भूमिकाः
नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति भएको देश हो । यहाँ भएका विविध जातजातिहरुमध्ये फरक संस्कृति, भाषा, भेषभूषा, धर्म भएको शेर्पा जाति पनि छ । नेपालको हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने शेर्पा जातिको बसोबास नेपालको पूर्वी तथा मध्ये हिमाली क्षेत्रको लगभग ८०० फिट भन्दा माथिल्लो क्षेत्रमा पर्दछन् ।
उत्पत्तिः
इतिहासकार डोरबहादुर विष्टका अनुसार शेर्पाहरुको मूल बसोबासस्थल पूर्वी नेपालको सोलुखुम्बु जिल्ला हो । शेर्पाहरु हिमाल छेउछाउबाट हेलम्बुदेखि सोलुतिर हुँदै भारतको दार्जिलिङ र सिक्किमसम्म फैलिएर रहेका छन् । नेपालको सुनकोसी र अरुण नदीले छेकेको त्रिभूज आकार क्षेत्रमा यिनीहरु मुलरुपमा फैलिएर रहेका छन् । प्रजातीय आधार अनुसार मंगोलीयन संप्रदायमा पर्ने यस जातिको नाम ‘स्या र पा’बाट शेर्पा हुन गएको अनुमान गरिएको छ । जसको अर्थ हो, तिब्बती भाषामा ‘पूर्वका मान्छे’ भन्ने हुन्छ । यस अर्थबाट हेर्दा तिब्बतको पूर्वी भागबाट नेपाल प्रवेश गरी सोलुखुम्बु क्षेत्रसम्म आइपुगेको अनुमान गरिएको छ । यस सम्बन्धमा जीएस ग्रियर्सनको सन् १९०९ मा प्रकासित linguistic survey of india vol.3 पुस्तकका अनुसार तिब्बती भाषामा पूर्वलाई ‘स्यार’ भनिन्छ । शेर्पा भन्नाले पूर्वका बासिन्दा भन्ने अर्थ लाग्दछ । यी कुरालाई पुष्टि गर्ने आधारहरु हेर्ने हो भने शेर्पाहरुका सामाजिक, साँस्कृतिक तथा आर्थिक कृयाकलापहरु तिब्बतसित मिल्दछन् ।
बसोबासः
शेर्पाहरु आजभन्दा करिब ६००-७०० वर्ष पहिलेदेखि सोलुखुम्बु जिल्लामा बसोबास गर्दै आएको देखिन्छ । हिमाली भागमा रहेको हावापानीका कारण उनीहरुको बसोबास हिंउदको जाडोमा मूल बसोबास स्थलबाट पहाडतिर झर्ने र वर्षातमा चरणकालागि हिमाली भेगतिर जाने गरेको देखिन्छ । मौसम अनुसार उनीहरुले गर्ने बसोबास पनि फरक फरक छ ।
क) मुख्य बस्ती
ख) सहायक बस्ती
मुख्य बस्ती भन्नाले उनीहरुको मुलथलोलाई जनाउँछ । सहायक बस्ती भन्नाले उनीहरु मौसम र पशु चरणको आधारमा तलमाथी सर्ने बस्ती हो । यसरी बसोबास गर्ने शेर्पा जातिको विक्रम सम्बत २०५८ को जनगणना अनुसार जनसंख्या १,५४,६२२ रहेको छ । जुन जम्मा जनसंख्याको ०.६८ प्रतिशत हो । २०६८ को जनगणना अनुसार उनीहरुको जनसंख्या १,१२,९४६ रहेको देखिन्छ ।
जात, थर विभाजनः
शेर्पाका जात तथा थर पनि यति नै हुन्छन् भनी किटानी गरिएको तथ्य पाइँदैन । मुलरुपमा खादेभ र खाब्दु जस्ता २ वटा जात रहन्छन् । खादेभ उपल्लो र खाब्दु तल्लो जातिका नामले चिनिन्छन् । यी बाहेक पनि अन्य विभिन्न थर जस्तैः जार्गा, गोपार्म, गोले, चियावा, छुसेर्वा, डावा, थाक्टु, नेजुङवा, पाङ्कर्मा, पाङदोर्जे, पिनासा, पेनकपा, मन्दे, मोपा, रोङ्शेर्वा, लाक्सिन्दु, लामा, शेर्पा सलाका आदि रहेका छन् ।
शारिरीक बनावटः
मंगोलीयन सम्प्रदायका शेर्पाहरु शारिरीकरुपमा मझ्यौला कदका ह्रष्टपुष्ट, गहुँगोरो वर्णका साथै यिनीहरुको च्याप्टो नाक, चिम्सा प्रकृतिका साना आँखाहरु र अनुहार चाँही फराकिलो हुन्छ ।
भाषा र संस्कृतिः
शेर्पाहरुको आफ्नै मातृभाषा रहेको छ । विक्रम सम्बत २०५८ को जनगणना अनुसार शेर्पा भाषा बोल्ने मानिसहरुको संख्या १,२९,७७१ रहेको छ । जसले जम्मा भाषिक संप्रदायको ०.५७ प्रतिशत ओगटेको छ । शेर्पाहरु बौद्ध धर्माबलम्बीहरु हुन् । यिनीहरुको धर्म तथा धार्मिक गतिविधि तिब्बती मानिसहरुसित मिल्छ । यिनीहरु दलाई लामालाई मान्दछन् । यिनीहरुले धार्मिक कृयाकलाप गर्ने स्थान गुम्बा हो । चाड, पर्व तथा जन्म, मृत्यु संस्कार सबै बौद्ध धर्मको धार्मिक परम्परा अनुसार गर्दछन् ।
भेषभूषाः
अन्य जातिको भन्दा भिन्दै प्रकृतिको भेषभूषा यस समुदायमा पाइन्छ । बसोबास हिमाली भेगको नजिक भएकोले चिसो हुन्छ । त्यसकारण उनीहरुले यसै अनुरुपको भेषभूषा लगाउने गर्दछन् । यिनीहरुले झाँगी र बक्खु लगाउँछन् । यदि विवाहित रहेछन् भने बक्खुमाथि अगाडीतिर उनीहरु आफैले बुनेको पाङ्देन लगाउँछन् । पुरुषले दौरा सुरुवाल जस्तो छुवा र नगोर्प र टाउकोमा रयाम्धु लगाउँछन् । तल्लो भागमा भने स्त्री र पुरुष दुवैले गोडासम्म आउने जुत्ता जसलाई दोचा भनिन्छ, त्यो लगाउँछन् । हिजो आज शहर बजारतिर झरेका शेर्पा पुरुषहरुले सामान्यतया दौरा सुरुवाल, कमिज, पाइन्ट र महिलाहरुले गुन्यौ र चोली लगाउने गर्दछन् । यसैगरी उनीहरुको कानमा कुण्डला, औंठीहरु, बालाहरु तथा मुगाका माला, जन्तर जस्ता गरगहना लगाउँछन् ।
आर्थिक कृयाकलापः
पर्यटन क्षेत्रमा काम गरेर आय आर्जन गर्नु उनीहरुको हालको मुख्य पेशा रहेको छ । शेर्पाहरु खेतिपाती, पशुपालन तथा व्यापार व्यवसाय मार्फत पनि आय आर्जन गर्दछन् ।
क) कृषिः
हावापानी तथा भुधरातलका दृष्टिकोणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा अन्य क्षेत्रजस्तो कृषिकर्म हुँदैन । यद्यपी उनीहरुले मौसम अनुसारका फसलहरु लगाउँछन् । चिसो हावापानीका कारण उनीहरु गहुँ, जहुँ, मकै, आलु, कोदो, फापर लगायतका बालीहरु लगाउँछन् । यसैगरी सिमी, घैया तथा सागपातहरु लगाउने र जीवनको गुजारा चलाउने गर्दछन् । मुख्य खाद्यान्नको रुपमा आलु, फापर तथाच जहुँलाई लिन सकिन्छ ।
ख) पशुपालनः
शेर्पा जातिको अर्थतन्त्रमा पशुपालनले निकै ठूलो भूमीका निर्वाह गर्दछ । उनीहरुले चौंरी तथा भेंडाबाख्रा पालनलाई अवलम्बन गरेको देखिन्छ । यसका साथै उचाइ अनुसामर गाई र भैंसी पनि पाल्ने गर्दछन् । दुधबाट बनेका अनेक प्रकार जस्तैः छुर्पी, चीज, जस्ता परिकार बनाइन्छ भने भेडा तथा बाख्रा मासु तथा ऊन छालाका लागि पालिन्छ । यति मात्रै नभएर सामानहरुको ढुवानीका लागि पनि याक तथा भेडाबाख्रालाई प्रयोग गरिन्छ । यसरी हेर्दा पशुपालन उनीहरुको आर्थिक गतिविधिका लागि महत्वपूर्ण बनेको देखिन्छ ।
ग) व्यापार व्यसायः
शेर्पा जाति परम्परादेखि नै व्यापार र व्यवसायमा संलग्न रहेको पाइन्छ । आज पनि यिनीहरु व्यापार व्यवसायका सिलसिलामा देशभित्र र बाहिर पनि पुग्ने गरेका छन् । हिमाली क्षेत्रमा पाइने जडिबुटीहरु भेडाबाख्रा तथा चौंरीहरुबाट उत्पादित वस्तुहरुलाई बिक्री गर्दछन् । काठमाडौं–कोदारी मोटर बाटो बन्नु पूर्व तिब्बतमाथी हिमाली जातिको एकाधिकार व्यापार थियो । जहाँ वस्तु विनिमय प्रणाली अबलम्बन गरिन्थ्यो ।
घ) पर्यटनः
विक्रम सम्बत २००७ को राजनीतिक परिवर्तनपछि नेपालमा स्वतन्त्ररुपमा विदेशीहरु आउने वातावरण भयो । त्यसपछि पर्वतारोहण गर्ने मनिसहरु आउन थाले । त्यसले गर्दा शेर्पाहरुको जीवनमा निकै ठूलो परिवर्तन आयो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेपछि नेपालको परिचय विश्वभर फैलियो । त्यसपछि शेर्पाहरुले होटल व्यवसाय गर्न थाले । पर्यटकहरुलाई घुमाउने जस्ता काममा संलग्न पनि हुनथाले । यसरी हेर्दा पर्यटनले उनीहरुको आर्थिक कृयाकलापमा निकै ठूलो टेवा पुर्याएको छ ।
चाडपर्वहरुः
शेर्पा जातिमा मनाइने सम्पूर्ण चाडपर्वहरु बौद्ध धार्मिक परम्परा अनुसार मनाइन्छन् । यिनीहरु तुलनात्मकरुपमा बढी धार्मिक प्रकृतिका हुन्छन् ।
शेर्पामा मुख्य चाडपर्वहरुः
क) ल्होसार :
यस ल्होसार चाड नववर्षका रुपमा मनाइन्छ । तिब्बती भाषामा ‘लो’ को अर्थ वर्ष र ‘सर’ को अर्थ नयाँ भन्ने हुन्छ । लोसार पर्व फागुन शुक्ल प्रतिपदाका दिनबाट सुरु भइ ५–७ दिनसम्म मनाइन्छ । यस चाडमा गुम्बाहरुमा धुपबत्ति गर्नुकासाथै लामाद्धारा पूजा तथा त्रिपिटक वाचन गरिन्छ । यो पर्व मनाउँदा आफन्तसित भेटघाट गरिन्छ । रमाइलो गर्ने, नयाँ कपडा तथा गरगहना लगाउने एवं भोजभतेर गरिन्छ । त्यस समयमा प्रत्यक घरघरमा शुद्ध चोखो पानीबाट बौद्ध धर्म अनुसार देवतालाई चोखोपारी पूजा गरिन्छ । मिठो खाने, राम्रो लगाउने गरी वर्षभरी नै स्वस्थ्य रही सुसम्पन्न हुने कामना समेत गरिन्छ । यस समुदायका मानिसहरुबीच शुभकामना आदन प्रदान गरिन्छ ।
ख) दुम्जेः
एकहप्तासम्म मनाइने यस दुम्जे पर्व उनीहरुले प्रत्यकवर्षको साउन महिनातिर मनाउँदछन् । यो पर्व मनाउनुको मुख्य कारण खराब शक्तिबाट बच्ने र सामाजिक एकतालाई बलियो बनाउने हो । यो चाड मनाएपछि शेर्पाहरु पशुपालनका लागि उचाइतिर लाग्दछन् । यस पर्वका सबै गाउँलेहरु मिलेर सम्पन्न गर्न सामूहिकरुपमा खाद्यान्न संकलन गर्दछन् । बौद्ध धर्म अनुसार पूजापाठ गर्नुका साथै राम्रो खानपानको व्यवस्था यसपर्वमा गरिन्छ । नाचगान, अुनष्ठान तथा प्रगति र सुरक्षाको कामना गर्दै यस पर्वको समापन गरिन्छ ।
ग) मनि रिम्दुः
यो पर्व गोपान्सित आवद्ध समूहहरुको खुशी शान्ति र समृद्धिका लागि मनाइने पर्व हो । यसपर्वमा विभिन्न सांकेतिक तथा पौराणिक नृत्य गर्ने लामाहरुले विभिन्न आसारी प्रतिक हुने मुकुण्डो लगाएर नृत्य गर्छन् । यो पर्व ४ दिनसम्म चल्दछ । नृत्यका साथ खास लामा बाजाहरु बजाइन्छ । यस पर्वबाट मनोरञ्जन मात्र प्राप्त नभई सामाजिक कल्याण पनि प्राप्त हुन्छ भन्ने जनविश्वस रहेको छ ।
यी मुख्य पर्वहरु बाहेक आशो नामको पर्व प्राकृतिक प्रकोपबाट बालिनालीको सुरक्षाको लागि मनाइन्छ भने पाप मुक्ति (मोक्ष) प्राप्तिको लागि निउने पर्व मनाइन्छ ।
जन्म, मृत्यु संस्कारः
शेर्पा समुदायमा जन्म, विवाह, मृत्यु संस्कारहरु बौद्ध परम्परा अनुसार गरिएका हुन्छन् ।
क) जन्मः
यस जातिमा बच्चा जन्मेपछि साधारणतया ५ दिनदेखि ११ दिन भित्र बच्चाको नामाकरण गरिन्छ । जन्म बार अनुसार नाम राख्ने प्रचलन छ । न्वारनका दिन आफन्तलाई बोलाई भोजभतेर गर्ने प्रचलन रहेको छ । जन्म बार आुसार नामाकरण गर्दा आइतबार जन्मेकालाई डिमा, सोमबार जन्मेकालाई दावा, मंगलबार जनमेलाई मिङ्मा, बुधबार जन्मेकालाई लाक्पा, बिहीबार जन्मेकालाई फुय, शुक्रबार जन्मेकालाई पासाङ र शनिबार जन्मेकालाई पिवा नाम राख्ने गर्दछन् । बाल्य अवस्थामा केटाहरुको छरतेन गर्ने गरिन्छ । जसमा उनीहरुलाई धार्मिक शिक्षा दिइन्छ । यस समुदायमा रजस्वलन हुँदा महिलाले बार्ने प्रचलन छैन ।
ख) विवाहः
यस समुदहयमा विवाहलाई महत्वपूर्ण संस्कारकोरुपमा लिइन्छ । यस समुदायमा मुख्यतयाः मागी, चोरी, जारी तथा प्रेम विवाह हुन्छ । शेर्पाहरुको विवाहमा तिछ्याङ, देमध्याङ, पेछ्याङ तथा गेनवाङ जस्ता चरणहरु पार गर्नुपर्दछ । पहिलो चरणमा केटा पक्षबाट केटी पक्षकोमा केटी माग्न जाँदा जाँड, रक्सी सहित कोसेली लिएर जाने गर्दछन् । केटी पक्षबाट यो कोसेली स्वीस्कारिएमा विवाहको प्रकृया अगाडी बढ्छ नत्र विवाह अस्वीकार हुन्छ । यसलाई तिछ्याङ भनिन्छ ।
देमध्याङ अन्तरगत केटा र केटी पक्षका मानिसहरु केटाको घरमा भेला भई विवाह पक्का गर्ने गरिन्छ । यसैगरी पेछ्याङमा सम्धीसम्धीना गरी सम्बन्धलाई अझ प्रगाढ पार्ने काम गरिन्छ । त्यसपछि गेनकुवा कार्य गरिन्छ । यो कार्यले विवाह भएपछि माइतघर फर्कंदा दाइजो ल्याउने प्रचलनलाई जनाउँछ । यस काममा माइती बाट तर्फबाट दिनुपर्ने जति दाइजो यसैमा दिने प्रचलन रहेको छ । यसका साथै केटा पक्षबाट पनि केटीलाई पैत्रिक सम्पतिको केही अंश दिने चलन रहेको छ । यस समुदायमा विवाह निकै लचकता छ कि बहुपति विवाह प्रचलनमा रहेको छ । पछिल्लो समयमा आएर यो प्रथा घटिरहेको पाइन्छ ।
ग) मृत्यु संस्कारः
शेर्पा समुदायमा मानिस मर्ने बित्तिकै त्यसलाई सोतो कपडाले ढाकिन्छ र त्यसपछि दाजूभाई तथा छिमेकीलाई खबर गरिन्छ । लामाको आगमनपछि बौद्ध परम्परा अनुसार मृत लासलाई लामाका अनुसार कुन दिनमा कुन संस्कार गर्ने भन्ने आधारमा गाड्ने, जलाउने र बगाउने निर्णय गरिन्छ । त्यसपछि लामा बाजा सहित लासलाई उठाई अन्तिम संस्कार गरिन्छ । यसरी अन्तिम संस्कार गरी मृतकका घरमा फर्केपछि लामाले टोटुलसेटु नामको बौद्ध ग्रन्थ पाठ गर्दछन् । मृत्यु भएको तेश्रो सातौं र एघारौं दिनमा नायर कार्य गरिन्छ ।
यो कार्य गर्दा इष्टमित्र तथा छिमेकीलाई बोलाई भोजभतेर गरिन्छ । साधाराणया आठौं दिनमा मृतकको घर चोख्याउने कार्य गरिन्छ । जसलाई उनीहरु दोझोङ्गा भन्दछन् । शेर्पाको मृत्यु संस्कारमा हिन्दू संस्कारको जस्तो जुठो नबारेपनि कृयाबस्ने र सामान्य जुठो बार्ने चलन छ । यस समुदायमा ९० दिनसम्म मृतकको आत्मा शरीर वरिपरी रहन्छ भन्ने विश्वास छ । कहिलेकाँही जोखना मिलेन भने ४९ दिनसम्म लास घरैमा राख्ने व्यवस्था छ । मृत्युको ७ दिनदेखि ४९ दिनसम्म गोपको नामको संंस्कार गरिन्छ । त्यसदिन मृतकका नाममा दान, धर्म गरेपछि मृतकको अन्तिम विदाई भएको मानिन्छ ।
(पासाङ ल्हामु मेमोरियल कलेजमा अध्ययनरत कक्षा १२ विद्यार्थी रेशम रसाइली, वषन्त सापकोटा, पार्वती परियार, बिनुका मगर, रिता गुरुङद्धारा तयार पारिएको ।)