• मंसिर १२ २०८१, बुधबार

असार २५ गतेभित्र कर तिर्न निर्देशन

असार २ २०७८, बुधबार
काठमाडौं । सरकारले असार २५ गतेभित्र कर तिर्न निर्देशन दिएको छ ।

बुधबार सूचना सार्वजनिक गर्दै आन्तरिक राजस्व विभागले असार २५ भित्र सबै प्रकारको कर दाखिला गर्न निर्देशन दिएको हो ।

विभागले मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउन निर्देशन दिएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समयमा कर बुझाउन नसकेका करदाताका लागि समय थप गरिएको सूचनामा उल्लेख गरिएको छ । कोरोना महामारी र संक्रमणलाई ख्याल गर्दै आर्थिक ऐन, २०७७ को दफा १९ अनुसार सरकारले कर दाखिला गर्ने म्याद थप भएको विभागले जनाएको हो ।

जारी सूचनामा २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्न भनिएको छ ।

सर्वोच्च अदालतले कर तिर्ने समय तोक्न आदेश दिए लगत्तै सरकारले कर चुक्ता गर्नका निम्ति असार २५ गतेसम्मको समय दिएको हो ।