ्याइँका साथ भूमिका बाँध्दै अध्यक्ष डाँगीले चित्त बुझाउन त नसकौँला तर, आवश्यक खर्च हामीले उपलब्ध गराउनै पर्छ । के कति हो भनेर सेवा सुविधाको प्रसंग ल्याउनु भयो । समाज सेवाको भावले भरिएका डा. पुनको जवाफ थियो ‘सेवा सुविधा हामी लिन्नौं’ उहाँले थप्नुभयो, ‘त्यो रकम पिसिआर गर्न र दवाइ किन्न नसक्नेलाई खर्च गर्नुहोला ।’

उहाँसँगै रहेका डा. महराले थपि लाग्नुभयो, सुविधाकै लागि बोलाएको भए आउने पनि थिएनौँ । यति भनेपछि सहज भयो । अध्यक्ष डाँगीको चातुर्यतासँगै डा. द्धयको सेवाभावले ठ्याक्कै मेल खाइदियो ।
त्यसको सात दिनपछि जेठ ३ गते समिक्षा भयो । त्यसमा डा. पुनका अनुसार १० मा सात आठ जनालाई घरमै ठिक पार्न सकिन्छ भन्ने पुष्टि भयो । पोजेटिभ भएको पाँचदेखि नौ दिनसम्मकोलाई प्राथमिकता दिनुपर्छ । अरु विरामीलाई डाक्टर नै चाहिन्छ भन्ने हुँदैन । चिकित्सकले पनि सक्छन् ।

सबैसित अक्सिजन नाप्ने प्रविधि हुँदैन । घरघरै अक्सिमिटर राख्न सकिँदैन । अक्सिजन कम भएको थाहा पाउने हिँड्दा शौचालय जाँदा स्याँस्याँ भएपछि हो । सबै कोरानाका विरामीलाई पोजेटिभ नदेखाउन सक्छ । थाहा पाउने तरिका उसमा देखिएका लक्षणहरुबाट हो । त्यसै अनुसार उपचार गर्नपर्छ ।

नकारात्मक समाचार रोकौँ । अफवाह भयो । अक्सिजन सिलिन्डर ल्याएको सुनेपछि मानिसहरु झन माग्न थाले । लेवल ९३ भएकाले पनि घरमा अक्सिजन लगेर राखेका छन् । सास फेर्न गाह्रभयो भनेर आत्तिएको छ । अवस्था हेर्दा सामान्य छ । कोरोनाको औषधि नै अक्सिजन भए झैं गलत तरिकाले अफवाह फैलियो । धेरै पोजेटिभलाई अक्सिजन पाउँदिन कि भनेर चिन्ता छ । मलाई भेटिहाल्यो भने नपाएर मरुला भन्छ । त्यो सरासर गलत सोँच र भ्रम हो ।

‘हाम्रो भेटघाट भाको छैन कस्तो हुनुहुन्छ तपाईं भन्छन्’ निको भइसकेकाले दिएको प्रतिकृया सुनाउँदै डा. पुनले भन्नुभयो, ‘कतिले फोन च्याट गर्छन् । कति घरमै भेट्न आउँछु भनेका छन् ।’ उहाँका अनुसार तिनसय भन्दा धेरैलाई सेवा दिइएको छ । त्यसमा चार जनामात्रै अस्पताल भर्ना हुनुभयो । एकजना अन्तिम अवस्थामा सम्पर्कमा आएकाले अस्पतालले पनि बचाउन सकेन ।

बेस्सरी रोग मच्चिएको बेला राति तिन बजे पनि उठाएको डा. पुनको भनाई छ । उहाँका अनुसार अहिले घट्दै गएको छ । घोराही–१४ कै ७० जना कोरोना पोजेटिभलाई हेरियो । अन्तका सहित धेरैजनाले सल्लाह लिइरहेका छन् । शुरुमै सम्पर्कमा आएकालाई कोभिड बाट हुने जोखिम, अपनाउनु पर्ने सावधानी, खानुपर्ने पोषण, लिनुपर्ने वाफ आदिका बारेमा बुझाइयो ।

त्यसरी सुझाव लिनेहरु यो समाचार तयार पार्दासम्म आठ सय ५० कल पुगेको छ । एउटा फोनबाट हान्ने र परिवारका चार पाँच जनाले कुरा गरेर सेवा लिने गरेको डा. पुन बताउनुहुन्छ । उहाँका अनुसार विरामीलाई चित्त बुझाउने गरी फोन गर्नुपर्छ । सञ्चो हुने उपाए र तरिका बताइदिएपछि करीब ९७ प्रतिशतले घरमै कोरोना जित्न सफल हुनुभयो ।