• मंसिर १७ २०८१, सोमबार

‘समाजलाई चाहिने चीज हो’ भन्दै सर्प समाउँदै भण्डारी बाबुछोरी (भिडियो)

असार ३ २०७८, बिहीबार

सर्प नाम सुन्ने वित्तिकै हामी डर, त्रास, कौतुहल र रहस्ययुक्त मनस्थितिमा पुग्दछौँ । हामीमध्ये कतिपय त सर्प देख्ने कुरा त परै जावस सम्झिँदा मात्रै डरले थुरथुर काँप्ने समेत गर्दछौं । बाघ, भालु लगायतका जंगली जनावर भन्दा भिन्दै र जमीनमा घिस्रिएर हिँड्ने लामो लामो लट्ठी जस्तो मात्रै होइन एकदमै लामो सडकमा गुडिरहेका गाडी मोटरहरु नै रोकिदिने खालका अजिङ्गर पनि विभिन्न माध्यमबाट तपाईंले देखिसक्नु भएको होला ।

यस्ता सर्पका विभिन्न रुपहरु भिडियोमै देख्दा पनि डराई हाल्ने तपाईं हामीमध्ये धेरैजना हुन सक्छौं । तर सबै मान्छे यस्तै हुदैनन् । कोही कोही त जिउँदै सर्प हातमा खेलाएर दाम्लो झैं बटारेर त्यही सर्पको माला लगाएर हिँड्न सक्ने खालका पनि हुन्छन् । जसलाई चलनचल्तीको भाषामा सपेरा भन्ने गरिन्छ । विदेशतिर त जिउँदै सर्प समात्ने सपेरा हुन्छन् भनेर सुन्नु भएकै होला तर हाम्रै देशमा पनि यस्ता सपेरा वा सर्प समात्न सक्ने क्षमता भएका मानिसहरु छन् । नेपालमा जिउँदै सर्प समात्न सक्ने विशेष क्षमताका मानिसमध्य एक हुन् चितवनका यमलाल भण्डारी र उनकी छोरी खुस्बु भण्डारी ।

आउनुस् यमलाल भण्डारी र उनकी छोरी खुस्बु भण्डारीले कसरी सर्प समात्छन् र उनीहरु को हुन् जानौं ।

चितवनका यमलाल भण्डारी र खुस्बु भण्डारी तिनै मानिसमध्ये रहेका छन् जसले साना हुन् या ठूला सबै सर्पहरु समात्न सक्छन् । भण्डारी बाबुछोरीले चितवन आसपासका मानिसहरुका घरभित्र पसेका सर्पहरु समातेर बाहिर ल्याएर सुरक्षित स्थानमा लिएर छोडीदिन्छन् । वर्षा र गर्मी सुरु हुने वित्तिकै नेपालका तराई र पहाडी भूभागहरुमा सर्प देखिन थाल्छन् ।

सर्पले टोकेर वर्षेनी दर्जनौं मानिसहरुको ज्यान गएको समेत पाइन्छ भने नेपालमा वर्षेनी १० हजार मानिस सर्पको टोकाईबाट पीडित हुने गरेको तथ्यांक छ । तीमध्ये १५ सयदेखि २ हजार व्यक्तिलाई विषालु सर्पले टोक्ने गरेको देखिन्छ । तथ्यांक अनुसार सर्पले १५ देखि २० वर्ष सम्मकालाई प्रायः रातको समयमा टोक्ने गरेकोछ । वैशाखदेखि भदौसम्मको गर्मी तथा मनसुन याममा सर्पको प्रकोप बढी हुने गर्दछ । किनकि यो समयमा सर्पहरु दुलोबाट बाहिर निस्किएर आहाराको खोजीमा हुन्छन् ।

सर्पको बढी प्रकोप हुने तराइको चितवनमा यमलाल भण्डारीले मानिसहरुका घरमा पसेर डर, त्रास सिर्जना गरेका झण्डै हजार सर्पको उद्धार गरिसकेको बताउछन् । विगत पाँच वर्षदेखि मान्छेबाट सर्प र सर्पबाट मान्छे बचाउँदै आएका यामलालले सर्प विशेषज्ञ डा.देव पाण्डे र डा. सुशील सापकोटाबाट सर्पबारे ज्ञान हासिल गरेको बताए । सर्प समात्ने केही तरिका सामाजिक सञ्जाल हेरेर पनि सिकेको बताउने उनी भन्छन्,‘विषालु सर्पबाट मान्छे र विष नभएको सर्पलाई मान्छेबाट बचाउँदै आएको छु ।’

आफ्ना बाबुले गर्दै आएको यस्तो साहसी काम देखेर उनकी जेठी छोरी खुस्बुलाई पनि खुल्दुली लाग्यो । घरमा सर्प पसेको बेला कसैले उनका बाबुलाई बोलाउँदा घरबाट सर्प बाहिर निकाल्ने काम हेर्न बाबुको साथमा लागेर खुस्बु पनि जान थालिन् । पुरुष जस्तै माहिलाले पनि सबै काम गर्न सक्छन् भनेर देखाउन चाहने स्वभावकी खुस्बु सबै डराउने सर्प आफ्ना बाबुको जस्तै गरेर समात्न सकिन्छ कि नाइँ ? भनेर सोच्न थालिन् । बाफ्ना बुवाको प्रेरणा र हौसलाले अहिले खुस्बु आफै पनि सर्प समात्न र उद्धार गर्न सक्ने भएकी छिन् ।

समाजमा छोरीहरुले खतरा काम गर्न सक्दैनन् भनेर जरा गाडेको सोचाईलाई परिवर्तन गरेर समय र अवसर पाएको खण्डमा छोरीहरुले पनि छोरा सरह सबै काम गर्न सक्छन् भन्ने सन्देश दिन चाहन्छिन खुस्बु । ‘छोरीहरुले आँटिला र खतरा खालका काम गर्न सक्दैनन्, उनीहरु कमजोर हुन्छन्, डरालु हुन्छन् भनेर छोराछोरीमा जुन भेदभाव हुने गरेको छ, त्यही भादभाव अन्त्य गर्नका लागि सर्प समात्ने आँट गरेकी हुँ मेरो कामले छोरीलाई पनि अवसर दिने हो भने जुनसुकै काम पनि गर्न सक्छन भन्ने बुझ्नुपर्छ ।’ उनी भन्छिन् ।

यसरी सर्प उद्धार कार्यमा निशुल्क लागिरहँदा यमलालको आजसम्म झण्डै लाख रुपैयाँ खर्च भइसकेको छ भने धेरै मानिसहरुको माया र स्नेह पाउँदा त्यो खर्च भएको रकम उनलाई नगन्य लाग्छ । हाल सर्प संरक्षण संघका अध्यक्ष रहेका भण्डारी १८ वर्ष अघि गुल्मीको धुर्कोटबाट चितवन बसाई सरेका हुन् । मानिसहरुको घरभित्र पसेर आतंकित बनाइरहेका विषालु हुन् या विष नभएका सर्पलाई उनी गीत गाउँदै बाहिर निकालेर मानिसहरुको मनबाट डर र त्रास हटाइदिन्छन् ।

यसरी मानिसहरुको डर र त्रास हटेर उनीहरुमा जुन खुशी आउँछ त्यतिबेला उनी जीवनमा यस्तो पुण्य काम गर्न पाएकोमा आफैसँग गर्व लाग्ने बताउँछन् । संसारभरीका मानिसहरुले आफ्नो कामलाई माया र सम्मान गरेर टिकटक नामको सामाजिक सञ्जालमा आफूले सर्पको उद्धार गरेको भिडियोहरुलाई ८ करोड ९ लाख जनाले हेरिदिनु भएकोमा धन्यावाद दिन्छन् । तर आफूहरुजस्ता सर्प संरक्षणकर्ताहरुलाई राज्यबाट कुनै किसिमको पहिचान पाउन नसक्दा भने यो देशमा सरकार र राज्य भएको महसुस नभएको दुखेसो उनले व्यक्त गरे ।

भजन र गीतहरु गाउँदै गाउँमा पुगेका सर्पहरुलाई जंगलमा लिएर छोड्ने भण्डारी राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका आजीवन समेत सदस्य हुन् । गृह मन्त्रालयमा रहेको राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भण्डारी बाबुछोरीको सर्प सम्बन्धिको जनचेतना मूलक भिडियो लिएको छ भने जस्मिन पेन्ट्सले वातावरण र प्रर्यावरणलाई सन्तुलन राख्ने सर्पको संरक्षण गर्ने उद्धेश्यले उनलाई सर्प संरक्षणकर्ता घोषणा गरेको छ ।

सर्पको टोकाईबाट कसरी बच्ने ?

सर्पको टोकाइपछि उपचार गर्नुभन्दा सर्पको टोकाईबाट बच्नु नै उत्तम हो । यस्ता व्यवहारिक उपाय अपनाएर सर्पको टोकाइबाट बच्न सकिन्छ ।

१. सर्प प्रायः रातिमा बाहिर निस्कने गर्छ । त्यसकारण प्रकाश दिने वस्तु टर्च, लाल्टीन आदि बोकेर मात्र तथा खुट्टामा जुत्ता र शरीर ढाक्ने कपडा लगाएर मात्र बाहिर हिँड्डुल गर्नुपर्छ ।

२.घर वरपर वा बच्चाहरूले खेल्ने ठाउँमा झार, जंगल वा झ्यास भए हटाउने वा जमिनमा रहेका दुलाहरु पुर्नुपर्छ ।

३. सर्प बस्ने ठाउँहरू जस्तै परालको थुप्रो, दाउराको चाङ, ढुंगा वा इटाको थुप्रो कुनाकाप्चा वा प्वालमा चलाउनु परेमा पहिला लामो लठ्ठीले चलाएरमात्र हातले चलाउनु पर्छ । त्यस्ता सर्प बस्ने ठाउँहरु घर वरपर कदापि हुनुहुन्न ।

४. सर्पलाई जिस्क्याउनु वा चलाउनु हुँदैन, कतिपय सर्प निकै नै रिसाहा हुन्छन् र सामान्य रूपमा चलाए पनि टोकिहाल्छ ।

५. सर्पले मरेको जस्तो स्वाङ पार्नसक्छ, त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन । बरू अलि लामो लठ्ठीले चलाएर मरेनमरेको यकिन गर्नुपर्छ ।

६. सानासाना नानीले खेल्दा सर्प बस्न सक्ने ठाउँलाई हातले चलाउने, दुलोमा हात घुसार्नेजस्ता काम गर्न सक्छन् र सर्पले टोकी सकेपछि डरका कारण अभिभावकलाई नबताउने हुनसक्छन् । त्यसकारण सर्पका बारेमा केटाकेटीलाई पूर्ण जानकारी गराउनुपर्छ र टोकी हालेमा तुरुन्त खबर गर्नु भनी सिकाउनु पर्छ । यसका साथै अभिभावकले आफ्नो बच्चामाथि विषेश निगरानी राख्नु पर्छ ।

७. राती सुत्दा झुलको प्रयोग गर्नुपर्छ ।

८. सर्पको बढी प्रकोप भएको ठाउँमा सकभर एक्लै हिँड्नु हुँदैन ।

९. ताल, नदी, नालामा पनि विषालु सर्प हुने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।