(दलित थरकी रुपा सुनारमाथी काठमाडौंको बबरमहलमा भएको जातीय विभेदको घटनाले नेपालका मिडिया, सामाजिक सञ्जालहरु निकै तातेका छन् । पहिले कोठा भाडामा दिने सहमति भएको तर जात सोध्दा दलित भएको थाहा पाएपछि उनलाई कोठा नदिइएको घटनाले सो घटनाका विरोध र समर्थनमा त्यसरी मिडियाहरु तातेका हुन् । त्यसरी विभेद भएपछि सुरु भएको घटनाले आज फेरि अर्कै रुप लिएको छ । रुपालाई विभेद गर्ने ती महिलालाई राजनीतिक शक्तिका आडमा हिरासतबाट छुटाएर घर लगिएकोले घटनाले अर्को रुप लिएको हो । यसैबीच यो घटनालाई जात व्यवस्था उन्लूलन मोर्चाले कसरी लिएको छ भनी सो हामीले मोर्चाका संयोजक राजकुमार हिङमाङलाई सोधेका छौं, प्रस्तुत छ सोही कुराकानीको सारसंक्षेपः सम्पादक । )
हिरासतमा राखेर अनुसन्धान गर्नु पर्नेमा रुपा सुनारलाई जातीय विभेद गर्ने घरबेटीलाई छुटाइयो भन्ने आयो अब के गर्नुहुन्छ ?
हो, ती घरबेटीलाई छुटाएर लगिएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा शिक्षामन्त्रीले नै उनलाई छुटाएर लगेका छन् । यसले काठमाडौंको राज्यसत्ता विभेद अन्त्य गर्नेमा कति गैरजिम्मेवार छ भन्ने स्पष्ट भएको छ । विभेद भएकोमा त्यसलाई कम गर्न प्रयास गर्नुपर्नेमा झन बढावा दिएको छ । यसबाट विभेद र छुवाछुतको अवस्था ज्यादै नै उचाइमा गइरहेको छ भन्ने स्पष्ट भएको छ ।
यसका विरुद्ध अब कस्तो खालको कार्यक्रम गर्नुहुन्छ नी ?
हामी न्यायका लागि लडिरहन्छौं । यस्ता घटना देशभर छन् तर काठमाडौं जस्तो सभ्य भनिएको राजधानीमै यस्तो विभेदको घटना हुनुले नेपाली समाजमा विभेद कुन स्तरमा रहेछ भन्ने स्पष्ट भएको छ । यसका विरुद्ध लड्नुको विकल्प छैन । हामी न्यायीक लडाईं निरन्तर लडिरहन्छौं । तर त्यसका लागि नेपालमा रहेको जात व्यवस्था विरोधी आन्दोलन पनि यहि अवस्थामा रहेर पुग्दैन । यसलाई थप उचाइमा घनिभूत बनाएर लैजानु पर्छ । यो घटनाबाट हामीले जुन पाठ सिकेका छौं यसले हामीलाई अगाडी बढ्न नै प्रेरित गरेको छ ।
जात व्यवस्था विरोधी आन्दोलनलाई सघाउन गैरदलितको भूमिका के हुनुपर्छ जस्तो लाग्छ ?
नेपाली समाजमा भेदभाव र छुवाछुत छ र यसलाई अन्त्य गर्नुपर्छ भन्ने कुरा सबैलाई लागेकै छ । तर राज्य नै यो व्यवस्थालाई जोगाउन यो हदसम्म लाग्छ होला भन्ने धेरै लागेको थिएन होला तर दोषी घरबेटीलाई प्रधानमन्त्रीकै आदेशमा शिक्षामन्त्री गएर छुटाएको घटनाले राज्य नै विभेद उन्मूलन गर्न चाहन्न भन्ने स्पष्ट भएको छ । त्यसैले यो घटना गैरदतिल समुदायका लागि पनि राम्रो कुरा होइन । त्यसकारण हामी उहाँहरुलाई पनि राज्यका यस्ता कृयाकलापका विरुद्ध आन्दोलनमा आउन आग्रह गर्छौं । हो, छुवाछुत र विभेद अन्त्य गर्नका लगि गैरदलित समुदायको आन्दोलन पनि पुगेको छैन र दलित आन्दोलनको स्थिति पनि कमजोर रहेछ भन्ने बुझिएको छ । किन की यस्तो विभेदकारी घटना घट्दा पनि कतिपय दलित संगठनले पुच्छर लुकाएर बसेका छन् ।
अब अन्य दलित संगठनहरुलाई यो आन्दोलनमा कसरी जोडेर लानुहुन्छ ?
उहाँहरुले दलित मुक्तिका लागि आन्दोलन गरिरहेका छौं भन्नु भएको छ तर समस्या परेका बेला चुप लागेर बस्ने कुरा मिलेको छैन । त्यसकारण हामी उहाँहरुलाई उहाँहरुको वैचारिक हैसियत र कामगर्ने शैली रुपान्तरण गरेर जात व्यवस्था विरोधी आन्दोलनमा आउन आग्रह गर्छौं र हामी पनि हाम्रो संगठनलाई थप शसक्त गरेर लान्छौं ।
रुपा सुनारको मुद्धा चाहीँ के हुन्छ अब ?
होइन हामी उहाँको न्यायको लागि न्यायीक प्रकृयामा गइरहेकै छौं । न्यायीक प्रकृया टुंगिएको पनि छैन । रुपाजीले जिल्ला अदालतबाट न्याय पाउनुहुनेछ भन्नेमा हामी ढुक्क छौं तर दोषीलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्नेमा छुटाएर घर लगिएकोमा भने हामीलाई शंका लागेको छ । यसमा हाम्रो आपत्ति छ । अनुसन्धान भइरहेको मान्छेलाई छुटाएर घर लैजानुलाई भने सामान्य रुपमा लिन सकिन्न । दोषीलाई घरमा राखेर छानबिन गर्ने प्रकृयामा भने हामीलाई पूरा विश्वास छैन ।
अनि रुपा सुनारलाई सुरक्षाको पनि माग गर्नु भएको रैछ, के उहाँ असुरक्षित हुनुहुन्छ ?
हो, धेरैले उहाँलाई सामाजिक सञ्जालहरुमा हुने नहुने गाली गर्ने, लान्छना लगाउने गरिरहेका छन् । जुन कुरा छ्यम्य हुन सक्ने कुरा होइन । उहाँको बेइज्जत गरिहेका छन् । त्यो सहन सकिने कुरा होइन । त्यसकारण हामीले संगठनको तर्फबाट विज्ञप्ति नै जारी गरेर राज्यसित सुरक्षाको माग गरेका छौं र उचित न्यायको पनि माग गरेका हौं । अर्को कुरा उहाँ कलाकार, सञ्चारकर्मी र हाम्रो जात व्यवस्था उन्मूलन मोर्चाको केन्द्रिय सदस्य पनि हो र मूलतः उहाँ राजनीतिक व्यक्ति हो । यत्रो उचाइ बनाएको मान्छेलाई पनि यसरी विभेद गरिन्छ भने सामान्य नागरिकको अवस्था कस्तो होला ? आफै अनुमान गर्न सकिन्छ । त्यसकारण उहाँलाई भोली कसैबाट आक्रमण नहोस् भनेर सचेत बनाउनका लागि हामीले उहाँको सुरक्षाको माग गरेका हौं । तर जे जस्तो अवस्था आएपनि हामी र हाम्रो संगठन उहाँ र उहाँ जस्ता विभेदमा परेका हरुका लागि निरन्तर लडिरहने छौं ।