प्रकृतिपूजक लिम्बूहरुका आफ्नै पृथक पहिचान र संस्कृतिहरु रहेका छन् । मौलिक संस्कृतिको धनी लिम्बू समुदायको पहिचानमध्ये धान नाच पनि एक हो । उनीहरुको भाषामा धान नाचलाई याः लाङ भनिन्छ । धान नाँचले उनीहरुको ऐतिहासीकता बोकेको छ । मजासँग खान, लाउन, नाँच्न तथा रमाउन जान्ने लिम्बूहरु वास्तवमा यो देशका भूमिपुत्र हुन् । लिम्बूहरुले गाउने गीत विकसित भएको बारेमा पनि बेग्लै किंवदन्ती रहेको छ ।
किंवदन्ती अनुसार तागेरा निङवाफुमाङबाट पोरोक्सी यम्फामी माङले आदेश दिएर मानेको स्वरुप (नाव गेन चइत) सृष्टि गर्नुभयो । सृष्टि गर्दा नाव गेन चइत मिक्किफुङवाले सृष्टिलाई निरन्तरता दिन शिर उठानी (माङ सेना) गर्दा फुरेको ज्ञान अरुलाई वाचन गर्दैजाँदा गीतको लयकोरुपमा विकसित भयो । यसैलाई फुङवा साम्मेल गीत भनिन्छ । किरातको धर्मग्रन्थ मुन्धुममा यही गीतलाई नै सबभन्दा पहिलो उत्पति भएको गीत मानिन्छ ।
यो गीतको लय झण्डै हाकपारे गीतको जस्तै मानिन्छ । यही हाकपारे गीतभन्दा पछि ख्याली लयको जन्म भएको पनि मानिन्छ । एकपटक लिम्बू समुदायमा वर्षभरी खाना खाँदाखाँदा अन्नको बीऊ नै राख्न बिर्सेछन् । बीउबिना अन्न उत्पादन नहुने भएका कारण उनीहरु धेरै चिन्तित भएका थिए । उनीहरुको यस्ते अवस्था देखेर फेललेरे फेम्पुना नामक चरालाई दया लागेछ ।
त्यही चराले अन्नको बीउ म ल्याइदिन्छु भनेपछि उनीहरु धेरै नै खुशी भएछन् । तर सो चराले एउटा सर्त राखेछ । सो सर्त पूरा हुने भएपछि मात्रै अन्नको बीउ ल्याइदिने कुरा भएछ । बाचा भए अनुसार लिम्बूहरुका खेतबारीमा सो चराले ल्याइदिएको बीउबाट उम्रिएको अन्न फल्न थालेपछि सो चराले जति पनि खान पाउने र उसलाई मार्न नपाइने भएछ । सो अनुसार लिम्बूहरुका खेतबारीमा अन्न फल्न थाल्यो ।
तर जब लिम्बूका खेतबारीमा अन्न फल्न थाल्यो तब सो चरा आएर सबै खाइदिन थाल्यो । सो चरासितको बाचा अनुसार उसलाई मार्न भएन र धपाउन पनि भएन । यसैबीचमा लिम्बूहरुले बालीनाली बचाउन एउटा उपाय निकाले । अनि उनीहरुले बालीनाली वरपर बसेर हातखुट्टा हल्लाउँदै हा….. हा…. गर्दै विभिन्न टुक्काहरु हाल्दै गीत गाउन र नाच्न थाले । यसरी चरालाई चरालाई धपाउने क्रममा धान नाँचको उत्पति भयो । यो नाच एक अर्काको हातसमाई यो नाँच ज्यादै रमाइलो र मनमोहक तरिकाले नाँच्ने गरिन्छ ।
धान नाँचका आफ्नैखाले भाका र नियमहरु छन् । सुरुमा नभई पछिपछि यस्ता नियमहरु बनेका थिए । यो नाचमा कुटुम्बसित हात समाएर नाँच्न हुन्छ, खुट्टा हल्लाएर नाँचिन्छ र कुटुम्बलाई खुट्टाले छोएमा माफी माग्नु पर्छ । साथै यो नाँचको थालनी र अन्त्य पनि हुनुपर्ने नियमहरु बनाइएको छ । यो नाँच विभिन्न साँस्कृतिक अनुष्ठानहरुमा नाचिन्छ ।
नाँचको थालनी गर्नुभन्दा पहिले मान्यजनसित आशिर्वाद लिने चलन पनि रहेको छ । बुढापाकहरुको भनाई अनुसार यो धान नाँच महिनौंसम्म पनि चल्दथ्यो रे । नाँचको अवसरमा खसी र राँगाहरु प्नि काटेर खाने गर्दथे । रमाइलो गर्दागर्दा यतिसम्मको रमाइलो र भावना जोडिन्थ्यो की उनीहरु छुट्ने बेला रुने गर्थे । रमाइलो गर्दागर्दा उनीहरुले जाँडरक्सीपनि खान्थे र मन मिलेपछि केटाकेटीले विहेपनि गर्थे भन्ने कहानी रहेको छ ।
यसरी लिम्बूहरुको संस्कृतिको धरोहर बनेको धान नाँच आज विस्तारै लोप हुँदै गएको छ । विदेशी संस्कृति अंगाल्ने र आफ्नो संस्कृति विस्तारै छोड्दै जाने प्रवृतिका कारण सो संस्कृति हराउँदै गएको हो । त्यसकारण आधुनिकता अंगाल्ने नाममा आफ्नो मौलिकता बिर्सिनु हुँदैन । आजको आधुनिक पुस्ताले यो कुरालाई धेरै नै ख्याल गर्नुपर्छ ।