काठमाडौं । चीनले कोरोनाभाइरसविरुद्धको थप २० लाख डोज खोप पाकिस्तानलाई दिएको छ ।
पाकिस्तानी अधिकारीहरुले चीनमा बनाइएको खोप मंगलबार पाकिस्तान ल्याइएको जानकारी दिएका हुन् ।
खोप लिनका लागि पाकिस्तानका विशेष उडानसहित पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) पिके ६८५२ विमान चीन गएको थियो ।
चीनको राजधानी बेइजिङमा रहेको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सो विमानले सिनोभ्याक खोप पाकिस्तानको राजधानी इस्लामावाद ल्याई पु¥याएको हो । पाकिस्तानमा यसअघि पनि चीनबाट नै दश लाख मात्रा सिनोफार्मा खोप प्राप्त भएपछि देशव्यापी खोप अभियान संचालन गरिएको थियो ।
अहिले चीनबाट ल्याइएको खोप देशभरी रहेका खोप केन्द्रहरुमा पठाइने र त्यहीबाट आम नागरिकलाई लगाइने अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानमा अहिलेसम्म कुल नौ लाख ५० हजार ७६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये ९३० जना बुधबार थपिएका हुन ।
राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयका अनुसार बुधबार थप ३९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै पाकिस्तानमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको सङ्ख्या २२ हजार ७३ पुगेको छ ।