• मंसिर १२ २०८१, बुधबार

बाढीपछिको मेलम्ची (तस्विरमा)

असार ९ २०७८, बुधबार

काठमाडौँ। हरेक वर्षामा हाम्रो देश दुख्छ । हरेक वर्ष वर्षा लागेको समयमा नेपालमा कहिँ न कहिँ, वर्षा पछि बाढी आएर डुबानमा परेका समाचार नेपालीले सुन्दै र देख्दै आउनुपर्ने बिडम्बना रहेको छ। वर्षाको समयमा कहिले पुर्व दुख्छ कहिले पश्चिम दुख्छ।कहिले तराई दुख्छ त कहिले हिमाल दुख्छ।

केही वर्ष यता नेपालीजनलाई पिडामाथि पिडा थपिने कुराले बढी दुखित बनाएको छ। भूकम्प,त्यसपछि भारतले ६ महिनासम्म गरेको नाकाबन्दी, कहिले तराई डुबाउने त कहिले टोर्नेडो आँधीले बस्ती उजाड पार्ने लगायतका दुक्ख र पिडा खेप्दा खेप्दै देशले झन्डै दुई वर्षदेखि कोरोना महामारी खेपिरहेको छ। यो वर्ष वर्खा ल्याउने भनेर चिनिएको असारको महिना लाग्दा नलाग्दै हिमाली जिल्ला मनाङबाट बाढीरुपी प्रकृतीले देशमा बितण्डा मच्चाउन सुरु गर्यो। अर्को हिमाली जिल्ला सिन्धुपाल्चोकमा त बाढीले लगभग इतिहासकै कुरुप रुप देखायो।

गएको हप्ता नेपालले वर्षापछि आएको बाढीबाट पाउनु दुक्ख पायो। अर्बौंको क्षती भयो भने दजनौं मानिसहरुका घरबारहरु क्षण भरमै बाढीले आफ्नो बनायो। असारको पहिलो हप्तामै दर्जनौं मानिसको ज्यान गाएको छ भने खेतीयोग्य जमिन नष्ट भएर बगरमा परिणत भएका छन्।
बाढीको चपेटामा परेर सिन्धुपाल्चोकले यसपाली भोग्नु दुक्ख भोग्यो। खासगरी मेलम्ची नगरपालिका र हेलम्बू गाउँपालिकामा आएको बाढीले जति निक्सानी पुर्यायो सायद बाढीको यत्तिको बबण्डर यो पुस्ताले देखेको र सुनेको थिएन।

हरेक संचार माध्यमबाट मेलम्ची र हेलम्बूमा बाढीले गरेको नोक्सानी सबै सुनिसकेको अवस्था छ र देखि समेत सकेको अवस्था छ अहिले। यसै मेसोमा मंगलबार हामि सिन्धुपाल्चोकमा बाढीले मच्चाएको बबण्डर अवलोकन गर्न पुग्यौं। हेलम्बू चनौटेको बाढीलाई खेपेर बाँचेको रातो पुल पार गरेर चनौटे बजार (बजार के थियो र बाढी पछि बनेको बगर)मा के पुगेका थियौं, कामी लामा बाढीको दलदले हिलोमा आधा डुबेको आफ्नो एकतले घरमा केही समान भेटिन्छन कि भनेर घर अगाडी टोलाईरहेको अवस्थामा देखिए।

आफ्नो घर देखाउदै उनले भने, ‘सम्पतीको नाउँमा यही एउटा घर र यहीनेर अलिकति खेत थियो। खेत बगर भयो घर दलदले हिलोमा डुब्यो। अहिले न घर न घाटको भईयो।’ आफ्नो पाँचजनाको परिवारलाई बाढीबाट स-कुशल बचाउन पाएकोलाई एक ठुलो सफलता मानेको आफ्नो अनुभव उनले बताए।

छिमेकी सानु ज्योतिको घरमा परिवारलाई ओत लगाएका लामाले अहिले सम्म आफूले कुनै राहत नपाएको गुनासो पोखे। बाढीले पुरेको घर बनाउन, परिवार पाल्ने कुनै जोहो गर्न कसैले केही सहयोग गर्ला भन्ने कुनै आषा नभएको भावना व्यक्त गर्दै लामाले भने, ‘सायद सरकारमा बस्नेहरुलाई पुगेको छैन होला झन् हामीलाई दिन के हुन्थ्यो र ?”

बाटोमा भेटिएका स्थानिय बुद्ध ज्योति प्राकृतिक विपद आइलागेमा गर्नुपर्ने तयारी राज्य संचालकहरुले नगरेको कारण विपदमा परेका मेलम्ची र हेलम्बूबासीले देशमा सरकार भएको अनुभूति गर्न नसकेको धारणा व्यक्त गरे। पहिले गाउँमा आगो लाग्नुभन्दा पहिले एक ठाउँमा इनार खनेर वा पानीको खाल्डो बनाएर राख्ने चलन रहेको तर अहिले त्यस्तो चलन हराएको भन्दै, हो त्यस्तै गरेर कुनैपनि समस्या आउन सक्छ भनेर पुर्व तयारी गरेको भए विपत्ति आएपनि जनताले धेरै दुक्ख पाउने थिएनन भन्ने आफ्नो विचार व्यक्त गरे।

चनौटेको रातो पुलमा भेटिएका एक स्थानियले मेलम्ची खानेपानी आयोजनाको कारण यस्तो विपद आएको भएपनि अहिले सम्म मेलम्ची आयोजनाका कुनैपनि अधिकारीहरु हेलम्बू र मेलम्चीमा देखा नपर्नु अचम्म भएको बताए। मेलम्ची आयोजनाले आयोजना पुरा गर्दा अरु सुरक्षाका उपाएहरु पुरा नगरेकोले यस्तो भएको समेत ती स्थानीयले आरोप लगाए।

सरकारले हेलिकोप्टरबाट अवलोकन गरेको भन्दा बढी आफूहरुले पैदल हिडेर नै अनुगमन गरिसकेको भन्दै खोलामा भएका पुलहरु भत्किदा स्थानीयले बढी दुक्ख पाएको उनले बताए। विपदमा परेका मानिसहरुलाई पनि गाउँपालिकाले एकद्वार प्रणालीबाट वितरण गर्ने राहत प्रकृया झन्जटिलो भएको ती स्थानीयले बताए।

पीडितले पनि राहत पाउन वडाबाट सिफारिस लिनुपर्ने, लाइन लाग्नुपर्ने, खोलाका पुलहरू नभएको कारण वडाबाट राहत पाउने सिफारिस लिन पुरै एकदिन लाग्ने र एकबोरा राहत चामल पाउन अर्को दिन लाग्ने थप झन्जटले गर्दा जनतामा पिडा थपिएको उनको भनाई थियो।

हेरौं पछिका हेलम्बू र मेलम्चीका केही तस्बिरहरु⇓