• मंसिर ११ २०८१, मंगलवार

मनाङेको वरिपरी घुमेको गण्डकी सरकार

असार ७ २०७८, सोमबार

काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका गण्डकी प्रदेश सांसद (राजिव गुरुङ) दिपक मनाङेका कारण गण्डकी प्रदेशमा नयाँ  सरकार गठन भयो । पहिले पनि उनकै मतले एमाले नेतृत्वमा सरकार बनेको थियो । अहिले पनि उनकै मत अपुगका कारण सो सरकार ढल्यो । गण्डकीमा कांग्रेस नेतृतवको नयाँ सरकारले गुण्डागर्दी पारामा आफ्नै सुविधा बढाउने सबैभन्दा पहिलो निर्णय गरेको थियो ।

पूर्वमुख्यमन्त्रीको सुविधा बढाउने कृष्णचन्द्र नेपाली पोखरेल सरकारको निर्णय अनुसार पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै पूर्वमुख्यमन्त्रीको रुपमा त्यस्तो सुविधा नलिने भनेका छन् । जसको लागि सुविधा दिने निर्णय गरिको हो उसैले सो सुविधा नलिने भएपछि यो निर्णय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नै लागि गरेको जस्तो भएको छ । किनकि उनी कुनैदिन पूर्वमुख्यमन्त्री हुनेछन् ।

खासमा गण्डकीको यो गठबन्धन सरकार धर्मराउँदै धर्मराउँदै गठन भएको हो । किनकि प्रदेश सरकारलाई समर्थन गरेका बहुमतमध्ये एकजना मात्र सांसदले यताउता गरेको खण्डमा यो सरकार पनि ढल्छ । त्यसमा पनि दिपक मनाङे (राजिव गुरुङ) आफू स्वतन्त्र भएर पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि मात्रै यो सरकार बन्न सम्भव भएको हो ।

नयाँ सरकारमा मनाङेले शक्तिशाली मन्त्रालय मागेपछि उनलाई अहिले बिना विभागीय मन्त्री मात्रै बनाइएको छ । मनाङेको मन नबुझ्न साथ नेपाली काँग्रेस नेतृत्वको यो गण्डकी प्रदेशको सरकार ढल्नसक्छ । ६० जना सदस्य रहेको गण्डकी प्रदेश संसदमा बहुमतको लागि ३१ संसद चाहिन्छ ।

नेकपा एमाले बाहेक अरु सबै दल र स्वतन्त्र सांसदहरु मिलेपछि मात्रै यो सरकार बन्ने कुरा सम्भव भएको हो । गण्डकी प्रदेशको संसदमा नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, जनता समाजवादी पार्टीका २, राष्ट्रिय जनमोर्चाका २ जना सांसद रहेका छन् । यी सबै गरेर जम्मा ३० जना मात्रै भए ।

यसरी एमाले बाहेकका पार्टीहरुको मात्रै बहुमत हुन सकेन । स्वतन्त्र सांसद दिपक मनाङेको समर्थनमा मात्रै सांसहरुको बहुमत संख्या अर्थात् ३१ जना सांसद पुगेका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको संसदबाट विश्वासको मत लिँदा एकजनाले मात्र यताउति गरेको भए सो सरकार पनि जान्थ्यो । यताउति गर्न सक्ने सांसद भनेका उनै स्वतन्त्र सांसद मनाङ्गे नै थिए ।

सरकार बनाउन मनाङेको भूमिका

गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन  दिपक मनाङेको ठूलो भूमिका रहेको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारमा मनाङे मन्त्री नै थिए । सरकारबाट राजिनामा दिएर सो सरकार विरुद्ध परेको अविश्वासको मत पारित गर्न उनले विपक्षी गठबन्धलाई सहयोग गरे । अविस्वासको मत पास भएपछि विपक्षीको सरकार बन्यो ।

पुरानो सरकार ढलेर बनेको नयाँ सरकारमा पनि उनी मन्त्री छन् । जेठ २७ गते बिहीबार मन्त्रीबाट राजिनामा दिएर एमाले नेतृत्वको सरकारको साथ छोडेका मनाङे मन्त्री पदबाट राजिनामा दिएको ४८ घण्टा पनि नबित्दै जेठ २९ गते शनिबार पुनः बिनाविभागीय मन्त्रीका रुपमा सपथ लिन भ्याए ।

नयाँ सरकारको मन्त्री बन्नुभन्दा पहिले उनले आफै सामेल भएको सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिएनन । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार ढल्दै गर्दा मनाङे संसदमा अनुपस्थित रहेका थिए भने जनमोर्चाका एक सांसद उपस्थित भएर पनि तटस्थ बसेका थिए । सरकार ढल्दा ६० सदस्य रहेको प्रदेश सभा संसदमा विश्वासको मतका लागि चाहिने ३१ संसदको मत पृथ्वीसुब्बा गुरुङले पाउन सकेनन् । ६० सदस्यीय संसदमा उनको विपक्षमा ३० मत खसेको थियो ।

यसअघि आफू नेतृत्वको सरकार संकटमा पर्दा मुख्यमन्त्री गुरुङले मनाङेलाई आफ्नो पक्षमा ल्याउन खेलकूद मन्त्री बनाएका थिए । संसदमा विश्वासको मत पाउन नसकेर पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएको केही घण्टामै मनाङेले मन्त्री पदबाट राजिनामा दिएका थिए । उनले विपक्षी गठबन्धनको बहुमत पुर्याउन गरेको सहयोगकै कारण विपक्षी गठबन्धको सरकारलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी थिइन।

यसरी नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका हुन् । पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु पहिले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुको मात्रै बहुमत पुग्दैनथ्यो । गण्डकी सरकार बन्नुमा निर्णायक मत मनाङेको नै थियो ।

मनाङेबारे गरिएका केही टिप्पणी

गण्डकीमा एमाले नेतृत्वको सरकार ढालेर नयाँ गठबन्धन सरकार बन्नुमा पूर्वप्रधानमन्त्री एवम् जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको समेत भूमिका रहेको बताइन्छ । गण्डकी सरकारको अदलीबदली हुने चक्कर चलिरहेको समयमा भट्टराईले मनाङेसँग खिचेको तस्विर सार्वजनिक गरेर मनाङेलाई समर्थन गर्दै रत्नाकर डाँकू समेत वाल्मिकी बनेको हुनाले कसैको विगत हेरेर सधैं त्यही नजरबाट मूल्याङकन गर्न सही नहुने भन्दै मनाङेलाई हौसला प्रदान गरेका थिए । भट्टराईले मनाङे हरुले समाजमा नयाँ भूमिका खोज्छन् भने दिनुपर्ने भनेर समेत भनेका थिए ।

त्यस्तै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मनाङेलाई मन्त्री नियुक्त गर्दा भट्टराईले जस्तै अभिव्यक्ति दिएका थिए भने मनाङेले आफ्नो सरकार नै ढाल्न भूमिका खेलेपछि आक्रोसित हुँदै रत्नाकर डाँकूलाई आफूले वाल्मिकी बनाउन नसकेको भनेका छन् । मनाङेलाई चुनावमा सघाएर त्यहाँसम्म ल्याएकोमा पछुताउँदै गुरुङले भनेका थिए, ‘आँगनमा धतुरोको रुख पालेर अमृत पाइँदो रहेनछ ।’ उनले मनाङले आफूलाई दिएको धोका भन्दा ठूलो धोका के हुनसक्छ ? भनेर समेत प्रश्न गरेका थिए ।