भारतीय हिन्दू समाजमा ऋग्वेदकालतिर स्थापना गरिएको वर्ण व्यवस्थाका आधारमा जाति व्यवस्था विकसित भएको थियो । त्यही जाति व्यवस्थाका आधारमा विकसित भएको छुवाछूत प्रथा अहिलेसम्म पनि नेपाली समाजमा विद्यमान रहँदै आएको छ । वर्ण व्यवस्था र त्यसभित्रको छुवाछूत प्रथा नेपालमा लिच्छविकालतिर भित्रिएर मल्ल, शाह, राणा र पञ्चायतकाल हुँदै अगाडि बढ्दै आएको थियो । नेपाली समाजमा अहिले पनि यो प्रथा सघन रूपमा कायमै छ । यसका विषयमा लिखित रूपमा जानकारी दिने पर्याप्त स्रोत र सामग्रीहरूको पनि अभाव रहँदै आएको छ ।
केही मात्रामा प्राप्त स्वदेशी र विदेशी लेखकहरूका पुस्तक तथा लेख–रचनाहरूको अध्ययन गरी वर्णनात्मक र विश्लेषणात्मक आधारमा यो लेख तयार पारिएको छ । नेपालमा विद्यमान छुवाछूत प्रथाको अन्त्यका लागि चालिएका कदममा प्रशस्त धन र समयको खर्च हुँदै आएको पाइन्छ । यस्तो हुँदा पनि अपेक्षित प्रतिफल भने प्राप्त हुनसकेको छैन । यस्तो अवस्थामा नेपाली समाजलाई विभिन्न विधिबाट सुसूचित तुल्याएर छुवाछूत जस्तो सामाजिक कलङ्कको रूपमा रहेको यस प्रथाको अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यस प्रथाको अन्त्यका लागि एउटा सशक्त सामाजिक क्रान्तिको आवश्यकता खड्किँदै आएको छ । यस लेखले पनि नेपालमा छुवाछूत प्रथा नेपालमा कहिले र कसरी भित्रियो र विकसित हुँदै आयो ? भन्ने कुराको ऐतिहासिक सन्दर्भलाई खोजमूलक ढङ्गले प्रस्ट्याउने प्रयत्न गरेको छ ।
भूमिका :
मानिस एउटा सामाजिक प्राणी हो । बुद्धि र विवेकले गर्दा मानिस अन्य प्राणीभन्दा भिन्न कहलिँदै आएको छ । तर मानिस–मानिसकै बीचमा भने जन्म, वर्ण, धन र शक्तिका आधारमा विभिन्न खालका विभेदहरू एक–आपसमा हुँदै आएका छन् । संसारका विभिन्न ठाउँमा बस्ने मानिसहरूका बीचमा भिन्दाभिन्दै विषयवस्तुलाई आधार मानेर सामाजिक विभेदहरू गर्ने अनौठा पद्धतिहरू भएजस्तै हिन्दू समाजमा पनि केही अन्धविश्वासपूर्ण कुरालाई आधार मानेर छुवाछूत जस्तो विभेदकारी व्यवस्थालाई कायम राखिँदै आएको छ । सामाजिक कलङ्कको रूपमा रहेको छुवाछूत प्रथाले अहिले पनि नेपाली समाजलाई निकै प्रभावित पारिरहेको छ । यस व्यवस्थाले नेपाली नेपालीका बीचमा विखण्डन ल्याउने काम गरेको छ ।
एउटा मानिसले अर्को मानिसलाई होच्याउने आधार बनेको छ । यसले सामाजिक विकासको गतिलाई समेत अवरोध पुर्याएको छ । विभेदमा पारिएका मानिसको मानसिक विकासमा समेत यस छुवाछूत प्रथाले अवरोध पुर्याएको छ । वर्तमान २१औँ शताब्दीमा विश्व मानव जगतले भौतिक विकासमा अत्यधिक सफलता हासिल गरेको अवस्थामा पनि नेपाली समाज छुवाछूत जस्तो पुरातनबादी सोँच र धारणामा अल्झिनु पक्कै पनि दुःखको विषय हुन आउँदछ । विषय प्रवेश छुवाछूत प्रथा हिन्दू वर्ण व्यवस्थाबाट विकसित भएको मानिसले मानिसलाई नै छुन नहुने भन्ने परम्परागत व्यवस्था हो । यो व्यवस्थाको सुरुवात सर्वप्रथम भारतमा हिन्दू धर्मावलम्बीहरूले गरेका थिए । (दत्त, सन् १९६८ : ६४) ।
सामान्यतया छुवाछूत भन्नाले जातजाति, धर्म, वर्ण, लिङ्ग, पेशा, वैचारिक आस्था वा त्यस्तै अन्य विविध कुराहरूलाई आधार बनाएर निर्माण गरिएको विभेदकारी व्यवस्था हो । विश्वमा प्राचीनकालदेखि नै खासगरी पशुपालन र कृषि युगको थालनी भएपछि मानिसले मानिसलाई नै तल्लो र माथिल्लो भन्ने भेदभावपूर्ण व्यवहारको सुरुवात गरी त्यसलाई अहिलेसम्म पनि कायम राख्दै आएको छ । यस्तो स्तर निर्धारणका आधारहरू आर्थिक अवस्था, व्यवसाय, धर्म, रङ्ग, लिङ्ग आदि थिए । यसरी निर्धारित स्तरहरूमध्ये तल्लो स्तरमा राखिएका मानिसहरूलाई माथिल्लो स्तर भएका भनिएका मानिसहरूले हेलाँ र अपमानको व्यवहार गर्ने क्रममा छुवाछूत प्रथाको विकास भएको थियो । (मैनाली, वि.संं. २०६३ : ११२) ।
प्राचीन भारतीय समाजमा क्रमिक रूपमा विकसित भएको यो व्यवस्था नेपाली हिन्दू समाजमा अहिले एउटा बदनाम व्यवस्थाको रूपमा गनिँदै आएको छ । नेपालको छुवाछूत प्रथा जाति व्यवस्थामा आधारित प्रथा हो । जाति व्यवस्थामै आधारित भएका कारण राष्ट्रिय दलित आयोगले छुवाछूत प्रथाको परिभाषा दिँदा जातीय छुवाछूतलाई आधार बनाएको छ,
जुन परिभाषामा भनिएको छ :
जातीय छुवाछूत भन्नाले नेपाली समाजमा अछूत जात, छोइछिटो हाल्नु पर्ने, छुन पनि नहुने जात भनी भेदभाव गर्ने गरिएको समुदाय वा नयाँ मुलुकी ऐन २०२० लागु हुनुभन्दा अघिको मुलुकी ऐनमा अछूत जात भनी किटान गरिएको समुदायलाई कुनै पनि प्रकारको भेदभाव पूर्ण दृष्टिले गरिएको व्यवहारलाई जातीय छुवाछूत जनाउनेछ” (रादआ, वि.सं. २०५९ : २) । यसका आधारमा हिन्दू समाजमा छुवाछूत प्रथा जातीयताका आधारमा विकसित भएको र वि.सं. २०२० सालसम्म पूर्णरूपमा र त्यसपछिको समयमा केही कमी अवस्थामा कायम रहँदै आएको छ । विश्व इतिहासलाई औंल्याउँदा प्राचीन सामन्तवादको युगदेखि नै मानिसले मानिसमाथि गर्ने पाशविक व्यवहार विकसित हुँदै आएको थियो ।
(घुरिए, सन् १९६१ : १३८) । प्राचीन इजिप्टको पिरामिड युगमा पनि भूमिपतिहरूले कृषिदास र अन्य दासहरूमाथि विभेदको व्यवहार गर्दथे । तर, पश्चिमी देशहरूमा मानवीय विभेद अत्यधिक मात्रामा विकसित भए तापनि त्यो विभेदको अवस्था छुवाछूतको स्थितिसम्म पुगेको थिएन (सेनार्ट, सन् १९७५ : १५८) । मानिसले मानिसलाई हेर्ने विभेदकारी दृष्टिकोणका कारण विश्वका विभिन्न मुलुकहरूमा अङ्ग्रेजी, फ्रान्सेली, जर्मन, इटालीयन, अस्ट्रियन, हंगेरियाली, चेक, पोल, क्रोट, लेत, लिथुनियाली, युक्रेनियाली, जर्जियाली, आर्मेनियाली, फिनिस, लाट्भियाली, हान, अफ्रिकन कालाजाति, अमेरिकन कालाजाति, युरोपियन गोराजाति, मिङ, याउजस्ता जातजातिहरू विकसित भए र तिनीहरूका बीचमा एकले अर्कालाई होच्याउने, दबाउने, नियन्त्रणमा लिएर काममा लगाउने र उनीहरूमाथि दमन गर्नेजस्ता कार्यहरू गरेको पाइन्छ (स्टालिन, वि.सं. २०६७ : २०) ।
यस्तो हुँदाहुँदै पनि तिनीहरूका बीचमा छुवाछूत प्रथा भने विकसित भएको पाइँदैन । भारतमा विकसित भएको छुवाछूत प्रथाको प्रारम्भिक कालमा पनि उनीहरूको सामाजिक अवस्था प्राचीन इटाली र रोमका थियोडिक र ओस्टोगोथ तथा ग्रीकका हेलोटहरू र अमेरिकाका निग्रोहरू सरहको थिएन । (हट्टन, सन् १९५१ : १९८) । यस अर्थमा भारतीय छुवाछूत प्रथालाई ती देशहरूमा विभेदका नाममा हुने गरेका दमन र हिंसाजन्य अवस्थाको तुलनामा कम मानिँदै आएको छ । अहिलेको अवस्थासम्म आइपुग्दा ती देशहरूमा मानवीय मूल्य र मान्यताको कदर गर्न थालियो तर हिन्दू समाजमा भने विद्यमान छुवाछूत प्रथा यथावत रहँदै आएको पाइन्छ । छुवाछूत प्रथाको उत्पत्ति हिन्दू समाजमा सर्वप्रथम भारतमा आर्य प्रजातिका मानिसहरूले गरेका थिए ।
इ.पू. ५००० तिर एउटा बृहत जमात र समभाषीका रूपमा रहेका इन्डो युरोपीयन, इन्डो जर्मन, एङ्लो सेक्सन, ट्युटोन, रोमन, इरानीयन, स्पेनिस र पोर्चुगिजहरू कालान्तरमा विस्तारित हुँदै संसारका विभिन्न ठाउँमा फैलिएका थिए । त्यसरी फैलिने क्रममा आर्यहरूको एक शाखा इ.पू.२५०० तिर भारत प्रवेश गरेको थियो (घुरिए, सन् १९६१ : १६०) । त्यहाँ आएपछि उनीहरू गंगा नदीको मैदानी भागमा फैलिनुका साथै वैदिक सभ्यताको विकास पनि गरेका थिए । त्यहाँ विस्तारै आर्यहरूले धर्म र वर्ण व्यवस्था लागू गरेका थिए । वर्ण व्यवस्था मानिसलाई कार्यक्षमताका आधारमा वर्गीकरण गर्ने व्यवस्था थियो । जसअन्तर्गत ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रहरू रहेका थिए । शूद्रहरूलाई समाजमा सबैभन्दा तल्लो स्तरमा राखिएको थियो (बराल, वि.संं. २०५० : ८) ।
भारतमा आर्यहरू उत्तर–पश्चिम क्षेत्रबाट प्रवेश गरेका थिए । भारतमा आएर आर्यहरूले शासन व्यवस्थाको सुरुवात गरेपछि उनीहरूको गैरआर्यहरूसँग युद्धहुँदा पराजित गैरआर्यहरूलाई दास बनाउने र शूद्र वर्णमा राख्ने गर्न थालेका थिए । (घुरिए, सन् १९६१ : १६१) त्यस्तो अवस्थामा पराजयद्वारा दास बनेका गैरआर्यहरूले विद्रोह गरेपछि उनीहरूलाई दासभन्दा पनि तल्लोस्तरमा झारेर समाजमा अछूतको भेदभाव गरिएको थियो । त्यतिबेला जुन शूद्रले आफ्नो प्राण, धन र स्त्री समेत ब्राह्मण वर्गको सेवामा अर्पण गर्दछ, उसले छोएको खानेकुरा खान हुन्छ र अन्यको हुँदैन भन्ने सम्मको विद्वेषको भावनाबाट अभिप्रेरित भई छुवाछूत प्रथाको विकास गरिएको थियो । (आहुति, वि.सं.२०६७ : ११) । महाभारत कालसम्म आइपुग्दा त शूद्रले ब्राह्मणलाई छोएमा ब्र्राह्मणले स्नान, प्राणायाम, आचमन तथा तप गरे मात्र शुद्ध हुन्छ भन्ने कुरा उल्लेख गरिएको पाइन्छ । (प्रश्रित, वि.सं. २०६३ : ८४–८५) ।
यस आधारमा छुवाछूत प्रथा प्राचीन कालदेखि नै विकसित भएको देखिन्छ । इ.पू. २०० तिर वा मनुस्मृति कालसम्म आइपुग्दा प्रतिलोम विवाह गरेर सन्तान जन्माउने, कुकुरको मासु खाने, (शास्त्री, वि.सं. २०६१ : ९), ब्राह्मणको हत्या गर्ने, ब्राह्मणको सुन चोर्ने, रक्सी खाने जस्ता मानिसहरूलाई पनि जातिच्युत गरी अछूत बनाउने काम गरिएको थियो । (प्रश्रित, वि.सं. २०६३ : ८६) । त्यसरी अछूत बनाइएका मानिसहरूसँग कसैले पनि बसेर सँगै खाना नखाने, तिनलाई नछुने, तिनको पुरोहित नबन्ने र तिनीहरूसँग वैवाहिक सम्बन्ध पनि गाँस्न नपाउने नियम बनाउँदै लगियो । त्यतिबेला आपूmसँग धर्म नमिल्ने, अनीश्वरवादी मानिसलाई पनि अछूत बनाइयो ।
हिन्दू आर्यहरूले पछि समुद्र पारीबाट आएका मानिसहरूलाई, माछा मार्ने, मृग मार्ने, व्याधा, कसाई, चराचुरुङ्गी छोपेर बेच्ने, धोबी जस्ता नेपालमा छुवाछूत प्रथाको ऐतिहासिक विकास व्यवसाय अपनाउने मानिसहरूलाई पनि अछूत तथा अस्पृश्यको श्रेणीमा झार्ने र उनीहरूसँग नछोइने नियम बनाएका थिए । (प्रश्रित, २०६२ : ८६) । प्राचीन भारतीय समाजमा विकसित भएको जातीय विभेद चरम बिन्दुमा पुगेपछि त्यो विभेद छुवाछूत प्रथामा विकसित भएको थियो । नेपालको सन्दर्भमा हेर्दा जात, जन्म र पेशाका आधारमा मानवीय विभेदको इतिहास इसाको प्रारम्भदेखि नै कायम रहँदै आएको पाइन्छ ।
खासगरी भारतबाट आर्य मूलका हिन्दू धर्मावलम्बी लिच्छविहरू नेपाल भित्रिएपछि उनीहरूले नै जातीय विभेद र छुवाछूत प्रथा नेपालमा भित्र्याएका थिए, तथापि लिच्छविकालीन नेपाली समाजमा छुवाछूतजन्य भेदभाव मन्द अवस्थामा रहेको थियो । (मैनाली, वि.संं. २०६३ : ११२) लिच्छविकालको शासन व्यवस्था हिन्दू धर्मशास्त्र, परम्परा र राजाज्ञामा आधारित थियो । सन् ८७९ देखि पछाडिको समयलाई नेपालको इतिहासमा मध्यकाल भनिँदै आएको छ । (शाह, सन् १९९२ : ३९) मध्यकालका शासकहरूमध्ये जयस्थिति मल्ल (सन् १३८२–९५) ले केही मैथिली र भारतीय ब्राह्मणहरूलाई काठमाडौँं उपत्यकामा झिकाएर मनुस्मृतिका आधारमा नेपाली समाजलाई पुनः वर्गीकरण गर्ने क्रममा जातपात र छुवाछूत प्रथालाई केही सशक्त तुल्याएका थिए ।
जुन प्रथा काठमाडौँं उपत्यकाको नेवारी समाजमा केही अंशका रूपमा भए पनि अद्यावधि कायम छ । (आहुति, वि.सं. २०६३ : ३८) राजा जयस्थिति मल्लले खुसलेदेखि उपल्ला कुलुसम्मका जातको पानी नखानू, पोडे जातले आफूभन्दा ठूला जातलाई नछूनु, भन्ने नियम बनाएका थिए । उनले दण्ड सजायकोव् यवस्थामा पनि जातीयताको आधारमा फरकफरक नियम बनाएका थिए । यस्ता जातिका लागि खानपिन, बास र पोसाकमा समेत बन्देज लगाउने खालका केही फरक नियम बनाएका थिए । यसले गर्दा नेपाली समाजमा छुवाछूत प्रथाले बिस्तारै जरा गाड्दै गएको थियो । (बुढाथोकी, वि.सं. २०३९ : २) ।
त्यतिबेला शासकले बनाएको नियम जनताले पूर्णरूपले पालना गर्ने हुँदा नेपाली समाजमा यसको प्रभाव गहिरो रूपमा पर्न गएको देखिन्छ । मध्यकालको उत्तरार्धसम्ममा यो जात र छुवाछूत प्रथाको प्रभाव नेपालका अन्य ठाउँहरूमा पनि फैलिइसकेको थियो । गोरखाका राजा रामशाहले जयस्थिति मल्लद्वारा स्थापित जातीय विभेद र छुवाछूत प्रथालाई प्रोत्साहित गर्ने काम गरेका थिए । उनले गोरखा राज्यमा जात अनुसारको दण्ड प्रणाली लागू गरी “मैले बाँध्याको स्थितिमा चार वर्ण छत्तिसै जातले चल्नु । नचल्न्यालाई मेरा सन्तानको राजाले ढुङ्गा छुवाई जात अनुसार सजाय गर्नु’ भन्ने उर्दी जारी गरेका थिए । (किसान, वि.सं. २०५८ : ६१) यसका आधारमा शाहवंशीय राजाहरूले पनि छुवाछूत प्रथालाई अझ सशक्त तुल्याउँदै र निरन्तरता दिँदै आएको देखिन्छ ।
पृथ्वीनारायण शाहको शासनकालमा पनि जात उकास्ने र खसाल्ने, जातीय आधारमा विभेद गर्ने तथा छुवाछूत प्रथालाई निरन्तरता दिनेजस्ता कार्यहरू हुँदै आएको पाइन्छ । त्यतिबेला पृथ्वीनारायण शााहले मकवानपुरका सेनवंशी राजपरिवारका केटाकेटी सार्कीलाई सुम्पेर जातिच्युत गरेका थिए । (शर्मा, वि.सं. २०५८ : २०७) पृथ्वीनारायण शाहको शासनकाल भन्दा पछाडि र राणा शासनकालको उदय हुनुभन्दा अगाडिको समयमा नेपालमा राजनीतिक अस्थिरता कायम रह्यो । त्यतिबेला वि.सं. १८९९ मा पहाडी दलित अन्तर्गत सार्की जातिको भात, पानी आदि सम्बन्धी परम्परागत नियमहरू पालना गराउन धोबीखोलादेखि पूर्व र मेची नदीदेखि पश्चिममा जसे सार्कीसहित १५ जना सार्कीहरूलाई नै नियुक्त गरिएको थियो ।
त्यसै गरी वि.सं. १९०७ आश्विन १० गते दमाई जातिमा भात, पानी आदि सम्बन्धी परम्परागत नियमको पालना गराउन भोजे दमाईलाई अधिकार दिइएको थियो । (रेग्मी, सन् १९८६ : ८५) । त्यो समयमा छुवाछूत प्रथालाई बलियो बनाउन स्वयम विभेदमा पारिएका वर्गलाई समेत परिचालन गर्ने गरिएको देखिन्छ । राणाकालमा नेपालमा छुवाछूत प्रथाले कानुनी मान्यता पायो । राणा प्रधानमन्त्री जंगबहादुरले निर्माण गराएको वि.सं. १९१० को मुलुकी ऐनमा क्रिस्चियन, मुसलमान, कामी, सार्की, दमाई गैह्र पानी नचल्ने जात र छोइछिटो समेत हाल्नुपर्ने जातले छोएको, पकाएको अनाज खान नहुने तर नपकाएको खान हुने भन्ने कुरा उल्लेख गरी मानिसले मानिसलाई छुन नहुने मात्र होइन अछूत मानिएका जातले छोएको समेत खान नहुने नियम बनाएका थिए ।
(कानुन किताव व्यवस्था समिति, वि.सं. २०२२ : ३६९) । यसरी परम्परागत रूपमा चल्दै आएको छुवाछूत प्रथा राणाकालको प्रारम्भसँगै लिखित दस्तावेजका रूपमा समेत दरिन पुगेको थियो । वि.सं.२००७ सालमा नेपालमा राणाशासन विरुद्धको आन्दोलन सफल भयो । त्यसपछि देशमा प्रजातन्त्रको स्थापना गरियो । प्रजातन्त्रको स्थापनापछि देशमा धेरै कुराहरू परिवर्तन भए तर छुवाछूत सम्बन्धी व्यवस्थामा खासै चासो देखाइएन । कानुनी रूपले वि.सं.२०२० सालभन्दा अगाडि बनेका कानुनहरूमा छुवाछूतको अन्त्य गर्ने खालका कुराहरू उल्लेख गरिएनन् । वि.संं. २०२० सालमा बनेको मुलुकी ऐनमा नेपालमा जातीय आधारमा कसैलाई पनि भेदभाव गर्न पाइने छैन भन्ने कुरा कानुनमा उल्लेख गरियो तर त्यही कानुनमा विभेद गरेमा कस्तो दण्ड दिने भन्ने कुरा उल्लेख नगरिँदा त्यो कानुन कार्यान्वयन हुन सकेन ।
त्यही कानुनको अर्को महलमा सनातनदेखि चलिआएको परम्परालाई भेदभाव नमानिने भन्ने कुरा उल्लेख गरिएको हुँदा जातीय विभेदका लागि निर्माण गरिएको पहिलो कानुन समेत निष्क्रिय अवस्थामा देखिन पुग्यो । (आहुति, वि.सं. २०६३ : २१) । यसरी पहिलो पटक सामाजिक विभेदको रूपमा नेपाली समाजमा व्याप्त रहेको छुवाछूत प्रथालाई अवैध मानिए पनि त्यससँग बाझिने कानुन निर्माण गरिएका कारण समाजमा यो प्रथा पूर्ण रूपमा निषेधित भने बन्न सकेन । पञ्चायती कालमा छुवाछूत उन्मूलनका लागि त्यस्तो उल्लेखनीय कार्य कुनै पनि भएको पाइँदैन । वि.संं. २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भई २०४७ सालमा नयाँ संविधान बन्यो ।
त्यो संविधानमा कुनै पनि नेपालीलाई जातपातको आधारमा कुनै भेदभाव नगरिने भन्ने कुरा उल्लेख गरियो तर कार्यान्वयन पक्ष फितलो हुँदा समाजमा छुवाछूत प्रथा कायम रहँदै आएको छ । फेरि वि.सं. २०६२-६३ सालमा पनि अर्को जनआन्दोलन भयो । नेपालको अन्तरिम शासन विधान २०६३ बन्यो जुन विधानमा छुवाछूत प्रथालाई पूर्णरूपले कानुनी बन्देज लगाउने कुरा उल्लेख गरे पनि व्यवहारमा भने त्यसो हुन सकेन । (कार्की, वि.सं. २०६८ : ११३) । यो छुवाछूत प्रथा नेपाली समाजमा जस्ताको तस्तै रह्योतथापि समयको अन्तरालमा यो प्रथामा केही सुधार भने आउँदै गएको छ ।
छुवाछूत भित्रको छुवाछूत नेपालमा दलित तथा गैरदलितका बीचको छुवाछूत प्रथाका अतिरिक्त अहिलेसम्म पनि दलित र दलितकै बीचमा पनि छुवाछूत प्रथा कायम रहँदै आएको छ । (पाण्डेय, वि.सं. २०६४ : ६४) । दलित र गैरदलितका बीचमा खास गरी शूद्र वर्णका मानिसलाई हिन्दू वर्ण व्यवस्था अनुरूपका ब्राह्मण, क्षत्रिय र वैश्यले छुवाछूतको व्यवहार गर्दछन् भने केही वर्ण व्यवस्था नमान्ने जनजाति अन्तर्गत पर्ने मानिसहरूले पनि दलितमाथि छुवाछूतको व्यवहार गर्ने गरेको पाइन्छ । यसका अतिरिक्त दलित र दलितकै बीचमा पनि छुवाछूत प्रथा अझै बढी गहन रूपमा रहँदै आएको छ । (कार्की, वि.सं. २०६८ : ६६) ।
दलितहरूमा पनि उचनीचको यस्तो अवस्था कायमै छ । दलितहरूमा सबैभन्दा माथि पहाडी दलितका कामी, त्यसमध्येमा पनि सुनारहरू मानिन्छन् । सुनारलाई गैरदलितले छुवाछूतको व्यवहार गर्दछन् भने सुनारले अन्य सबै दलितलाई आपूmभन्दा सानो ठानेर छुवाछूतको व्यवहार गर्दछन् । पहाडी दलितमा कामी, सार्की, दमाई, गाइने र बादीका बीचमा दलित र गैरदलित समानको छुवाछूत प्रथा कायम रहँदै आएको छ । (भट्टचन र अन्य, वि.सं. २०६५ : २४) । नेपालबाट छुवाछूत प्रथाको अन्त्यका लागि सर्वप्रथम दलित वर्गकै बीचमा रहेको आन्तरिक छुवाछूत प्रथाको तत्काल अन्त्य हुनु पर्ने जरुरी देखिन्छ ।
निष्कर्ष :
प्राचीन भारतमा विकसित भई नेपालमा भित्रिएको छुवाछूत प्रथा नेपाली समाजमा अहिले लिसो समान भएको छ । यसलाई सामाजिक कुरीतिका रूपमा हेरिने गरिए तापनि नेपालका गैरदलितले यो प्रथालाई आपूmलाई परेको समस्या नठान्ने गरेका कारण पुस्तौंपुस्तादेखि यसले जरा गाड्दै आएको छ । नेपालमा राणाकालदेखि नै यो छुवाछूत प्रथाका विरुद्ध विभिन्न आन्दोलनहरू भए तापनि त्यसले सफलता पाउन सकेको छैन । यस आन्दोलनमा दलितहरूकै बीचमा पनि एकता कायम हुन सकिरहेको छैन किनकि यो अमानवीय प्रथा दलित तथा छुवाछूतको भेदमा पारिएका जातिहरूकै बीचमा पनि कायम रहँदै आएको छ ।
वर्तमान २१औँ शताब्दीमा पनि मानिसले मानिसलाई छुन नहुने भन्ने यो अमानवीय व्यवस्था नेपाली समाजमा क्यान्सरको रूपमा रहँदै आएको छ । यसका कारण नेपाली सभ्यता र संंस्कृतिमा समेत आँच पुगेको छ । मानिस–मानिसकै बीचमा मानवताको भावनामा समेत यसले उचनीचको व्यवहार सृजना गराएको छ । छुवाछूतमा परेका मानिसको आत्मग्लानिका कारण राज्यका विविध क्षेत्रमा मानव स्रोत र साधनको सही सदुपयोग हुन सकेको छैन । ज्ञान र सीप हुँदाहुँदै पनि केही मानिसहरूले रोजगारीबाट हात धुन बाध्य हुनु परेको छ ।
अछूत भनिएका मानिसहरू पानी र पानीजन्य पदार्थ, दूध, होटल व्यवसाय, खानपीनसँग सम्बन्धित वस्तुहरूको व्यापार र घरायसी रोजगारीका विविध काम गर्नबाट अहिले पनि बञ्चित हुँदै आइरहेका छन् । यसले सामाजिक विभेदको पीडा सहन मात्र उनीहरू बाध्य छैनन् कि आर्थिक अवस्था समेत कमजोर रहँदै आएका कारण समाजमा तल्लो वर्गका रूपमा रहेर अपहेलित जीवन जिउन उनीहरू बाध्य पारिएका छन् । यस्तो हुनु मानवीय दृष्टिले हेर्दा एकदमै निकृष्ट कार्य हुन आउँदछ । यस सामाजिक कलङ्कका रूपमा रहेको छुवाछूत प्रथाको अन्त्य यथाशीघ्र भएमा सम्पूर्ण नेपाली समाज र हिन्दू धर्मकै लागि समेत महत्वपूर्ण सुधार भएको मानिनेछ ।
सन्दर्भ सामग्रीः कृति सूची आहुति । (वि.सं. २०६३). “हिन्दू सामन्तवाद र राज्यको पुनः संरचनामा दलित प्रश्न.” राज्यको पुनः संरचनामा दलित सहभागिता, विद्यानथ कोइराला र अन्य (सम्पा.), विद्यानाथ कोइराला, राजन खड्का र राजकुमार बराल, काठमाडौँ । आहुति (वि.सं. २०६७). नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष. राजेन्द्र महर्जन (सम्पा.), समता फाउन्डेसन, ललितपुर । कानुन किताव व्यवस्था समिति (वि.सं. २०२२). श्री ५ सुरेन्द्र विक्रम शाहदेवका शासनकालमा बनेको मुलुकी ऐन. सिंहदरबार, कानुन किताब व्यवस्था समिति, काठमाडौँ । कार्की, ज्ञानबहादुर (वि.संं २०६८) । नेपालमा जातपात तथा छुवाछूतको इतिहास । एसिया पब्लिकेसन्स प्रा.लि., काठमाडौँ । किसान, यामबहादुर (वि.सं. २०५८), नेपालमा दलित जातीय मुक्ति आन्दोलन, जनउत्थान प्रतिष्ठान, काठमाडौँ । घुरिए, जी.एस. (सन् १९६१) कास्ट, क्लास, एन्ड अकुपेशन. पपुलर बुक डिपोट, बम्बै । दत्त, नृपेन्द्रकुमार (सन् १९६८), ओरिजिन एन्ड ग्रोथ अफ काष्ट इन इन्डिया, फर्माके.एल.मुखोपाध्याय, कलकत्ता । पाण्डेय, मधुसूदन (वि.संं. २०६४), नेपालका दलितहरु, पैरवी प्रकाशन, काठमाडौँं । प्रश्रित, मोदनाथ (वि.सं. २०६३). “मानवताको कलङ्क : जातपात र छुवाछूत प्रथा.” राज्यको पुन : संरचनामा दलित सहभागिता. विद्यानाथ कोइराला र अन्य (सम्पा.), विद्यानाथ कोइराला, राजन खड्का र राजकुमार बराल, काठमाडौँ । बराल, वासु (वि.सं. २०५०). हिन्दू सामाजिक संगठनको प्रारूप. साझा प्रकाशन, काठमाडौँ । बुढाथोकी, चन्द्रविक्रम (वि.सं. २०३९). जयस्थिति मल्लका सुधार. साझा प्रकाशन, ललितपुर । भट्टचन, कृष्ण, तेज सुनार र यसोकान्ति भट्टचन (सन् २००८), नेपालमा जातीय भेदभाव, दलित गैरसरकारी संस्था महासंघ (डी.एन.एफ.), नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एन.एन.डी.एस.डब्लु.ओ.), भारतीय दलित अध्ययन संस्थान (आई.आई.डी.एस.), इन्टरनेशनल दलित सोलिड्यारिटी नेटवर्क (आई.डी.एस.एन.), काठमाडौँ । मैनाली, लक्ष्मीप्रसाद (वि.सं. २०६३) । “छुवाछूत उन्मूलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधान.” राज्यको पुनः संरचनामा दलित सहभागिता, विद्यानाथ कोइराला र अन्य (सम्पा.), विद्यानाथ कोइराला, राजन खड्का र राजकुमार बराल, काठमाडौँं । राष्ट्रिय दलित आयोग (वि.सं. २०५९). राष्ट्रिय दलित आयोग प्रस्तावित विधेयक २०५९. श्री ५ को सरकार राष्ट्रिय दलित आयोग, काडमाडौंं । रेग्मी, महेशचन्द्र (सन् १९८६). “कामी, सार्की, दमाई, गाइने.” रेग्मी रिसर्च सेरिज. वर्ष १८, नं. ६, रेग्मी रिसर्च प्रा.लि., काठमाडौँ । शर्मा, बालचन्द्र (वि.संं. २०३५). नेपालको ऐतिहासिक रूपरेखा, कृष्ण कुमारी देवी, वाराणसी । नेपालमा छुवाछूत प्रथाको ऐतिहासिक विकास शाह, ऋषिकेश (सन् १९९२), एनसियन्ट एन्ड मिडिएभल नेपाल, अजयकुमार जैन मनोहर पब्लिकेशन, दिल्ली । शास्त्री, रजनीकान्त (वि.संं. २०६१), हिन्दूजातिको उत्थान र पतन, तिलक लुइँटेल (भाषान्तरण), विद्यार्थी पुस्तक भण्डार, काठमाडौँं । स्टालिन (वि.संं. २०६७), “जातीय आन्दोलन,” जातीय स्वयत्तता र आत्मनिर्णयको अधिकार, दोस्रो संस्करण, भोगिराज चाम्लिङ (सम्पा.), मूल्याङ्कन प्रकाशन प्रा. लि., काठमाडौँ । सेनार्ट, इमाइल (सन् १९७५,) काष्ट इन इन्डिया (द फ्याक्ट एन्ड द सिस्टम), भाषानुवाद सर इ डेनिसन, रोज एस.एस. पब्लिकेशन, दिल्ली । हट्टन, जे.एस. (सन् १९५१). कास्ट इन इन्डिया. दोश्रो संस्करण, अक्सफोर्ड युनिभर्सिटी प्रेस, लण्डन ।